शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनापछि बस्दै कर्णाली प्रदेशसभा बैठक

बुधबार, ०८ चैत २०७९, १७ : २६
बुधबार, ०८ चैत २०७९

सुर्खेत । दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेशसभा सचिवालका सचिव जीवराज बुढाथोकीले चैत्र १२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिए । सरकारले बैठक आह्वानका लागि आइतबार प्रदेशसभालाई जानकारी गराएको थियो । यद्यपि अहिलेलाई एजेण्डाबिना नै बैठक आह्वान गरिएको छ । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १२ बजे बस्ने सर्वदलिय बैठकले निर्णय गर्नेछ ।

प्रदेशसभा लामो समयदेखि बन्धक बनिरहेको छ । यसअघि १८ पुसमा प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सभामुख र उपसभामुख चयन बाहेक प्रदेशसभाले कुनै काम गर्न सकेन । १ माघमा सभामुख र ३ माघमा उपसभामुख चुनिएका थिए । ६ माघमा मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट विश्वासको मत लिएका थिए ।  सभा अनिश्चितकालका लागि स्थगित भएको सोमबार दुई महिना पुगिसकेको छ ।  

यस्तै कर्णालीमा अहिलेसम्म ‘मिनी संसद’ भनिने संसदीय समिति समेत गठन हुन सकिरहेका छैनन् । जसका कारण प्रदेश सरकारको चर्को आलोचना भइरहेको छ । प्रदेशसभामा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी ४ वटा संसदीय समिति छन् । ती समितिले कहिले पूर्णता पाउने हुन् भन्नेबारेमा स्वयं सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु समेत बेखबर छन् । 

संसदीय समितिले नै पूर्णता नपाउँदा प्रदेशसभा सदस्यहरु भने फुर्सदिला बनिरहेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेपाली कांग्रेसले सचेतक र प्रमुख सचेतक समेत तोकेका छैनन् ।  अर्कातिर पछिल्लो नयाँ समीकरणले सरकारको भविष्यबारे समेत अन्योल छ । १० पुसमा बनेको एमालेसहितको गठबन्धन टुटेर यतिबेला चुनावी गठबन्धननै ब्यूँतिएको छ । जसका कारण प्रदेशमा पनि नयाँ सरकार गठनको सम्भावना बढी देखिन्छ ।

यदि अहिलेको गठबन्धन अनुसार सरकार बनाएको खण्डमा नेकपा एमाले सत्ताबाट ‘रिङ आउट’ हुने छ भने नेपाली कांग्रेसले ‘इन्ट्रि’ मार्ने छ । तर गठबन्धन साझेदार दल कांग्रेस र नेकपा माओवादी केन्द्रबीच अहिलेसम्म कुनै छलफल हुन सकिरहेको छैन । अर्कातर्फ एमालेले सरकारमा बसिरहनेकी बाहिरिने भन्नेबारे निर्णय लिन सकिरहेको छैन । दलहरुको सत्ताखेतीले गर्दा सरकारका कामकारबाहीका प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप