आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इमरान खान समर्थक र प्रहरी बीच झडप जारी, इमरानले भने – गिरफ्तारीको आधार छैन

बुधबार, ०१ चैत २०७९, १० : ३८
बुधबार, ०१ चैत २०७९

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न लाहौर पुगेका प्रहरी अधिकारीको इमरानका समर्थकसँग झडप अहिले पनि जारी छ ।

इस्लामाबाद पुलिसले इमरान खानलाई विगत केही सातादेखि पक्राउ गर्ने प्रयास गरिरहेको छ र इमरान खानका समर्थकहरूले प्रहरीको लगातार विरोध गरिरहेका छन् ।

पछिल्ला केही घण्टामा प्रहरी र इमरान खानका समर्थकबीच झडप बढ्दै गएको देखिन्छ ।

पिटिआई नेता मुराद सईदले बुधवार बिहान प्रहरीले एक पटक पुनः लाहौरको प्रतिष्ठित इलाकामा रहेको इमरान खानको जमन पार्क आसातर्फ अघि बढ्न सुरु गरेको दाबी गरेका छन् । 

यसअघि इमरान खानले आफ्ना समर्थकहरूलाई भनेका छन्, ‘मैले १८ मार्चमा अदालतमा उपस्थित हुने लिखित आश्वासन दिएको छु । यो आश्वासन पत्रमा मेरो हस्ताक्षर छ । यस्तो अवस्थामा मलाई पक्राउ गर्ने प्रयासको कुनै आधार छैन ।’

इमरान खानले लाहोर हाई कोर्टको बार एसोसिएसनका अध्यक्ष इश्तियाक–ए–खानलाई स्योरिटी बन्ड दिएको र यसलाई उनले अदालतमा पेस गर्ने बताएका छन् ।

उनले भने, ‘मैले अराजकताबाट जोगिनका लागि स्योरिटी बन्डमा हस्ताक्षर गरेको छु । यस्तोमा अब मेरो गिरफ्तारीको कुनै आधार छैन । उनीहरू लन्डन प्लानलाई लागू गर्न जुनसुकै अवैध कदम उठाउनका लागि तयार छन् । ’

लन्डन प्लानको उनको आशय पिएएल–एन प्रमुख नवाज सरिफतर्फ थियो । उनको दाबी अनुसार पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको आदेशमा उनी विरुद्ध षड्यन्त्र रचिएको हो । 

बीबीसी संवाददाता फरहत जावेदसँग कुरा गर्दै इमरान खानले आफू जेल जान तयार रहेको बताएका छन् । यसका साथै, जमान पार्कमा प्रहरीको कारबाही सुरक्षा निकायको सहमतिबिना सम्भव नभएको उनको आरोप छ ।

यसैबीच, पाकिस्तान सरकारले इमरान खानको आरोपलाई अस्वीकार गर्दै पूर्व प्रधानमन्त्रीले अदालतमा उपस्थित हुनबाट बच्न हिंसा भड्काइरहेको बताएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप