सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डमाथिको मुद्दा जनयुद्ध माथिको आक्रमण हो : महासचिव विप्लव

शुक्रबार, २६ फागुन २०७९, १७ : २५
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुलाई बिनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको बताएका छन् ।

शुक्रवार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताए ।

उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरु तयार रहेको बताए ।  उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रुपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्तिसँग सम्बन्धित रहेको उल्लेख गरे । महासचिव विप्लवले सो मुद्दालाई आफुहरुले अस्वीकार गर्ने बताए ।

उनले भने– ‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो । गणतन्त्रलाई सम्पूर्ण रुपले  पश्चगामी र दलाल पूजिँपति वर्गको हातमा हाल्दिने षड्यन्त्र हो। जसले विश्वमा र नेपालमा एउटा परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको थियो त्यो सम्भव छैन है, अब कसैले पनि त्यसलाई सोच्नु हुँदैन है भनेर एकदमै प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ यो मुद्दा हालिएको छ ।’ 

महासचिव चन्दले जनयुद्धलाई अपराधिकरण गर्ने र जनयुद्धका उपलब्धिहरुलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा लड्ने चेतावनी दिए ।  ‘हामीले के भनेका छौँ भने प्रचण्डजीहरुले उहाँको पार्टीमा के गर्नुहुन्छ उहाँहरुको कुरा हो । तर जनयुद्धलाई अपराधिकरण गर्ने र जनयुद्धका उपलब्धिहरुलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा पनि लड्छ । नेपाल कम्युनिष्ट पार्टी लड्छ । र त्यसको कुनैपनि जवाफ दिन हामी तयार छौँ । यो जनयुद्ध माथिको आक्रमण हो’ उनको भनाई थियो ।

चन्दले भने, ‘यो परिवर्तनमाथिको आक्रमण पनि हो । भएको सिमित उपलब्धि माथिको पनि आक्रमण हो । जसले क्रान्ति गरेर यि चिजहरु लिएर आयो, त्यसलाई पनि अस्वीकार गर्ने, अपराधिकरण गर्ने हमला छ त्यो प्रचण्डको व्यक्तिगत मामिला होइन । यो राज्यको मामिला हो । जनताको मामिला हो । जनताको अधिकारलाई पनि झन छिन्नभिन्न पार्ने, समाप्त पार्ने षड्यन्त्र हो । त्यसकारण हामी उत्रेको प्रचण्डको कुरा मात्रै होइन यो ।’

महासचिव चन्दले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरु त्यसको प्रतिरोधमा उत्रेको बताए । उनले माओवादी घटकहरु एक हुने सम्भावना रहेको र त्यसको निम्ति छलफल पनि भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप