शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ऐतिहासिक मन्दिरको जिर्णोद्धारले स्वरुप बिगारेको गुनासो

आइतबार, २१ फागुन २०७९, १९ : १७
आइतबार, २१ फागुन २०७९

पाल्पा । पाल्पाको तानसेनमा रहेको ऐतिहासिक महत्त्वको अमरनारायण मन्दिरकाे जिर्णाेद्धारले गर्दा स्वरुप बिगारिएको भन्दै गुनासो बढेको छ । २१६ वर्ष पुरानो सम्पदाको जिर्णोद्धार गर्दा मन्दिरको पुरानो काष्ठकलालाई बेवास्ता गरिएको सर्वसाधारण बताउँछन् ।

मन्दिरका पुजारी फणिन्द्र लम्सालका अनुसार जिर्णोद्धारपछि पुरानो स्वरुप बिग्रिएको छ । लम्सालले भने, ‘मन्दिर बनाउँदा धेरै लापरबाही भएको छ, पुरानो स्वरुप बिगारिएको छ ।’

वि.सं. १८६३ मा काजी अमरसिंह थापाले निर्माण गरेको बहुमूल्य काष्ठकलासहितको अमरनारायण मन्दिर २०७८ साल फागुन २६ गते आंशिक रुपमा भत्किएको थियो । चौतर्फी दबाबपछि तानसेन नगरपालिकाले एक करोड पाँच लाख २९ हजार रुपैयाँ बजेटमा पुनर्निर्माण थालेको थियो ।

पुनर्निर्माणको जिम्मा पाएको काठमाडौँको रत्न निर्माण सेवाले नगरपालिकासँगको सहमति अनुरुप निर्माण कार्य नगरेको गुनासो बढिरहेको छ । सर्वसाधारणका भनाइमा पुनर्निर्माण भएको मन्दिरको सबैभन्दा आकर्षणको रुपमा रहेको टँुडाल दुरुस्त छैनन् । प्यागोडा शैलीमा निर्माण भएको मन्दिरको पित्तलको छाना छोटो बनाइएको छ । टुँडालमा रहेका देवी देवताको आकृतिमा पनि गम्भीर लापरबाही भएको बताइन्छ ।

मन्दिरमा कुँदिएका मूर्तिमा मात्रै होइन, संरचना निर्माणमा समेत कमसल सामग्री प्रयोग भएको गुनासो सर्वसाधारणको छ ।

मन्दिरमा रहेका बुहुमुल्य झ्यालहरु अस्तव्यस्त पारिएको छ । पुरातात्विक भावना नीति नियम पुनःनिर्माण जिर्णाेद्धार स्थलमा सुर्कीको प्रयोग गर्नुपर्नेमा सिमेन्टको प्रयोग भएको छ ।

पुरातत्विक सम्पदा पुनःनिर्माणमा अपनाइनुपर्ने समवेदनशीलता नअपनाइएको संस्कृतिकर्मी राजेन्द्रगोपाल सिंह बताउँछन् । उनका भनाइमा बहुमूल्य काष्ठकला हटाइ कमसल सामग्रीको प्रयोगमा मन्दिर निर्माण गरिएको छ ।

मन्दिरका पुजारी लम्सालले भने, ‘मन्दिरभित्रै बलेसी पर्ने गरी तल्लो छानो निर्माण भएको छ । टुँडालहरु काटिएका छन् । बहुमूल्य काष्ठकलाहरुको सदुपयोग भएको छैन । सरोकारवाला निकायबाट अनुगमन नहुँदा निर्माण व्यवसायीले मनोमानी गरेका छन् ।’

मन्दिरको स्वरुप नै बिगारेर बनाउँदा समेत नगरपालिका, वडा कार्यालय, चासो नदिएको तानसेन भजन संरक्षण समितिका उपाध्यक्ष चित्रवलीराम सुवाल गुनासो गर्दछन् ।

तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले व्यस्तताका कारण नियमित रुपमा मन्दिरको निर्माण कार्य हेर्न नपाएको बताए । यद्यपि, गलत तरिकाबाट काम भएको भए पुनः सुधार गरेर पुरानै अवस्थामा फर्काउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप