आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
विकास

द्रुतमार्ग आयोजना निर्माणमा कटान भएका काठ माटोमा परिणत हुँदै

हालसम्म ५१ हजार क्युफिट काठ उत्पादन
शुक्रबार, ०३ चैत २०७९, ११ : ११
शुक्रबार, ०३ चैत २०७९

बारा । काठमाडौ–तराई÷मधेस दु्रतमार्ग आयोजना निर्माणको क्रममा सेनाले कटान गरेका काठ माटोमा परिणत हुँदैछ । पूर्व–पश्चिम राजमार्गको दु्रतमार्ग जिरो पोइन्टसँगै घाटगद्दी गरेर राखिएका केही काठ आगलागीले नष्ट भए भने अधिकांश काठ कुहिएर माटोमा मिलिसकेका छन् । यी काठ आयोजना निर्माणको क्रममा आर्थिक वर्ष २०७४/०७५ मा कटान भएका हुन् ।

निजगढ नगरपालिकाभित्र रहेका कछडिया, जनहित, बाघभैरव, बकैया नागमणी सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रबाट कटान भएका काठ लामो समयसम्म अलपत्र परेका हुन् । अधिकांश कुकाठ प्रजातिका रुख आयोजनाले हतारमा कटान गर्नु र हस्तान्तरणमा ढिलाई गर्दा घाटगद्दीमै कुहिन थालेको सामुदायिक वन पदाधिकारीहरुको गुनासो छ ।

‘यसमा रुख कटान गर्दा नै सेनाबाट सबैभन्दा ठुलो गल्ती भएको छ, सेनाले आफूखुसी बेसाइजमा रुख काट्दा न उपभोक्ताले लैजान चासो देखाए, न ठेकदारले उठाए,’ बकैया नागमणी सामुदायिक वनका एक पदाधिकारीले भने, ‘दोस्रो कुरा, वैज्ञानिक वन व्यवस्थापनका नाममा देशभर नै घाटगद्दीमा भएको काठ नचलाउनु भन्ने आदेश आयो । त्यही बेला कोभिड १९ का कारण काठको ठेक्का लाग्न सकेन ।’

सरकारले दु्रतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि आयोजना कार्यालयले सामुदायिक वन पदाधिकारी र प्राविधिकहरुसँग समन्वय नै नगरी बेसाइजमा रुख कटान गर्दा पनि ठेक्का लाग्न समस्या भएको सामुदायिक वनको भनाइ छ । सामान्यतया उपभोक्ताले घरायसी प्रयोजनका लागि ७ देखि ९ फिटसम्म लम्बाई भएको काठ बढी प्रयोग गर्ने गर्दछन् तर सेनाले ७ फिट देखि १७ फिट सम्मको साइजमा रुख कटान गरेको थियो ।

कछडिया सामुदायिक वनका अध्यक्ष विरेन्द्र ठाकुरले पटकपटक सूचना निकाल्दा पनि ठेकेदारले काठ सकार नगरेपछि सबै काम नलाग्ने गरी कुहिएर माटो भइसकेको बताए । ‘हाम्रो सामुदायिक वनको ५ हजारभन्दा बढी क्युफिट काठ त आगलागीले डढेर नष्ट भयो, बाँकी भएको पनि सबै कुहिएर माटो भइसक्यो,’ उनले भने, ‘सेनाले जस्तो पायो त्यस्तै साइजमा गोलिया बनाएको थियो । त्यो काठ उपभोक्ताले पैसा तिरेर लिन मानेनन्, सेनाले काठ हस्तान्तरण प्रकिया पूरा गर्नै १ वर्ष लगायो । त्यतिबेलासम्म कुहिन थालिसकेको थियोे ।’

k10

उपभोक्ताले काठ लिन इच्छा नदेखाएपछि सम्बन्धित सामुदायिक वनले पटकपटक ठेक्का सूचना निकालेका थिए । कछडिया सामुदायिक वनले तेस्रो पटकसम्म निकालेको सूचनामा ठेकेदार कम्पनीले ठेक्का सकार गरे पनि घाटगद्दीमा काठ कुहिएको देखेपछि काठ उठाउन नमानेको अध्यक्ष ठाकुरले बताए ।

दु्रतमार्ग निर्माणको क्रममा आव २०७४÷०७५ मै छपान भएका १२ हजार ४५७ रुखमध्ये हालसम्म ५ हजार ४५ रुख कटान भइसकेको छ । गत वर्षसम्म कटान भएको रुखबाट मात्रै करिव ५१ हजार क्युफिट काठ आयोजना निर्माणको क्रममा उत्पादन भएको छ । ढिलो गरेर हस्तान्तरण भएको काठलाई सरकारी दररेटमध्येकै पनि उच्च मूल्यमा ठेक्का सूचना निकाल्दा घाटगद्दीबाट काठ उठ्न नसकेको वन कर्मचारीहरुको भनाइ छ । सामान्यता कुकाठहरु कटान भएको वर्ष दिनभित्र प्रयोगमा ल्याइसक्नु पर्दछ ।

डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत जवाहर कुर्मीले काठको हैसियत बिग्रिए पनि राजस्व दररेटमा घटाउन नमिल्ने तर प्रदेश निर्देशकको नेतृत्वमा रहेको समितिले स्थलगत निरीक्षण गरेर लगत कट्टा गर्नसक्ने कानुनी व्यवस्था रहेको बताए । उनले भने, ‘भर्खरै आएको वन नियमावली २०७९ मा प्रदेश निर्देशकको नेतृत्वमा रहेको समितिलाई कम दररेट राखेर लिलाम गर्ने कि लगत कट्टा गर्ने निर्णय गर्न पाउने अधिकार छ ।’

कुन सामुदायिक वनबाट कति रुख काटिए ?

काठमाडौं–तराई÷मधेस दु्रतमार्ग निर्माणको क्रममा आव २०७४/०७५ देखि रुख कटान सुरु भएको हो । जसमध्ये निजगढ नगरपालिका वडा नं ४, कछडिया सामुदायिक वनमा १ हजार ९२३ रुख छपान भएकोमा तीन चरणमा ३१३ वटा रुख कटान भइसकेको छ । जसमध्ये चालु आर्थिक वर्षमा कटान भएको ४८ वटा रुख बाहेक ९ हजार ३ सय क्युफिट काठ उत्पादन भएको थियो ।

त्यसैगरी निजगढ नगरपालिका–१० स्थित जनहित सामुदायिक वनमा १ हजार १५ रुख छपान भएकोमा पहिलो चरणमा ६४३ रुख कटान भएको थियो भने गत वर्ष ७४ वटा र चालु आवमा २० वटा गरी ७३७ रुख कटान भएको छ । जसबाट ५ हजार ५०९ क्युफिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

k14

सोही आयोजना निर्माणको क्रममा  निजगढ नगरपालिका–४, स्थित बाघभैरव सामुदायिक वनमा १ हजार ७४२ रुख छपान आदेश भएकोमा पहिलो चरणमा १ हजार ५१० रुख, दोस्रो चरणमा ७ वटा रुख कटान हुँदा ८ हजार ६१६ क्युफिट काठ उत्पादन भएको थियो ।

सोही आयोजनाभित्र रहेको निजगढ नगरपालिका–८ स्थित बकैया नागमणी सामुदायिक वनमा ५ हजार ६८० रुख छपान आदेश भएकोमा पहिलो चरणमा १ हजार २१३ रुख कटान हुँदा १३ हजार ८९३ क्युफिट काठ उत्पादन भएको थियो । दोस्रो चरणमा चालु आर्थिक वर्षमा ७७२ रुख कटान भइरहेकाले यसको तथ्याङ्क भने आइनसकेको डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत जवाहर कुर्मीले जनाए ।

४ वटा सामुदायिक वन बाहेक निजगढ नगरपालिका–१० मा रहेको राष्ट्रिय वन क्षेत्रबाट पनि २०७५/०७६ मा २ हजार ९७ रुख छपान हुँदा हालसम्म ५५६ रुख कटान भइसकेको छ । जसबाट १३ हजार ५७६ क्युफिट काठ उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मै छपान आदेश पाएका रुखको हकमा पनि सेनाले डिभिजन वन कार्यालयसँग कटान आदेश लिएर चरणचरणमा कटान गरिरहेको छ ।

नयाँ कटान भएका काठ पनि जोखिममा पर्ने चिन्ता

दु्रतमार्ग आयोजना कार्यालयले विगतमा छपान गरेका रुखहरु चालु आर्थिक वर्षमा पनि कटान गरिरहेको छ । घाटगद्दीमा राखिएका ती काठ पनि सेनाले हस्तान्तरणमा ढिलाई गरे यसपटक पनि उपभोक्तासम्म पुग्दा काठको हैसियत बिग्रिन सक्ने कछडिया सामुदायिक वनका अध्यक्ष ठाकुरको भनाइ छ ।

‘सेनाले बिगतको गल्ती सच्चाएर यसपटक प्राविधिक टोली सहित, सामुदायिक वनका पदाधिकारीको रोहवरमा कटान गरेकाले यसपटक त्यस्तो नहोलाजस्तो लाग्छ,’ उनले भने । यता आयोजना कार्यालयले पनि सुरुमा रुख कटान गर्दा प्राविधिक त्रुटि भए पनि यसपटक समयमै हस्तान्तरण गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप