बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

खप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

बिहीबार, १८ फागुन २०७९, १६ : ५९
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा बुधबार एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुवै संस्थाहरूमध्ये खप्तड लघुवित्तको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश हो भने धौलागिरि लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो । 

दुई संस्थाबीच गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मङ्सिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका थिए । उक्त अन्तिम सम्झौतापत्रमा लागि खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरि लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

उक्त हस्ताक्षर समारोहमा धौलागिरि लघुवित्तका तर्फबाट सञ्चालक एवं संयुक्त मर्जर समितिका संयोजक हरि प्रसाद शर्मा, सिर्जना थापा, डा.सुदर्शन सिलवाल, प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहोरा र खप्तड लघुवित्तको तर्फबाट सञ्चालकहरू रणदेव कृष्ण श्रेष्ठ, चन्द्रबहादुर चन्द, डबल बहादुर शाह तथा प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बमको उपस्थिति थियो ।

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरिले बाग्लुङ नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङमा रजिस्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ ।  

त्यसैगरी, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि भदौ १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याएको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप