सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उच्छृङ्खल प्रौढ पुरुषहरूलाई खुला पत्र

सोमबार, ०६ चैत २०७९, १४ : ०५
सोमबार, ०६ चैत २०७९

बदलिँदो समयसँगै नारीहरू पनि पुरुषसरह आफ्नो क्षमता र सीप देखाउँदै आएका छन् । कामकाजी नारीहरू बिहान हतारहतार बच्चाबच्चीलाई विद्यालय पठाइसकेपछि घरधन्दा सकेर कार्यालयतर्फ दगुर्छन् । साँझ कार्यालय छुट्टी भएपछि हस्याङ्फस्याङ गर्दै बासस्थानतिर पर्कन्छन् । यी नारीहरूले अफिस र घरका बीचको दूरी पार गर्न कैयौँ सास्ती र हन्डर खानुपर्छ । कति बेइज्जती खप्नुपर्छ, सँगसँगै यात्रा गर्ने पुरुषबाट कति प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रताडित हुनुपर्छ । त्यसको गन्ती सम्भव छैन । यस्तै प्रताडनामध्येका केही अनुभूति यहाँहरू समक्ष राख्दैछु । 

पढ्न, कार्यालय जान वा अन्य बाहिरी कामका लागि आफ्नो  सवारी साधन नहुने वा चलाउन नजान्ने महिलालाई सार्वजनिक सवारी साधन चढ्नैपर्ने बाध्यता छ । यस्ता सवारी साधनमा यात्रुका चाप सधैँ खचाखच हुन्छ । एक हातमा झोला र अर्को हातले यात्रु सिटको कुनामा वा टाउका माथिको डन्डी समातेर झुन्डिरहेका महिलालाई पछाडि भएका पुरुषले जानी जानी ठेल्ने, सचेततापूर्वक शरीरमा टाँसिने, संवेदनशील अङ्गमा धक्का दिने जस्ता कैयौँ तल्लो स्तरका हर्कत गर्छन् । आफैँलाई असामान्य र असजिलो लाग्न थालेपछि त्यही ठेलमठेल र धक्काधक्कीबीच पछाडि फर्केर हेर्दा त्यस्तो हर्कत गर्नेहरूमा अधिकांश पैतालीस पचास वर्ष नाघिसकेका प्रौढहरू हुने गर्छन् । यसको अर्थ सबै प्रौढहरू यही उच्छृङ्खल हुन् भन्न खोजिएको होइन तर कोहीकोहीमा भने यो खराब प्रवृत्ति धेरै हाबी हुने गर्दछ । यही कारण महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्न अत्यन्त असजिलो भइराखेको छ । 

यी उच्छृङ्खल प्रवृत्तिका व्यक्तिहरू प्रायः तिलचामलेदेखि सेत्तै फुलेका, बुवा, हजुरबुवा उमेरका देखिन्छन् । समाजले सम्मान दिनुपर्ने, अरूलाई सम्झाउनुपर्ने यो उमेरका प्रौढहरूबाट नै यस्तो दुव्र्यवहार भोग्नुपर्दा मन दुखित हुन्छ । बुबा अथवा दाइ अलि राम्रोसँग बस्नुस् न भन्यो भने, “यस्ता मान्छे त आप्mनै गाडीमा यात्रा गर्नुपर्छ, सार्वजनिक यातायातमा अलि अलि धक्कापक्का त भइहाल्छ नि” भन्दै उनीहरू महिलामाथि थप शब्दवाण प्रहार गर्छन् । उनीहरूलाई समर्थन गर्ने अरू थपिन्छन् । ती प्रौढहरूका तुलनामा सँगै यात्रा गरिरहेका अन्य युवाहरू आपूmले सकस खाएर पनि सम्हालिएर बस्ने प्रयत्न गरिरहेको देखिन्छ । 

हिजोआज प्रशस्त महिला लेखिकाहरूले विविध विषयमा कलम चलाएको देखिन्छ । तर ती महिलाहरूले यस्ता विषयमा खास्सै कलम चलाएको देखिँदैन । म र मेरा कार्यालयका अन्य महिला साथीहरू सार्वजनिक सवारीमा यात्रा गर्दा कहिलेकाहीँ यस्ता अमानवीय हर्कतबाट पीडित थियौँ । 
एक जना सहकर्मी साथीले एक दिन कार्यालय जाँदै गर्दा बसमा एक जना प्रौढ पुरुषले यस्तै दुव्र्यवहार गरे । पटक पटक यस्तै दुव्र्यवहारबाट वाक्क भएर उनले साडीमा लगाएको सेप्टी पिन निकालेर घोचिदिएको सुनाइन् । साँझ, रातिको समयको त कुरै नगरौँ, दिउँसोको कार्यालय समयमा त त्यो हदसम्म पीडा भोग्नुपर्छ । यो त एउटा प्रतिनिधि घटना मात्र भयो । 

यस्तो व्यवहार गर्नेहरूको घरपरिवारमा छोरीबुहारी पक्कै पनि होलान् । उनीहरूका छोरीबुहारीमाथि अन्य कसैले यस्तो दुव्र्यवहार गरे भने कस्तो लाग्छ ? त्यस्तो हर्कत गर्ने यस्ता पुरुषहरूले एक पटक गम्भीर भएर सोचौँ ?
    केही समय पहिले एक अनलाइन पत्रिकामा सार्वजनिक यातायातमा भोगेका दुव्र्यवहारको समाचार आएको थियो । त्यसमा पनि अधबैँसे उमेरका नै पुरुषबारे थियो । त्यो लेखको प्रतिक्रियामा एक जना पुरुषले ‘अब महिलाले यात्रा गर्ने सवारी र उनीहरूका लागि सडक पनि छुट्टै हुनु प¥यो’ भनेका छन् । त्यसैमा अर्का एक सज्जनले, ‘हाम्रा पनि घरमा दिदीबहिनी छन् तर यस्तो गुनासो कहिल्यै गरेका छैनन्’ भनेका छन् । धन्न हो तिम्रो सोच ! घर व्यवहार, कार्यालय धान्दैमा थाकेका महिलालाई हौसला दिनुको सट्टा सामाजिक सञ्जालमा यस्ता तर्क गर्दै हिँडेका छन् । अप्ठ्यारो अवस्थाको फाइदा लिन खोज्दै

महिलामाथि अमानवीय व्यवहार गरेर असभ्यता प्रदर्शन हुँदैछ । यस्तो संस्कार र  मानसिकताले कहाँ पुर्याउँछ समाजलाई ? यस्तो कार्य गर्नेहरूले आप्mनै घरका महिलालाई किन सोध्दैनन् यात्रा गर्दाका भोगाइहरू ?  महिलाले आफूमाथि भएको दुव्र्यवहार सकेसम्म बाहिर ल्याउन चाहँदैनन् । कसैले ल्याइहाले भने उल्टै उनीमाथि खिसीट्युरी हुन थाल्छ । 

उच्छृङ्खल प्रवृत्तिका व्यक्तिहरू प्रायः तिलचामलेदेखि सेत्तै फुलेका, बुवा, हजुरबुवा उमेरका देखिन्छन् । समाजले सम्मान दिनुपर्ने, अरूलाई सम्झाउनुपर्ने यो उमेरका प्रौढहरूबाट नै यस्तो दुव्र्यवहार भोग्नुपर्दा मन दुखित हुन्छ ।

‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ’ भन्ने नेपाली उखान छ । दुव्र्यवहार भन्ने कुरा सधैँ अरूले देखेको हुँदैन । अरूले देखेभन्दा बढी भोग्नेले महसुस गर्ने कुरा हो । यहाँको पितृसत्तात्मक समाजले पीडितलाई नै थप पीडा दिने परम्परा राखेको छ । 
एक जना चिनजानका पुरुष आफन्तले एक दिन “आज बसमा यात्रा गर्दा तरुनी भनेर जिस्क्याउँदा नचिनेर कलेजबाट फर्केकी आप्mनै छोरी पो परिछ” भनेर लाजै नमानी भनेका थिए । यी सबै कुरा हेर्दा कतिपय पुरुषहरूले महिलालाई आनन्द लिने एउटा साधनका रूपमा सम्झन्छन् र आफ्नै छोरीलाई समेत जिस्क्याउन पुग्छन् । 

केही समय अगाडि एक लेखमा आप्mनो बाबुको उमेरको विवाहित पुरुषले आफूलाई पटक पटक असामान्य मेसेज गरिरहेकाले यस्ता छद्मवेशी पुरुषहरूका सिधासाधा श्रीमतीहरूलाई सजग बनाउन लेखिएको थियो । तपाईंका श्रीमान्को व्यवहार र मोबाइल फोनहरू बेलाबेलामा चेक गर्नु, तपार्इंका श्रीमान् छोरीभन्दा कम उमेरकी केटीको पछि लागिरहेका त छैनन् भनेर सुझाइएको छ । यस्ता पुरुषले एकैसाथ दुईवटी महिलालाई धोका दिइरहेका हुन्छन् । यसैले नै यस्ता आन्टीहरूलाई खबरदारी गर्नुुपर्ने अवस्था आएको होला ।

नेपाली महिला घरभित्र र बाहिर सधैँ पुरुषहरूबाट डराई डराई बाँच्छौँ । अमेरिका, अस्ट्रेलिया, बेलायततिरका महिलाहरू निर्धक्क घर बाहिर निस्कन्छन् । नजिकैका फिलिपिन्स, दुबईजस्ता देश भ्रमण गर्दा काहीँ कतैबाट पनि अस्वाभाविक व्यवहारको महसुस् भएन, असुरक्षाको अनुभूति भएन । बरु कतिपय ठाउँमा महिला भएको कारणले सम्मान पाएको अनुभव स्वयं लेखिकाको छ । यी बिराना देशमा एउटा महिलाले सुरक्षित महसुस गर्ने तर आफ्नै देशमा असुरक्षित महसुस् गर्नुपर्ने विडम्बना आजसम्म पनि छ । यसकै परिणाम देशका विभिन्न भागबाट हृदयविदारक समाचार सञ्चार माध्यममा एकपछि अर्काे आइरहन्छन् । 

राज्य संयन्त्रले कतै पनि संवेदनशील भएर महिलामाथि न्याय दिएको देखिँदैन । हामीले महिला राष्ट्रपति, प्रधान न्यायाधीश सभामुख, महिला मन्त्रीहरू पनि पायौँ । त्यस्ता महिलाहरूको व्यक्तिगत स्तरोन्नति त भयो होला तर बहुसङ्ख्यक भुइँमहिलाका समस्या जस्ताका त्यस्तै छन् । कागजमा भएका नियम कानुनहरू देखाउँने दाँत जस्ता मात्र छन् । बरु राज्य संयन्त्रबाट प्रताडित भएका घटना बाहिर आउँछन् । हामी महिलाहरूले नै सिर्जना गरेको पुरुष समाज हामीमाथि नै किन यति हिंस्रक हुनसक्छ ? के यसमा आवेग मात्र दोषी हो त ? पक्कै पनि होइन बरु यो निश्चित् रूपमा पुरुष भित्र रहेको महिलालाई उपभोगको साधन मात्र ठान्ने प्रवृति र आफूलाई मालिक ठान्ने मनोवृत्तिबाट जन्मिएको एउटा सामाजिक रोग हो । 

नेपालको कानुनमा ‘अभद्र व्यवहार गर्न नहुने, कसैले सार्वजनिक स्थान प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । यदि अभद्र व्यवहारको कसुर गरेमा हुन सक्ने सजाय त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रूपैयाँसम्म जरिमाना वा दुवै सजाय हुनेछ’ भन्ने उल्लेख भएको छ । 

कानुनको उचित कार्यान्वयन गरेर सबै पीडितका पक्षमा राज्य उभिने हो भने पीडकको मनोबल पक्कै बढ्न पाउँदैन ।     तर भाषा र भाषण फेरिए पनि कार्यान्वन कर्ताको मनस्थिति उस्तै नै छ । लैङ्गिक समानताको सिद्वान्तको नराम्रोसँग उपहास भइरहेको छ । सहरका तारे होटलहरूमा मनाइने नारी दिवस लगायत नारी अधिकारका भाषण फलाक्नेहरू सार्वजनिक सवारी साधनमा यात्रा गर्दैनन् । आप्mना चिप्ला गाडीमा यात्रा गर्ने ती महिलाहरूलाई सार्वजनिक यातायातमा हिँड्ने महिलाको पीडा के थाहा ? 

आधुनिक युगसम्म आइपुग्दा नारीहरूको सुरक्षा पुरुषप्रधान सोचको सेरोफेरोमा अल्झिएको छ । यो सोच समयसँगै परिवर्तन भएको देखिँदैन । नैतिकता नभएका बुबा, हजुरबुवा उमेरका हाम्रा प्रौढहरूका व्यवहारमा लागू नभएका नियम कानुन र तारे होटलमा गरिने नारी दिवसले हाम्रो मर्का बुझ्दैन । त्यसकारण अन्य देशका महिलाहरूले आफ्नो अधिकारका गाउँगाउँ, बस्ती बस्तीमा प्रतिरोध गर्न पछिपर्नु हुँदैन ।  त्यसका लागि एउटा सशक्त आन्दोलन अगाडि बढाउनु आजको आवश्यकता हो । आमाको गर्भबाट नै हामी असुरक्षित छौँ । यस्ता विकृत मानसिकताबाट सिर्जित क्रियाकलापविरुद्ध नारीहरू एक जुट हुँदै हिंसा भएकै ठाउँमा प्रतिवाद गरौँ ।

लेखक लैङ्गिक समानता विषयमा विद्यावारिधि गरी महिला हक अधिकारका विषयमा कलम चलाउँछिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राधिका बुढ्थापा
डा. राधिका बुढ्थापा
लेखकबाट थप