आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले बीआरआई परियोजना तीव्रताका साथ अघि बढाउनुपर्छ : ज्ञवाली

बिहीबार, ०२ चैत २०७९, १६ : ३३
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले अब सरकारले त्यसलाई छिटो भन्दा छिटो अघि बढाउनुपर्ने बताए ।

बिहीबार काठमाडौँमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजनालाई अघि बढाउन लागि सरकारले अब चीनसँग फण्डिङ मोडालिटीको बारेमा तत्काल छलफल गर्नुपर्ने आवश्यक्ता समेत औँल्याए । सो परियोजनाबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्ने उनको भनाई थियो । उपमहासचिव ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भिर बन्नुपर्ने बताए । उनले नेपालले विकासमा फड्को मार्ने हो भने पनि सो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने धारणा राखे । 

उपमहासचिव ज्ञवालीले भने, ‘बीआरआई अघि बढन नसक्नुमा भूराजनीतिक इस्यूहरुले पनि कहिलेकाही काम गरेको मैले देखेको छु । त्यसो भएर बीआरआईबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्छ भन्ने मलाई लाग्दछ । हामीले जति छिटो यी कनेक्टिभिटीमा हाम्रा प्रस्तावहरुलाई कार्यान्वयनमा ल्याउन सक्छौं, त्यति छिटो नेपाल त्यसबाट लाभान्वित हुन सक्छ । त्यसो हुनाले माननीय उपप्रधानमन्त्रीज्यूमार्फत मेरो आग्रह पनि छ– प्रस्तावित हाम्रा जति पनि योजनाहरु छन् । तिनको कम्तिमा आधारभूत डकुमेन्टहरु सेयर गर्ने, पेश गर्ने, अब फण्डिङ मोडालिटीको विषयमा पनि चीनसँग बसेर कुरा गर्ने बेला भयो भन्ने मलाई लाग्दछ ।’ 

उनले भने, ‘अहिलेसम्म जे जति चर्चाहरु चलिरहेका छन् । जे भएपनि अब नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने तयारीको कामलाई नेपाल सरकारले सो कामलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्नेछ ।  दोस्रो, योसँग जोडिएर आउने भूराजनीतिक प्रश्नहरु छन् । म के कुरामा विश्वस्त छु भन्दाखेरी चिनियाँ मित्रहरुले बारम्बार एउटा कुरा भन्ने गर्नु भएको छ– चीन विकासको जतिसुकै उच्च तहमा पुगोस्, जतिसुकै विकसित होस् । चीनले कहिल्यै जियोग्राफिक एम्विशन राख्ने छैन । चीनले भन्ने गरेको छ– बाह्य हस्तक्षेपको पीडा छ भन्ने कुरामा हामी आफैंले भोग्दै आएका छौं । चीनको यो भनाईलाई हामीले मित्र राष्ट्रको हैसियताले गम्भिरतापूर्वक लिनुपर्दछ । नेपालको विकासमा फड्को मार्ने हो भने बीआरआई महत्वपूर्ण परियोजना हो भन्ने मलाई लाग्दछ ।’

उपमहासचिव ज्ञवालीले नेपालको विकासका अपेक्षाहरु पूरा गर्न पनि बीआरआई परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने तर्क गरे । कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालको विकासमा बीआरआई परियोजना महत्वपूर्ण अवसर हुने बताए । उनले नेपालको पूर्वाधार विकासमा चीनले सहयोगका हातहरु थप अघि बढाउन चाहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप