आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

शुक्रबार, ०३ चैत २०७९, १६ : ०६
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । शुक्रबार देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको दैनिक बुलेटिनका अनुसार शुक्रबार बिहान बाराको कलैयामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बालमन्दिरस्थित सडकमा ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट भारत मुझफरपुर घर भई हाल कलैया उपमहानगरपालिका–१ मोतिबाग बस्ने बिनोदकुमार सोनारका ३ वर्षीय छोरा कार्तिककुमार सोनारको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै कास्कीमा भएको सवारी दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग.१ ख ७१०८ नम्बरको बसले ग.१९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक युवती २४ वर्षीया दिक्षा कार्कीको मृत्यु भएको हो । कार्की झापा दमक नगरपालिका ४ की स्थायी वासिन्दा हुन् । पछिल्लो समय उनी पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने गर्थिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

त्यसैगरी चितवनमा भएको लोडर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । ईच्छाकामना गाउँपालिका–२ बिप्राङस्थित सडकमा दारेचोकदेखि शक्तिखोर जाने सडक खन्दै गरेको साङ्छी आदर्स कन्ट्र्क्सनको नम्बर नखुलेको लोडर दुर्घटना हुँदा सहचालक ४२ वर्षीय नवीन गुरुङको घटनास्थलमै मृत्यु भएको हो । 
गुरुङ सोही गाउँपालिका–६ चण्डी भन्ज्याङका स्थायी बासिन्दा हुन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप