शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२२ लाख नक्कली नोट बेच्न १० लाखमा ‘डिल’

चन्द्र्रनिगाहापुरमा कारखाना, ६ लाख बरामद
शुक्रबार, ०३ चैत २०७९, १८ : ०९
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । प्रहरीलाई एउटा सूचना आयो–‘काठमाडौँमा ३ जना युवा नक्कली नोट लिएर घुमिरहेका छन् ।’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीले पाएको सो सूचना निकै संवेदनशील थियो । त्यसपछि अनुसन्धान अधिकृतकहरुले नक्कली नोट लिएर घुम्नेहरुलाई खोजी शुरु गरे ।

चैत १ मा नक्कली नोट कारोबार गर्ने मध्येका दुईजना आरोपी पक्राउ परे । पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र काकी छन् ।

छिरिङ काठमाडौँको माकलबारी बस्छन् । आरोपीहरुलाई प्रहरीले कालोपुलबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

आरोपीहरूले आफूसँग २२ लाख नक्कली नोट भएको र सो नोट १० लाख रुपैयाँ पाए दिनसक्ने भन्दै ‘डिल’ गरेका थिए । सुराक मार्फत प्रहरी अधिकारीहरु नै सो ‘डिल’मा सहभागी भए । सक्कली नोट दिने र नक्कली नोट लिने सहमति पछि सुराकको साथमा प्रहरी टिम कालोपुलमा पुग्यो ।

सुराकीसँगै गएका अनुसन्धान अधिकृतसँग छिरिङ डिल गर्न गर्दै थिए । कालोपुल स्थित सडक पेटिमा खरिदकर्तासँग छिरिङले १० लाख नगद देखाउन आग्रह गरे । खरिदकर्तासँग १० लाख नगद भएको यकिन भएपछि छिरिङले सुरेन्द्रलाई ‘सामान’ लिएर आउन आग्रह गरे । नक्कली नोट लिएर पुग्नासाथ सादा पोशाकका प्रहरीले दुवैको हातमा हतकडी लगाए ।

उनीहरूको साथबाट १ हजार दरका ३ सय ३६ थान नक्कली नोट बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । प्रहरी उपरीक्षक राठौर भन्छन्–‘नोट साइजमा काटेको बण्डल ९ थान बरामद गरेका छौं ।’

रौतहटमा कारखाना

बरामद नक्कली रुपैयाँ आरोपीहरूले रौतहटबाट काठमाडौँ ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रौतहटको चन्द्रनिगाहापुरमा नक्कली नेपाली रुपैयाँ छाप्ने कारखाना सञ्चालनमा रहेको आरोपीहरूले प्रहरीलाई बताएका छन् ।

चन्द्रनिगाहापुरबाट १ लाख सक्कली नोट दिएर ७ लाख नक्कली नोट आफूहरूले खरिद गरेको आरोपीहरूले प्रहरीलाई बताएका छन् । खरिद गरेको मध्ये बाँकी रकम प्रहरीले खोजीरहेको छ । नक्कली नोट कारोबारमा संलग्न अर्का एकजना फरार छन् ।

आरोपीहरुविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२२ अनुसार मुद्रा सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । चन्द्रनिगापुरमा रहेको भनिएको कारखानाको ठेगाना आरोपीहरूले प्रहरीलाई बताएका छैनन् ।

बरामद नक्कली नोट ‘दुई नम्बर’ गुणस्तरको रहेको अनुसन्धानका संलग्न अधिकृतहरु बताउँछन् । नेपाल भारत सिमानामा नक्कली नोट छापेर कारोबारीहरुले काठमाडौँ सम्म ल्याउने गरेको इतिहास छ ।

पक्राउ परेका दुईजना नक्कली नोट कारोबार गर्ने ‘लेयर’ हुन् । उनीहरु यसअघि पनि ठगी धन्दामा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ । ‘पक्राउ परेका दुई युवा ठग्नका लागि जेसुकै गर्ने प्रवृत्तिका हुन्’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘उनीहरूले सुनको जलप लगाएको धातु देखाएर ठग्ने गरेको थाहा भएको छ ।’

बरामद खोटा नोट किनमेल गर्दा झुक्क्याउने अवस्थाको नभएको र सो नोट उनीहरुले ठगी गर्नका लागि काठमाडौँ ल्याएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप