सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कलेजः राजनीति सिक्ने प्रयोगस्थल !

सोमबार, २२ फागुन २०७९, १२ : १५
सोमबार, २२ फागुन २०७९

राजनीति विद्यार्थी र शिक्षा एक अर्कासंग जोडिएका सवाल हुन् । असल राजनीतिले शिक्षामा सुधार ल्याउँछ भने अराजकताको राजनीतिले शिक्षालाई अगाडि बढाउनुको सट्टा कयौँ माइल पछाडि धकेलेको पाइन्छ । जब एउटा विद्यार्र्थी आफनो सुन्दर भविष्यको कल्पनालाई लिएर कलेजभित्र आउँछ,  त्यतिबेला उसले आफनो महत्वपूर्ण समय पढाईलाई मात्र दिने निधो गरेको हुन्छ । उसले आफनो पढाई र परीक्षाबाहेक अन्य विकल्प सोचेको हुँदैन । जब उ पसेको कलेजमा राजनीतिका हुलहरु देखिन थाल्दछन्, जताततै एउटा न एउटा संठनमा आबद्ध साथीहरु देखिन्छनर जब राजनीतिसम्बन्धि ज्ञान नभएका साथीहरु पनि संगठनमा होमिन्छन् अनि म नेता हुँ भनी हिँडछन्  । तब उसलाई लाग्छ, राजनीतिक ज्ञान बिना पनि राजनीति हुँदो रहेछ । 

हो, शिक्षालाई सबल बनाउन कलेजका शैक्षिक नीतिहरु निर्माण गर्न राजनीति आवश्यक हुन्छ । कुनै पनि समस्यामा परेका विद्यार्थीहरुको विभिन्न समस्या समाधानका लागि राजनीतिको आवश्यकता पर्दछ । तर आजकल कलेजहरुमा राजनीतिले पढाइलाई सर्वोपरि ठान्ने विद्यार्थीका लागि समस्या समाधान गर्नुको सट्टा झनै समस्या खडा गरेको पाइन्छ । 

घरबाट पढ्ने भनेर एक किसिमको मानसिकता बोकेर गएको विद्यार्थी कलेज गएर अझै अर्को दिशातर्फ मोडिनु पर्दा कलेज राजनीतितर्फ खिन्न लागेर आउँछ । कोरोना भाइरसको कारण लगभग १ वर्ष पछाडि परेको शैक्षिक क्षेत्रलाई बल्लतल्ल अगाडि बढाउन पाउँदा हर्षले उत्साहित भएका विद्यार्थीलाई राजनीतिको गलत प्रभाव पर्दा राजनीति फोहर खेल हो कि भन्ने शङ्का लाग्न थाल्दछ । 

मलाई लाग्दछ, वास्तवममा राजनीति फोहर खेल होइन । यसलाई राजनीतिक ज्ञान नभएकाहरुले फोहर खेल बनाएको  हो । विद्यार्थीहरुको पढाइको पाटो अर्काे र राजनीतिको पाटो फरक फरक हुँदा ज्ञानको कमी भएको पाइन्छ । 
एउटा संगठनमा एकाधले मात्र सक्रिय सहभागिता र चेतनामुलक राजनीति गरेको पाइन्छ भने अन्य व्यक्ति राजनीतिक चेतनाको अभाव विनै संगठनमा होमिएका पाइन्छन् । म एउटा ज्ञान आर्जन गर्ने विद्यार्थी हो भन्नु भन्दा पनि म फलानो विद्यार्थी संगठनको विद्यार्थी हँु भन्नमा गौरव गरेको पाइन्छ । 

पढ्ने योजना बनाएर आफ्नो भविष्य पढाइ र परीक्षामा मात्र देख्ने जेहेनदार विद्यार्थीहरु, जसमा राजनीतिक ज्ञान छैन, जो राजनीति गर्न चाहँदैन, नियमित रुपमा कलेज जाने, पठनपाठनलाई सुधार गर्नेको लागि रचनात्मक भूमिका निर्वाह गर्नु भन्दा पनि आफू आबद्ध रहेको पार्टीको आमसभालाई कसरी राम्रो व्यवस्थित बनाउने भन्नेतर्फ ध्यान दिन्छौं । यो सबै राजनीतिक वातावरणको उपज हो भन्दा फरक पर्दैन होला । 

यही कलेज राजनीतिको उपद्रो वातावरणले गर्दा विद्यार्थीहरुको मनमा पढ्न, अध्ययन गर्नुभन्दा पनि राजनीतिले फाइदा हुन्छ भन्ने कुराको अवधारणाको विकास गरेको देखिन्छ । जब कलेजबाट उपलब्ध हुने सरसुविधाहरु प्राप्त गर्नको लागि एउटा विद्यार्थीले राजनीतिक पावर लगाउनुपर्छ भने उसले त्यस्ता सुविधाहरु प्राप्त गर्न पनि संगठनमा होमिनुपर्ने बाध्यताहरु आज हामै्र अगाडि झलमल छन् ।

कलेजबाट प्राप्त हुने छात्रवृत्ति, प्रशासनिक कार्यहरुदेखि लिएर कक्षाकोठामा नियमित रुपमा पठनपाठन गराउने शिक्षक पाउनको लागि कुनै राजनीतिक नेताको आडमा उभिनुपर्दछ । नेताहरुको आदेशमा मात्र काम सम्पन्न हुन्छ । यसरी हेर्दा व्यवस्थापिका संसदको निर्वाचन भन्दा पनि बढी राजनैतिक चलखेलले कलेजहरु भरिएका देखिन्छन् । 

वर्षात्को समयमा क्षणिक समयका लागि लामखुट्टे निर्मुलको अभियान चले जस्तै कहिल्यै सफा नहुने कलेजका खेलकुद मैदानस्थल अहिले सफा देखिन थालेका छन् । कलेजमा कहिल्यै नदेखिने विद्यार्थी पनि कलेजमा देखिन थालेका छन । पुस्तकालय, खानेपानी, छात्र छात्रामैत्री शौचालयदेखि पढाइका विषयहरुमा रहेका समस्याहरु समेत समाधान हुन थालेका छन् । 

अहिलेका कलेज तथा विद्यालयहरुमा शिक्षामा राजनीतिको गलत प्रभाव परेको देखिन्छ ।  गलत चिजको भण्डाफोर गर्न कुनै पनि मानिस अथवा नेतृत्वले गलत चिजको विरुद्धमा ज्ञान आर्जन गरेको हुनुपर्दछ । तब मात्र सकारात्मक तरिकाले गलत कुराको भण्डाफोर गर्न सकिन्छ । 

नराम्रा मानिएका अथवा नियम विपरीत गरिएका कलेजका गतिविधि हटाउनका लागि विद्यार्थीको पढाइमा हानी पुर्याएर गरेको आन्दोलनले कुनै पनि अर्थ राख्दैन । त्यसैले, आन्दोलन सधैँ सकारात्मक र कसैलाई पनि हानी नोक्सानी नपुर्याउने खालको हुनुपर्दछ । 
र, विद्यार्थीले भोगेका समस्याहरुलाई निराकरण गर्नको लागि राजनीतिक ज्ञानको आवश्यकता र राजनीतिक चेतना भएको विद्यार्थी नेताको आवश्यकता छ । । कलेजमा विभिन्न संगठनमा आवद्ध नेताहरु भेटिन्छन् तर एउटा विद्यार्थीलाई समस्या पर्दा उसले कसलाई गएर झक्झक्याउने भन्ने टुङ्गो भने लागेको हुँदैन । 

जो विद्यार्र्थी नेता कहिल्यै आफू कक्षा कोठामा उपस्थित हुँदैन, क्याम्पसमा नियमित र अनुशासित रुपमा उपस्थिती जनाउँदैन, अरुका भर्नाका फारम झोलामा बोकेर हिँडदैमा आफू विद्यार्थीहरुमाझ जनमत बनाइरहेको भ्रममा हुन्छन् । उसले कलेज वा सामान्य विद्यार्थीहरुको लागि दीर्घकालीन सपना वा कल्पना गर्न सक्तैन । 

क्याम्पसहरुमा विद्यार्थी संगठन र नेताको भूमिका क्याम्पसको सुदृढीकरण र मजबुत शैक्षिक एजेण्डा उठान गर्नुको सट्टा सामान्य विषयवस्तुको माग राखेर क्याम्पसमा तालाबन्दी गरी पठनपाठनमा बाधा पुर्याउने भौतिक संरचना तोडफोड गर्ने अनि उल्टै क्याम्पस प्रशासनसंग मिलेमतो गरेर कलेजबाटै पैसा असुल गर्ने नियत विद्यार्थी संगठनहरुमा स्थापित देखिन्छ । विद्यार्थी राजनीतिमा चाहिएको मुख्य परिर्वतन नै यही मानसिकता र शैलीको राजनीतिक सोचबाट माथि उठनु जरुरी देखिन्छ । 
झट्ट हेर्दा राजनीति फोहरी खेलझैं त लाग्छ नै । साथै, आफूलाई चिनाउनको लागि प्रयोग गरिने साधन जस्तो लाग्दछ । वर्षात्को समयमा क्षणिक समयका लागि लामखुट्टे निर्मुलको अभियान चले जस्तै कहिल्यै सफा नहुने कलेजका खेलकुद मैदानस्थल अहिले सफा देखिन थालेका छन् । 

कलेजमा कहिल्यै नदेखिने विद्यार्थी पनि कलेजमा देखिन थालेका छन । पुस्तकालय, खानेपानी, छात्र छात्रामैत्री शौचालयदेखि पढाइका विषयहरुमा रहेका समस्याहरु समेत समाधान हुन थालेका छन् । 
उता फेसबुकको भित्ता पल्टाएर हेर्दा मिसन चैत्र ५ निःशुल्क स्वास्थ्य, शिक्षा, पूर्ण रोजगार, गुणस्तरीय शिक्षा भन्ने नारासहितका कमरेडहरुका पोस्ट देखिन्छन् । 

तर यो कुरा कोट्याउँदैमा कलेजलाई राजनीतिबाट छुट्टै राख्न खोजेको पनि होइन । तर, कलेजलाई आफनो राजनीति सिक्ने प्रयोगस्थल बनाएर कयौँ विद्यार्थीहरुलाई पनि अराजकताको राजनीतिको क्षेत्र जोडेर भविष्यका लागि रोजेको लक्ष्यलाई राजनीतितिर जोडेर अवसरबाट बञ्चित गराउन उचित हुदैन । शिक्षामा समानतामुलक चेतनामुलक र असल राजनीतिको आवश्यकता देखिन्छ । त्यसैले, अबको राजनीति परिर्वतनशील हुनुपर्छ । राजनीतिक संगठनहरुले क्याम्पसभित्र लोकतान्त्रिक अभ्यासका उत्कृष्ट नमुनाहरु प्रस्तुत गरी विद्यार्थीको हितमा कार्य गर्नुपर्दछ । 

अन्त्यमा, विभिन्न संगठनमा आवद्ध हुनु भएका विद्यार्थी र कलेजको हितको लागि खटिरहनु  भएका सम्पूर्ण विद्यार्थी नेताहरुलाई चैत्र ५ गते हुन गइरहेको चुनावको अग्रिम शुभकामना  । र, सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नो मतअधिकारको सही सदुपयोग गरी असल प्रतिनिधि चयन गर्न हुन पनि अनुरोध छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हीरा बोहरा
हीरा बोहरा
लेखकबाट थप