शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवकाविरुद्ध लोसपाले पनि बारामा उम्मेदवार उठाउने

बिहीबार, ०९ चैत २०७९, २१ : ११
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने निर्णय गरेको सो पार्टीका कार्यकारिणी सदस्य केशव झाले बताए । चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनमा लोसपाको सक्रिय सहभागिता हुनेछ । त्यसमध्ये बारामा आफ्नो उम्मेदवारी नै दिने तयारी भइरहको उनले बताए ।

यो विषयमा गठबन्धनमा छलफल हुन बाँकी नै छ । गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि मित्रवत प्रतिस्पर्धाका लागि भएपनि लोसपाले उम्मेदवारी दिने निर्णय गरेको छ । ‘अहिले उम्मेदवार निश्चित भएको छैन । उम्मेदवारको बारेमा पार्टीमा छलफल हुन बाँकी नै छ’ झाले भने । सो क्षेत्रमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र लोसपाका बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहले उम्मेदवारी दिने चर्चा भइरहेको छ ।

जनता समाजवादी पार्टी नेपालबाट भने अध्यक्ष उपेन्द्र यादवले नै सो क्षेत्रमा चुनाव लड्ने तयारी गरिरहेका छन् । सप्तरीबाट चुनाव हारेका उपेन्द्र यादवले रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर सोही क्षेत्रबाट निर्वाचित भएर संसदमा आउने तयारी गरेका हुन् । तर यादवका विरुद्ध जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि आफ्नो पार्टीका तर्फबाट उम्मेदवार उठाउने घोषणा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप