बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

नामकरण विवाद, अशान्त विराटनगर

मङ्गलबार, १४ चैत २०७९, २१ : ३५
मङ्गलबार, १४ चैत २०७९

विराटनगर । सशस्त्र र नेपाल प्रहरीको तुलनामा कमै प्रदर्शनकारी देखिए पनि मंगलबारको झडपले विराटनगर तनावग्रस्त बन्यो । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै असन्तुष्ट बनेका पहिचान पक्षधरहरूको मंगलबारको प्रदर्शन झडपसम्म पुग्यो । 

koshi protest (4)

युएनडिपीको आयोजनामा मोरङको सुन्दरहरैंचामा मंगलबारकै लागि ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन’ बारे प्रदेशका सबै सांसदहरूसँगको कार्यशाला राखिएको थियो । तर, त्यहाँ असुरक्षा हुने भन्दै विराटनगरको होटल बिगमा कार्यक्रम सारियो । त्यो थाहा पाएपछि विराटनगर आएका पहिचान पक्षधरहरूले सांसदहरूलाई घेराउ गर्ने भन्दै होटल बिग अगाडि प्रदर्शनमा उत्रिए । 

koshi protest (1)

सुरुवाती प्रदर्शन शान्त थियो । तर, बिग होटलको माथिल्लो तलाबाट केही सांसदहरूले आन्दोलनको रमिता हेर्न थालेपछि प्रदर्शनकारीहरू ‘पख्लास्’ भन्दै आक्रोशित भए । त्यहीबीचमा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी पर्‍यो । त्यसपछि आन्दोलनकारीले ढुंगामुढा सुरु गरे । त्यसपछि प्रहरी पनि आन्दोलनकारीमाथि खनियो ।

koshi protest (7)

निरन्तर ढुंगामुढा भएपछि प्रहरी केही समय ब्याक हुनुपर्‍यो । जसको कारण अन्दोलनकारीले बिग होटलको क्याफेसमेत तोडफोड गर्न भ्याए । क्याफे बाहिर लगाएको १५ एमएमको सिसा आन्दोलनकारीले गरेको ढुङ्गा प्रहारबाट पूर्ण रूपमा क्षति भएको बिग होटलका म्यानेजर सञ्जय साहले जानकारी दिए । आक्रमणबाट क्याफेको सोफा र फ्रिजमा पनि असर पुग्दा ५ लाख रुपैयाँ बढीको क्षति भएको उनको भनाइ छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन र होटलभित्र आन्दोलनकारी प्रवेश गर्न नदिनका लागि पुनः लाठीचार्ज सुरु गर्यो । जसको कारण आन्दोलनकारीको होटल प्रवेश गर्ने योजना विफल भयो ।

koshi protest (3)

प्रहरीले स्थिति नियन्त्रण लिन भन्दै २९ राउन्ड हवाई फायर र ४४ राउन्ड अश्रुग्याँस प्रहार गरेको जनाएको छ । जसमध्ये १७ राउन्ड हवाई फायर नेपाल प्रहरीले र १३ राउन्ड हवाई फायर सशस्त्र प्रहरीले गरेको मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । १३ राउन्ड अश्रुग्याँस नेपाल प्रहरी र ३१ राउन्ड अश्रुग्याँस प्रहार सशस्त्र प्रहरीले गरेको थियो । आन्दोलनकारीको भिड रोक्न प्रदेश प्रहरी कार्यालयबाट आएको ट्याङ्करबाट पानीको फोहरासमेत प्रहार गरिएको थियो । प्रहरीले दिएको जानकारी अनुसार उक्त झडपमा परी सशस्त्र र नेपाल प्रहरीका १२ जना घाइते भएका छन् । यता आन्दोलनकारीतर्फ एक दर्जन बढी घाइते भएको आन्दोलनकारीमध्येका एक अर्जुन जम्मेली राईले बताए । घाइतेमध्ये केहीको विराटनगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धरान लगिएको छ । आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बू, ज्ञानबहादुर राई, शिव आङ्देम्बे, उदय लिम्बू, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बू रहेका छन् ।

koshi protest (2)

आन्दोलनको कारणमा आधाभन्दा धेरै प्रदेश सांसदहरू होटल प्रवेश गर्नै पाएनन् । केही सांसदहरूले भने अशान्ति भएको भन्दै कार्यक्रमस्थलमै नगाएको बताएका छन् । पुनः नामकरण संयुक्त संघर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग गर्दै आएको छ ।

koshi protest (12)

आन्दोलनपछि कोणसभामा पहिचानवादी नेताहरूले कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण नगरे आन्दोलन अझै ठुलो हुने चेतावनी दिए । पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेवेले पहिचानको आन्दोलनलाई दबाउन खोज्ने प्रयास सरकारको लागि महँगो साबित हुने चेतावनी दिए । उनले प्रदेशको नामकरण बहुपहिचानको आधारमा नभएसम्म आन्दोलन जारी रहने बताए ।

एक अर्काको अस्तित्व अस्वीकार गर्दै प्रदेश सरकार र आन्दोलनकारी

विराटनगरमा मात्रै नभएर मंगलबार कोशी प्रदेशको झापा बिर्तामोड, दमक नगरका, मोरङको उर्लाबारीका कतिपय वडा कार्यालयमा तालाबन्दी भएको छ । बेलबारीमा भर्खरै मृत्यु भएका पदम लिम्बू लाजेहाङको घर जान लागेको गृह मन्त्रालयको टोलीले परिवारजनसँग भेटघाट र बयान लिने क्रममा खबरदारीको सामना गर्नुपर्‍यो । 

koshi protest (8)

उता, कोशी प्रदेश सरकार भने मृतकको परिवारलाई क्षतिपूर्ति दिनेबाहेक आन्दोलनलाई मत्थर बनाउने विषयमा कुनै भूमिका खेल्न सकेको छैन । सरकारका तर्फबाट आन्दोलन, बन्द हडताल र मानिसको मृत्यु हुँदासम्म सामान्य औपचारिक रूपमा दुःख व्यक्ति गर्ने, जनतालाई अपिल गर्नेसम्मको काम गरेको छैन । आन्दोलनकारीहरू अझै उग्ररुपमा प्रस्तुत भइरहँदा त्यसलाई न्यूनीकरणको पहल गर्नुपर्ने सरोकारवाला बताउँछन् । 

आन्दोलनरत पक्षमध्येको एउटा प्रमुख घटक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले राज्यले निर्माण गरेको छानबिन समिति वा वार्ता समितिलाई आफूहरू अस्वीकार गर्ने बताउँछन् । ‘सरकारले एउटा सामान्य कर्मचारीको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । त्यो समितिसँग हामी वार्ता गर्दैनौँ,’ लिङ्देनले भने, ‘राजनीतिक व्यक्तिहरूको नेतृत्वमा मात्रै हामी वार्ता गर्छौँ, कि त मन्त्री हुनुपर्‍यो, कि त त्यही हैसियतको समिति सरकारले गठन गर्नुपर्छ ।’

koshi protest (9)

‘प्रदेशले त केही गर्नै सक्दैन, यति निकम्मा छ, माथिको आदेश जे आयो त्यही हुन्छ भने यहाँ हामीले किन वार्ता गर्ने ?,’ उनले भने । 

संघर्ष समितिका अध्यक्ष डकेन्द्र सिं थेगिमले भने वार्ता समिति र छानबिन समितिले गरेका कामहरू आफूहरूले अस्वीकार गर्ने बताए । ‘हामी यो छानबिन समितिलाई अस्वीकार गर्छौँ, सरकारले अराए खटाएको काम गर्ने कर्मचारीले गरेको छानबिन सरकारको अनुकूल नै हुने भयो,’ उनले भने, ‘हाम्रो माग भनेको बहालवाला न्यायाधीश वा पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनु पर्छ भन्ने हो ।’

koshi protest (10)

मुठभेड नरोकिने सङ्केत

गत चैत ५ गते विराटनगरमा केन्द्रित भएको पहिचानवादीको प्रदर्शनमा ठुलो संख्यामा मानिस सहभागी थिए । त्यस क्रममा पनि झडप र मुठभेड भएको थियो । त्यही आन्दोलनमा सहभागी लाजेहाङको मृत्यु भएपछि भने आन्दोलनकारीहरू अझै उग्र भइरहेका छन् । उनीहरूले सरकारलाई घुँडा टेकाएरै छाड्ने बताउँछन् । आन्दोलन र प्रदर्शनका क्रममा लागेका नारा पनि उग्र छन् । कोशी नाममै असन्तुष्टि व्यक्त गर्दै यसखालका आन्दोलन विगत देखि हुँदै आएको छ । प्रदेशसभामा रहेका ठुला राजनीतिक दलहरूले त्यसलाई अन्देखा गरेकै कारण समस्या बढिरहेको छ । 

koshi protest (6)

०६२÷०६३ सालको जनआन्दोलनपछिका केही वर्ष पहिचान पक्षधरहरूले कोशी प्रदेशमा यस्तै आन्दोलन गरिरहेका थिए । उनीहरूको आन्दोलनलाई तत्कालीन सरकारले वार्ता, छलफल र सहमतिमा ल्याएर विषयको टुङ्गो लगाउने जिम्मा संविधानसभालाई दियो । संविधानसभाले पनि नामकरणको विषय टुङ्गो लगाउन नसकेर प्रदेशसभाको जिम्मामा दियो । 

प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा भने नामको विषय प्रवेश नै नपाई टुंगियो । यद्यपि यो अवधिमा पनि पहिचान पक्षधरहरुले छिटपुट आन्दोलन र दबाब दिँदै आएका थिए । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि बनेको दोस्रो प्रदेशसभाको पहिलो अधिवेशनले भने नामकरणको विषय धेरै छलफलमै नल्याई टुङ्गो लगायो । 

त्यही कारण लामो समयदेखि आन्दोलनरत पक्षसँग छलफलसमेत नराखी, आफ्नो भावना विपरीत नाम आएपछि पहिचान पक्षधरहरू आक्रोशित छन् । त्यही आक्रोश अहिले विराटनगरको सडकमा व्यक्त भइरहेको छ । 

koshi protest (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप