शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

निर्धारित समयमा कसैले पनि नाम प्रस्ताव दर्ता नगराएपछि एक घण्टा समय थप

बुधबार, १७ फागुन २०७९, १२ : १४
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । प्रदेश १ को नाम प्रदेशसभा सचिवालयमा दर्ताका लागि बिहान १० बजेदेखि १२ बजेसम्मका लागि दिएको समयमा कसैले पनि प्रस्ताव नगरेपछि एक घण्टा समय थप गरिएको छ । 

प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले दिएको जानकारी अनुसार हालसम्म कसैले पनि नाम प्रस्ताव गरेका छैनन् । ‘एक घण्टा समय थप भएको छ, उक्त समयमा नाम प्रस्ताव हुन्छ,’ पराजुलीले भने ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना प्रकाशित गर्दै बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्ममा नामकरणसम्बन्धी आफ्नो प्रस्ताव पेस गर्न आह्वान गरेका थिए । 

सभामुखको आदेशअनुसार सचिव पराजुलीले प्रकाशित गरेको सूचनामा प्रदेशसभा नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रस्ताव पेस गर्न भनिएको छ । प्रदेशसभा सचिवालयले प्रदेश नामकरण प्रस्ताव पेस भइ निर्णय हुने गरी आजको प्रदेशसभा बैठकको कार्यसूची उल्लेख गरेको छ ।

यसैबीच नेकपा एमालेका रामबहादुर मगर प्रस्तावक र काङ्ग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रदेशको नाम ‘कोशी’ राख्ने प्रस्ताव दर्ता हुने तयारी भएको बताइएको छ । माओवादी केन्द्रसहितका नेकपा एस र जसपाले भने उक्त नाममा फरक मत दर्ता गराउने तयारी गरेका छन् ।

आजको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश भई निर्णय गर्ने कार्यसूची तय भएको छ । यद्यपि ११ बजेका लागि तय गरिएको बैठक दलहरुबीचको छलफल र सहमतिको प्रयासले केही समय पछि धकेलिएको छ ।

334276362_1227308574846133_538091251061659210_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप