शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मन्त्री बन्न दौडधुप, तराई–मधेसकेन्द्रित दलले कसरी चयन गर्दैछन् मन्त्री ?

मङ्गलबार, १४ चैत २०७९, १६ : ३६
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ ।  तराई–मधेसकेन्द्रित दलहरूमा मन्त्रीको आकाङ्क्षी बढेपछि व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तम्तयार छन् । ती दल सरकारमा जाने निर्णय गरिसकेका छन् तर गठबन्धनमा मन्त्रालय बाँडफाँटको टुङ्गो लाग्न सकेको छैन । सोही कारण दलहरूले पनि मन्त्रीको नाम टुङ्गो लगाउन सकेका छैनन् । 

गठबन्धनको निर्णयको पर्खाइमा तराईकेन्द्रित दलहरू छन् । जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले गठबन्धनले मन्त्रालयले नटुंग्याएसम्म पार्टीले कुनै निर्णय नगर्ने बताए । 

सुमनले भने, ‘कुन मन्त्रालय र कतिवटा मन्त्रालय कुन दलले पाउने कुरा गठबन्धनले नटुंग्याएसम्म पार्टीहरूले निर्णय गर्न मिल्दैन । पहिला गठबन्धनमा निर्णय होस्, त्यसपछि मात्र हामीले छलफल गरेर टुङ्गो लगाउँछौँ ।’ मन्त्री र मन्त्रालयको बारेमा अहिले पार्टीमा कुनै छलफल नभएको उनले जिकिर गरे ।

जसपा नेपालले तीनवटा मन्त्रालयमा दाबी गरेको छ । तर दुईटा मन्त्रालय पाउने सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ । पार्टीका एक नेताले भने, ‘हाम्रो दाबी तीन वटा मन्त्रालयमा हो तर दुईटा दिने सम्भावना छ । दुईटा मन्त्रालयको तयारी आन्तरिक रूपमा चलिरहेको छ ।’ 

मन्त्रीका लागि नेताहरूको दौडधुप बाक्लिएको छ । राजकिशोर यादव, प्रदीप यादव, डा.वीरेन्द्र महतो, नवलकिशोर साह, दीपक कार्की, सुशीला कार्कीको मन्त्री बन्ने चर्चा जसपाभित्र छ । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले कसैलाई आश्वासन दिएका छैनन् । 

उता अध्यक्ष यादव आफै उपनिर्वाचन लड्ने तयारीमा छन् । त्यस अवस्थामा उनले कुनै प्रकारको रिस्क लिन नचाहेको एक नेताले बताए । अहिले नै मन्त्रीको टुङ्गो लगाएपछि उपनिर्वाचनमा त्यसले असर पार्ने देखिएकाले अध्यक्ष यादव मन्त्रीको टुङ्गो लगाउन हतारमा नरहेको एक नेताले बताए ।

लोसपाले पनि दुईटा मन्त्रालय दाबी गरेको छ । चारजना सांसद रहेको उसले प्रधानमन्त्री प्रचण्डसँग भेटेर दुईटा मन्त्रालय चाहिने प्रस्ताव गरिसकेको छ । तर प्रधानमन्त्री प्रचण्डले एउटासम्म दिन सकिने आश्वासन दिएको लोसपा स्रोतले जनाएको छ । 

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीको नेतृत्वमा सरकारमा जाने लगभग निश्चित छ । नेता भण्डारी मन्त्रीका लागि पार्टीमा सक्रिय छन् । उनी पार्टीका अध्यक्ष ठाकुर र प्रधानमन्त्री प्रचण्डसँग नियमित सम्पर्कमा छन् । 

अर्कोतिर पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ला पनि मन्त्रीका आकाङ्क्षी हुन् । उनले आफ्नो नेतृत्वमा पार्टी सरकारमा जानुपर्ने कुरा पार्टीमा राखेको अध्यक्ष ठाकुर निकट एक नेताले बताए । दुईटा मन्त्रालय हात लागे लोसपाले नेताद्वय भण्डारी र शुक्लालाई नै पठाउने बताइएको छ । 

सो पार्टीका नेता डा.सुरेन्द्र झाका अनुसार लोसपाले एउटा मन्त्रालय पाउने कि दुईटा कुनै टुङ्गो नलागेको तथा मन्त्रीमा कसलाई पठाउने निर्णय संसदीय दलको बैठकले गर्नेछ ।  

जनमत पार्टीले थप एउटा मन्त्रालय मागेको छ । उसले यसअघि नै खानेपानी मन्त्रालय पाइसकेको छ । कृषि र उद्योगमध्ये कुनै एउटा मन्त्रालय पाउनुपर्ने जनमतको माग छ तर प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई पनि एकभन्दा बढी मन्त्रालय दिन तयार छैनन् । 

जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले आफूहरूले दुईटा मन्त्रालय मागेको बताए । स्रोतका अनुसार एउटा मन्त्रालय पाइए खानेपानी मन्त्रालयलाई हेरफेर गर्ने सम्भावना छ । 

मन्त्रालय परिवर्तन गर्ने पक्षमा जनमत पार्टीका अध्यक्ष सीके राउत पनि छन् । यसअघि पनि खानेपानी मन्त्रालयमा अध्यक्ष राउतले चित्त बुझाएका थिएनन् । जनमतले पछि परिवर्तन गर्ने वा मन्त्रालय थप गर्ने सर्तमा खानेपानी मन्त्रालय सम्हालेको थियो । खानेपानी मन्त्रालय अब्दुल खानले सम्हालेका छन् । यदि थप अर्को मन्त्रालय पाइए त्यसमा महिलालाई पठाउने सोच जनमत पार्टीको रहेको बताइएको छ । जनमत पार्टीका अध्यक्ष राउतले आफू सरकारमा नजाने घोषणा गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप