शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
विकास निर्माण

मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र, कहाँ-कहाँ छ समस्या ?

आइतबार, २१ फागुन २०७९, ०७ : १०
आइतबार, २१ फागुन २०७९

पोखरा । राष्ट्रिय गौरवको आयोजना मध्यको पुष्पलाल मध्यपहाडी लोकमार्गको पहाडी खण्डको काम अलपत्र परेको छ । पहाडबाट बसाइसराइ रोक्ने र पहाडी बजारहरूलाई सहर बनाउने उद्देश्यले सुरु गरिएको सडक खण्ड करिब दुई दशकसम्म पनि सम्पन्न हुन सकेको छैन । 

पहाडबाट सहरी क्षेत्रमा बसाइँ सर्ने दर बढ्न थाले पनि लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइए पनि ठाउँ ठाउँमा निमार्ण कार्य अलपत्र बन्दा आयोजनाले मूर्त रूप लिन नसकेको हो । कास्कीको बाटुले चौर, अर्मला मैजा हुँदै मादी करिडोरसम्म जोड्ने एलाइनमेन्टको खोजी पनि बल्ल सकिएको छ ।

यसअघि पोखराको बजारी एरियाबाट लैजाने भने पनि योजना सफल हुन नसकेको हो । उक्त खण्डमा ५ सय घर भत्काउन पर्ने देखिएपछि आयोजना अगाडि बढ्न सकेन । अहिले भने नयाँ एलाइनमेन्टमा एक वटा घर मात्र भत्काएर निर्माण अगाडि बढाउन सकिने गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पोखरेलले बताए । उनका अनुसार मुलुकको पूर्व पश्चिमसम्म जोडने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो लोकमार्ग तेस्रो राजमार्ग हो । ‘लोकमार्गले पहाडका २४ जिल्लाका २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुर्‍याउने लक्ष्य लिएको छ,’ पोखरेलले भने । लोकमार्गको सम्पूर्ण काम आर्थिक वर्ष २०८० सम्म पूरा गर्ने सरकारी लक्ष्य भए पनि कोरोना महामारी र ठेकेदारहरूको ढिलासुस्तीले ठेक्का अवधि लम्बिदै आइरहेको छ । ठेक्का अवधि लम्बिँदै जाँदा योजना कहिलेसम्म बन्ने हो यकिन छैन । 

गण्डकी प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरूपलाई समेटेको यो लोकमार्ग मनाङ, तनहुँ, स्याङजा, पुर्वी नवलपरासी, म्याग्दी र मुस्ताङ जिल्ला बाहेक अन्य जिल्लामा छोएको छ । पश्चिमतर्फ लोक मार्गमा लमजुङ जिल्लाको भूगोल पर्छ । राइनासटार, लामासोती हुँदै भोर्लेटार बजार पुगेपछि लमजुङको भूगोल सकिन्छ । भोर्लेटारबाट मादी नदी तरेपछि कास्की जिल्ला सुरु हुन्छ । 

कास्की सुरु भएपछि मुग्रीबेसी, थुम्सीकोट, भगवतीटार, भैँसे हुँदै मादी कोरिडोरमा आएर जोडिन्छ । यसपछि भद्रकाली, माटेपानी, फूलबारी, भलाम बाटुलेचौर भएर सेती नदी पार गर्दै हेम्जामा आएर पर्वत—बागलुङको सडकमा जोडिन पुग्छ । 

लोकमार्गले सहरलाई भन्दा पनि गाउँलाई बढी जोडेको छ । ठेकेदारले लोकमार्गको काम नै अगाडि नबढाएपछि निर्माणमा खटिएका कामदारले काम छोडेर जाने क्रम जारी छ । ‘द्रुत गतिमा अघि बढ्ने आशाले मजदुरी गर्न आइयो, ठेकेदारले काम नै अगाडि बढाउँदैनन् । काम नभएपछि पैसा पनि हुँदैन । यस कारण हामीहरू अरू नै ठाउँमा काम गर्न जानुपर्ने अवस्था आएको छ,’ निर्माणमा खटिएका एक कर्मचारीले भने । निर्माणमा खटिएका इन्जिनियर पनि ठेकेदारको लापरबाहीले आयोजनाको काम अलपत्र परेको सुनाउँछन् । ठेकेदारले मजदुर रिझाउन नसक्दा बागलुङ खण्डको काममा प्रगति अगाडि बढ्न नसकेको हो ।

पोखराको हेम्जादेखि बागलुङको बुर्तिवाङसम्मको सडक लोकमार्ग बन्नु भन्दा पहिले देखिनै सञ्चालनमा थियो । लोकमार्गले प्रदेशभित्र उत्तर दक्षिण निर्माण भएका र निर्माणधीन सडकलाई समेत जोडेको छ । बुढीगण्डकी कोरिडोरको निर्माणाधीन सडकले आरुघाटमा जोडेको छ भने गोरखाको लाप्राक, बारपाकको ग्रामीण सडकले पनि लोकमार्गलाई जोडेको छ ।

लोक मार्गमा बागलुङ जिल्लाका मालढुङ्गाक—काठेखोला सडक पनि जोडिएका छन् । त्यसै गरी ज्याङना, ढोरपाटनको सडक समेत जोडिएको छ । सडक आफैले केही पनि उत्पादन गर्दैन तर सडकले स्थानीय उत्पादनलाई बाहिर पठाउन र बाहिरका उत्पादन भित्र्याउने योजना भए पनि सडक अलपत्र हुँदा ग्रामीण सडक खण्ड उस्तै छ । 

बागलुङको काठेखोला गाउँपालिका स्थित खहरेदेखि घोडाबाँधेसम्मको १० किलोमटिर अझै बनेको छैन । गाउँपालिका अध्यक्ष राजु थापाका अनुसार उक्त सडक खण्ड नबनेको वर्षौँ भयो । ठेकेदार कम्पनीले बारम्बार ठेक्का अवधि बढाए पनि उक्त लोकमार्ग नबन्दा स्थानीयहरूले दुख पाएका छन् । नेपाल सरकारको आन्तरिक स्रोत साधनबाटै सम्पूर्ण खर्च व्यहोरिने गरी बनिरहेको लोक मार्गमा हाल सञ्चालनमा रहेका कतिपय साना राजमार्ग र सडक खण्डहरू जोडिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप