आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

रामसहायलाई साझा उम्मेदवार बनाउन चार दल सक्रिय

बुधबार, ०१ चैत २०७९, १८ : ०२
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । उपराष्ट्रपतिमा एक मात्र उम्मेदवार तय गर्न सत्ता गठबन्धनका चार दल सक्रिय भएका छन् । सत्ता गठबन्धनबाटै दुईजना उम्मेदवार भएपछि मतदाताहरु अन्योलमा देखिएका छन् । 

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले उपराष्ट्रपतिका लागि उम्मेदवार उठाएका छन् । जसपा र जनमत गठबन्धनमध्येकै दुई दल हुन् । जनमत र जसपाले आ–आफ्नो उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार रहेको दाबी गरिरहेका छन् । यसले गठबन्धनमै रहेका मतदाताहरूमा अन्योल देखिएका छन् । 

गठबन्धन दलमध्ये कांग्रेसले बुधबार उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई नै सहयोग गर्ने निर्णय गरिसकेको छ भने अन्य दलको आधिकारिक कुरा आएको छैन । यद्यपि जसपाका उम्मेदवार रामसहायको प्रस्तावक र समर्थकमा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरु बसेका छन् । यति हुँदा हुँदै पनि दलहरु गठबन्धनको निर्णयको पर्खाइमा छन् ।

लोसपा र नागरिक उन्मुक्ति पार्टीले जनमतका उम्मेदवार ममता झाको समर्थक र प्रस्तावकमा बसेपनि गठबन्धनको आधिकारिक निर्णयको पर्खाइमा छ । गठबन्धनको बैठक बुधबार साँझ बालुवाटारमा बसिरहेको छ । 

तर कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनमा कुनै अन्योल नरहेको बताए । उनले भने, ‘उपराष्ट्रको साझा उम्मेदवार बनाउनका लागि आन्तरिक रुपमा दलहरुको बीचमा छलफल भइरहेको छ  ।  गठबन्धनको बैठकबाट पनि आवश्यक निर्णय हुन्छ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिका पुरुष उम्मेदवारलाई मत नदिने भनिसकेको छ । गठबन्धनभित्र पनि जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवार उठाएको हुनाले गठबन्धनबाट साझा उम्मेदवार बनाउन चार दलबीच छलफल सुरु भएको काँग्रेसका महामन्त्री गगन थापाले बताए । चार दलले गठबन्धनमा साझा उम्मेदवार बनाउन गृहकार्य गरिरहेको उनले बताए ।

सत्ता गठबन्धनका एक घटक दल एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले गठबन्धनका साझा उम्मेदवार जसपाका रामसहाय यादव हुने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप