शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

मधेस प्रदेश : सांसदको स्वकीय सचिवमा परिवारवाद हाबी

बिहीबार, १६ चैत २०७९, १४ : ३५
बिहीबार, १६ चैत २०७९

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशसभाको पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ मा प्रदेशसभा सदस्यहरूलाई एक जना स्वकीय सचिव नियुक्त गर्ने व्यवस्था गरेको छ । जनतालाई सेवा प्रवाह तथा निर्वाचन क्षेत्रका समस्या र चासोजस्ता विषयमा कानुनका मस्यौदाहरू उपर धारणा बनाउन सहयोगका लागि हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था सरकारले गरेको हो । तर, मधेस प्रदेशसभाका कयौँ सदस्यले यो सुविधाको दुरुपयोग गर्दै आफ्नै परिवारका सदस्यलाई नियुक्त गरेको पाइएको छ ।

सांसदहरूलाई राजपत्राङ्कित तृतीय श्रेणीका एकजना स्वकीय सचिव राख्न दिइएको अधिकारलाई कतिपय सांसदले आफ्नो छोरा, ज्वाइँ, श्रीमान् र श्रीमतीलाई नियुक्त गर्ने गरेको पाइएको छ । अधिकांश सांसदले स्वकीय सचिवका लागि आफ्नो पारिवारिक सदस्यहरूलाई नै उपयुक्त र योग्य ठानेर नियुक्ति गरेका छन् ।

सिरहा ३(ख) बाट निर्वाचित नेकपा एकीकृत समाजवादीका सांसद प्रमोदकुमार यादवले आफ्नो श्रीमती रिता कुमारी यादवलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । धनुषा ४(क) बाट निर्वाचित हरिनारायण महतोले आफ्नै ज्वाइँ शशीकुमार महतोलाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

धनुषाबाट माओवादी केन्द्रकी समानुपातिक सांसद शारदा दास (पहाडी) ले श्रीमान् देवसागर दासलाई स्वकीय सचिव नियुक्त गरेकी छन् । उनीहरूले जनयुद्धकै बेला अन्तरजातीय विवाह गरेका थिए । धनुषा ३(ख) बाट निर्वाचित एमालेका सांसद दीपेन्द्रकुमार ठाकुरले आफ्ना भान्जा श्रीराम ठाकुरलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।

धनुषाबाट नेकपा एकीकृत समाजवादीका समानुपातिक सांसद रत्नेश्वरलाल गोईतले आफ्नो छोरा मुकेश सिंह यादवलाई स्वकीय सचिव बनाएका छन् । त्यस्तै धनुषाबाटै नेकपा एमालेका समानुपातिक सांसद फुलो कुमारी देवीले आफ्नो छोरा अपराजय मण्डललाई स्वकीय सचिवमा नियुक्त गरेकी छन् ।

महोत्तरी २(क) बाट निर्वाचित लोसपाका सांसद जयनुल राईनले आफ्नो भतिजा मो. इब्राहिम रेजालाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । यस्तै रौतहट २(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई मधेस प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री रहेका मोहम्मद जैद आलमले आफ्नो भाई मो. रेजाय आलमलाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट रौतहट २(ख) मा निर्वाचित सांसद कनिश पटेलले आफ्ना भाइ कर्मेश यादवलाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् । पेसाले इन्जिनियर रहेका कर्मेश राजनीतिमा आबद्ध छैनन् ।

सर्लाही ३(क) बाट निर्वाचित सांसद जवाहरलाल कुशवाहाले आफ्नो छोरा अमरेन्द्र कुशवाहालाई स्वकीय सचिव बनाएका छन् ।

त्यस्तै सर्लाही ४(क) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंहले आफ्नो भतिजा सुमित सिंहलाई स्वकीय सचिव नियुक्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट सर्लाही १(क) मा निर्वाचित सांसद उपेन्द्र महतोले आफ्नो भाइ तपेश्वर महतो सुडीलाई स्वकीय सचिव बनाएका छन् ।

सर्लाही २(ख) मा नेपाली कांग्रेसबाट निर्वाचित सांसद कौशल किशोर रायले आफन्त मकसुधन राय यादवलाई स्वकीय सचिव नियुक्त गरेका छन् । त्यस्तै, सप्तरी २(क) बाट निर्वाचित जनमत पार्टीका सतिश कुमार सिंहले आफ्नो काका रबिन कुमार सिंहलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।

सांसदहरूको स्वकीय सचिवले अधिकृत सरहको सेवा सुविधाहरू पाउँछन् । तर, उनीहरूको योग्यताबारे कहीँ कतै उल्लेख गरिएको छैन । ‘स्वकीय सचिव नियुक्त गर्ने अधिकार सम्बन्धित सांसदकै भएको हुँदा हामी केही खोज्दैनौँ,’ मधेस प्रदेशसभाका सचिव रञ्जित यादवले भने, ‘सांसदज्यूहरूले नियुक्ति गरेर हामीलाई पठाउनु हुन्छ । हामी उनीहरूलाई पाउनुपर्ने सेवा सुविधा प्रदान गर्छौँ ।’

संघीय सांसदमा पनि सांसदको स्वकीय सचिवको शैक्षिक योग्यताबारे केही व्यवस्था नरहेको सचिव यादवले बताए । उनले यसअघि लेखापरीक्षण हुँदा महालेखा परीक्षकको कार्यालयबाट आएका लेखापरीक्षकले पनि त्यस विषयमा केही प्रतिक्रिया नदिएको बताए । तर, यस पटक भएको लेखापरीक्षणमा भने यसबारे चासो राखिएको उनको भनाइ छ ।

सचिव यादवले भने, ‘लेखापरीक्षण प्रतिवेदनमा कैफियत लेख्छु भनेर लेखापरीक्षकले भनेका थिए तर अहिलेसम्म अन्तिम प्रतिवेदन आएको छैन ।’ अब कैफियतमा के आउने हो, त्यो हेरेर सांसदहरूसँग छलफल गर्ने उनको भनाइ छ ।

सचिव यादवले छलफल पश्चात् आवश्यकता अनुसार सेवासम्बन्धी बनेको कानुन संशोधनका लागि सांसदहरूलाई सुझाव दिने बताए । स्वकीय सचिवमा पारिवारिक सदस्यहरूलाई राख्न पाउने वा नपाउने भन्नेबारे ऐनमा स्पष्ट व्यवस्था नरहेको उनले जनाए ।

‘मैले पार्टीकै मान्छेलाई स्वकीय सचिवमा नियुक्त गरेको छु, नेकपा एकीकृत समाजवादी पार्टी मधेस प्रदेश दलका नेता गोविन्द बहादुर न्यौपानेले भने, ‘स्वकीय सचिवमा पार्टीकै कार्यकर्तालाई तपाईंहरु पनि नियुक्त गर्नुस् भनेर सुझाव दिएकै छु ।’

सांसदको स्वकीय सचिवमा परिवारवाद हाबी हुन नहुने उनको भनाइ छ । उनले भने, प्रदेशमा हाम्रो पार्टीका मजस्ता सात जना सांसदज्यूहरू हुनुहुन्छ, सबैको बारेमा बुझ्न पनि गएको छैन । तर, यस्तो नहुनुपर्ने हो । यस्तो गर्नुभएको साथीहरूसँग म कुरा गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप