मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
सुरक्षा

प्रहरी महानिरीक्षक सिंह यसै साता अवकाशमा जाँदै, नयाँ आईजीपी हुन प्रतिस्पर्धा

एआईजी नियुक्त भएको ५ दिनमै आईजीपी !
सोमबार, ०६ चैत २०७९, २३ : ०१
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह यसै साता अवकाशमा जाँदैछन् । नेपाल प्रहरीको २९ औँ आईजीपी सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । मन्त्रिपरिषद्ले उनको पद लम्ब्याउने बारे कुनै निर्णय नगरेमा उनी चैत ११ मा सेवा निवृत्त हुन्छन् ।

सिंह सँगै उनका ब्याचमेट ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ जना डीआईजी र दुईजना एसएसपी पनि अवकाशमा जाँदैछन् । एआईजीहरू सहकुलबहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी यसै साता अवकाशमा जान लागेका हुन् । चैत ११ बाट डीआईजीहरु नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान्छन् । २०४९ चैत ११ मा सेवा प्रवेश गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमा शंकर पञ्जियार र जनकराज पाण्डे पनि सँगै सेवा निवृत हुन्छन् ।

आईजीपी सिंहको अवकाशसँगै आईजीपी हुन तीव्र प्रतिस्पर्धा सुरु भएको छ । चैत ११ मा आईजीपी नियुक्त हुने अधिकृतहरूलाई मन्त्रिपरिषद्ले सोमबार मात्रै अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । 

अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् । मन्त्रिपरिषद्ले टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो ।

एआईजी भएको ५ दिनमै आईजीपी  

सोमबार बढुवा भएका ५ जना एआईजीहरू प्रहरी महानिरीक्षकको दाबेदार हुन् । वसन्त कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य मध्ये एकजना चैत ११ सम्ममा आईजीपी नियुक्त हुनेछन् ।

एआईजीमा बढुवा भएको ५ दिनमै सरकारले उनीहरू मध्ये एकजनालाई आईजीपी नियुक्त गर्नुपर्ने हुन्छ । ३० औँ महानिरिक्षक बन्ने प्रतिस्पर्धामा सबैभन्दा अगाडी वसन्त कुँवर छन् । मेरिट लिस्टको एक नम्बरमा भएको हुनाले मन्त्रिपरिषद्ले उनलाई नै महानिरीक्षक नियुक्त गर्ने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

प्रहरी महानिरीक्षक बन्ने दौडमा श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि छन् । बज्राचार्यलाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेमा नेपाल प्रहरीमा पहिलो महिला आईजीपीको इतिहाँस निर्माण हुन्छ । वर्तमान ईजीपी सिंहले आफ्नो करिब १० महिना २१ दिनको कार्यकाल पुरा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप