मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघभित्रको विवादले मकवानपुर क्याम्पसमा क्षति

पार्टीभित्रको गुटबन्दीको प्रभाव विद्यार्थी संगठनमा पनि
आइतबार, २८ फागुन २०७९, २१ : २९
आइतबार, २८ फागुन २०७९

मकवानपुर । मकवानपुरमा नेपाल विद्यार्थी संघको नेतृत्व विवादले क्यापसमा क्षति पुगेको छ । पार्टीको आन्तरिक विवादका कारण नेविसंघ दुई समूहमा विभाजित छ । एक समूहको नेतृत्व भीषण ठकुरी र अर्को समूहको नेतृत्व सुवास सापकोटाले गरेका छन् ।

सापकोटा कांग्रेस नेता इन्द्र बानियाँ निकट मानिन्छन् भने ठकुरी नेतृ डीना उपाध्याय निकट मानिन्छन् । स्ववियु निर्वाचनमा नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले ठकुरी समूहलाई आधिकारिक भनेर चिठ्ठी समेत पठाएका थिए भने नेपाली कांग्रेस मकवानपुरले जिल्लाबाट सिफारिस गरेको व्यक्तिलाई अध्यक्ष नबनाएको भन्दै डुजाङलाई बर्खास्त गर्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाएको थियो ।

पार्टीको आन्तरिक विवाद मिलाउन कांग्रेस असक्षम देखिएपछि सार्वजनिक सम्पत्तिको रुपमा रहेको मकवानपुर क्याम्पसमा क्षति पुगेको हो । मुख्यतः बानियाँ र डिनाको आन्तरिक शक्ति सन्तुलनको समस्याको असर आम विद्यार्थी अध्ययन गर्ने थलोमा समेत परेको हो ।

गत मंसिरमा भएको संसदीय निर्वाचनपछि मकवानपुरमा कांग्रेसभित्रको झगडा झनै उग्र बन्दै गएको छ । आन्तरघातको आरोप खेपिरहेका बानियाँलाई हरेक क्षेत्रमा बाधा उत्पन्न हुँदै आएको छ । डिना कुनै पनि अवस्थामा बानियाँलाई शक्तिच्यूत गर्न चाहन्छिन् भने बानियाँ जिल्लादेखि प्रदेशसम्मको विभिन्न समितिमा आफ्नो छुट्टै सञ्जाल बनाउन चाहन्छन् । जस अनुसार बानियाँले कांग्रेसका सबै समितिमा आफू निकट व्यक्तिलाई मात्र समेट्ने प्रयास गर्दै आएका छन् ।

स्ववियु निर्वाचन समितिले सापकोटा टीमलाई उम्मेदवार बनाएपछि आइतबार क्यापसमा लफडा भयो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा विवाद हुँदा नेविसंघ मकवानपुरको ठकुरी समूहले आइतबार मकवानपुर बहुमुखी क्याम्पसमा तोडफोड गरेको थियो । तोडफोडबाट क्याम्पसका चार वटा झ्यालका सिसा फुटेका छन् । असन्तुष्ट नेविसंघका कार्यकर्ताले क्याम्पस परिसरमा टायर बालेर विरोध गरेका थिए ।

विद्यार्थीहरु तोडफोड र प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिइएको थियो ।

गत फागुन २७ गते स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गर्ने क्रममा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र नेविसंघको तर्फबाट ३ वटा मनोनयन पत्र दाखिला भएको निर्वाचन समितिले जनाएको छ । जसमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले दाखिला गरेको मनोनयन पत्रमा कुनै समस्या नदेखिएको तर नेविसंघको हकमा सापकोटा समूहले निर्वाचन समिति समक्ष पत्र नै पेस गरी आफ्नो प्रत्यक्ष तथा समानुपातिकतर्फ कुनै पनि उम्मेदवारी नरहेको भन्ने स्पस्ट पारेको तर सोही संगठनको ठकुरी समूहले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ सम्पूर्ण प्यानल कै उम्मेदवारी दर्ताको प्रक्रियामा आएको निर्वाचन समितिका संयोजक यम सिलवालले जानकारी दिए ।

नेविसंघको उक्त विवाद समाधानको लागि निर्वाचन समितिले विभिन्न समिति समक्ष छलफल एवं परामर्श गर्दा गरी सापकोटा समूहलाई आधिकारिकता प्रदान गरेको थियो । सापकोटा समूहले गत फागुन १९ गते संघ/संगठन/समूह दर्ताको क्रममा दर्ता प्रक्रियामा सहभागी भएका आधारमा आधिकारिकता प्रदान गरी निर्वाचन प्रक्रियालाई अघि बढाइएको निर्वाचन संयोजक सिलवालले बताए ।

निर्वाचन समितिले नेविसंघको ठकुरी समूहले प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारको हैसियतमा उम्मेदवारी दर्ता गर्न चाहेमा उम्मेदवारीका लागि तोकिएको शुल्क आइतबार साँझ ५ः३० बजेभित्र बुझाउन आग्रहसमेत गरेको थियो । उक्त निर्णय मान्य नहुने भन्दै नेविसंघको ठकुरी समूह विरोधमा उत्रिएर क्यापसमा तोडफोड गरेको थियो । उक्त समूह निर्वाचन समिति विरुद्ध सोमबार अदालत जाने तयारीमा छ ।

उक्त समूहबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार आकाश भट्टराईले निर्वाचन समिति विरुद्ध सोमबार अदालतमा रिट दर्ता गर्ने तयारी भइरहेको बताए । यस अघि चरणबद्ध आन्दोलनको कार्यक्रम तय गरेको र अब कानुनी रुपमा अघि बढ्ने तयारी गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप