शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

आज जुम्लामा राष्ट्रिय धान दिवस मनाइँदै, के छ मार्सीको महत्त्व ?

विश्वमै सबैभन्दा बढी उचाइमा फल्छ जुम्ली मार्सी धान
आइतबार, १२ चैत २०७९, १३ : ४१
आइतबार, १२ चैत २०७९

सुर्खेत । देशभर असार १५ मा मनाइन्छ धान दिवस । तर जुम्लामा आज राष्ट्रिय धान दिवस मनाइँदै छ ।  जुम्लामा प्रत्येक वर्ष चैत्र १२–२० गतेसम्म धान दिवस मनाउने चलन छ ।  सोहीअनुसार जिल्लामा आजबाट ९ दिनसम्म राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । आज जुम्लामा सार्वजनिक बिदा समेत दिइएको छ ।

दुर्लभ जुम्ली मार्सी धान संसारमै सबैभन्दा बढी उचाइ अर्थात् समुद्र सतहबाट करिब २७ सय ९० मिटर उचाइमा उत्पादन हुने धानको चिनारी बोकेको छ । वि.स.१०९८ सालदेखि चन्दननाथ बाबाले जुम्ला तातोपानीको लाछु ज्युलोमा जुम्ली मार्सी धानको बीउ राखेका थिए । बीउको परीक्षणपछि १११२ सालदेखि जुम्लामा काली मार्सी धान खेती गर्न सुरु गरेको बुझिन्छ । 

त्यो बेला जुम्लाको सबैभन्दा उच्च स्थान लाछु, छुमचौर र हाकुमा मार्सी धान उत्पादन गर्न थालिएको थियो । माइनस ४ डिग्री सेल्सियस तापक्रमसम्म उमार शक्ति भएको यो मार्सी धान ज्यापोनिका प्रजातिको स्थानीय रैथाने जातभित्र पर्दछ । कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सीको संरक्षण उत्पादन वृद्धिसँगै बजारीकरणका लागि प्रदेश सरकार  प्रतिबद्ध रहेको बताए । 

कसरी गरिन्छ मार्सी धानको खेती ?

जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धान हो, मार्सी । नेपाली र तेस्रो मुलुकको ठुलो बजारमा लोकप्रिय बन्दै गएको काली मार्सी धान खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । किसानहरूले शनिवारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको सुरुआतीको रूपमा लिने गरिन्छ । 

स्थानीय चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, मालिका देवतालाई र आ–आफ्ना कूल देवतालाई सम्झेर बीउ राख्ने परम्परा छ । जिल्लाको आठ वटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरे पनि पातारासी गाउँपालिकास्थित छुम, चौर, ज्युलोमा सबैभन्दा बढी मार्सी धान खेती हुने कृषि विकास कार्यालयले जनाएको छ ।  

हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिन्छ । अनि, २० गते छरिन्छ । चैत १२ गतेलाई यहाँको परम्परागत चलनअनुसार ‘बारुवा’ गरिन्छ । चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ । मार्सी धान विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गरिन्छ । 

मार्सीको रातो भातको खिर निकै स्वादिलो हुन्छ । घरका सबै दिदीबहिनी एकापसमा चिउरा कुट्ने चलन छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा २ हजार ८ सय हेक्टरमा धान खेती हुन्छ । १२ चैतमा बीउ भिजाएर, १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोपिन्छ । १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ । 

वैशाख १ मा बेर्नाको पानी सुकाउने चलन छ । त्यसपछि बीउ हरियो हुन्छ । भेँडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिङ्गर चालेर मलका रूपमा हालिन्छ । एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ । भदौमा झारपात उखेल्नुपर्छ । कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ । खेतमा पानी भने खाली गर्नुहुँदैन । 

पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो तर अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ । सो धान पाक्न सात महिना लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप