मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

आन्दोलन र घेराउको त्रासले कोशी प्रदेशसभा बैठक अनिश्चित

बिहीबार, १६ चैत २०७९, १५ : ०३
बिहीबार, १६ चैत २०७९

विराटनगर । एक महिना अगाडि स्थगित भएको कोशी प्रदेशसभाको बैठक अब कहिले बस्छ भन्ने अनिश्चित बनेको छ । गत फागुन १७ गते प्रदेशसभाबाट कोशी प्रदेश नामकरण भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । नामको विषयलाई लिएर त्यसयता पहिचानवादी संघ संगठनहरूले तीब्र प्रदर्शन, आन्दोलन र असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यतिमात्रै होइन, उनीहरुले सांसद तथा मन्त्रीहरुलाई घेराउ पनि गर्दै आएका छन् । यही घेराउ हुने त्रासले बैठक बस्न नसकेको एक सांसद बताउँछन् ।

‘कतिखेर कहाँ घेराउमा पर्ने हो भन्ने टुङ्गो छैन, अनि बैठक राखेर के गर्नु ?,’ उनले भने ।

प्रदेशसभाका सभामुख बाबुराम गौतम पनि यस्तै आशय प्रकट गर्दछन् । प्रदेशसभाको बैठक बस्न नसक्नुमा पहिचानवादीको आन्दोलन पनि एक कारण रहेको उनले घुमाउरो पाराले स्वीकार गरे । ‘प्रदेशसभाले नामकरणको विषय टुङ्गोमा पु¥याउनै पर्थ्यो । हामीले त्यो दायित्व पूरा ग¥यौं । त्यही कारण एउटा समुदायले चित्त दुखाएको, विरोध जनाएको अवस्था छ । त्यो विषयलाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन,’ सभामुख गौतमले भने, ‘हामीले उहाँहरुसँग छलफल गर्ने, संवादमा ल्याउने र वार्ता र संवादबाटै समस्याको समाधान गर्ने प्रयास गर्नुपर्छ । त्यसकारण केही समय यही विषयलाई हेरेर पनि बैठक नराखेका हौं ।’

उनले पहिचानको आन्दोलन मत्थर भएसँगै प्रदेशसभाको बैठक राख्ने संकेत गरे । ‘तत्काल सरकारले कुनै बिजनेस नल्याएको अवस्था र आन्दोलनको विषय पनि सँगसँगै भएको हुनाले यसको पनि निकास आओस् भनेर केही समय हेर्न खोजेका हौं,’ उनले भने ।

सभामुख गौतमले अहिले भइरहेको आन्दोलनलाई राजनीतिक नेतृत्वले नै समाधान गर्नुपर्ने पनि बताए । ‘प्रदेशसभामा आएको प्रस्तावमध्येबाट छलफल गरेर त्यहाँको लोकतान्त्रिक विधि प्रयोग गरेरै कोशी पारित भएको हो । प्रदेशसभाले राजनीतिक गतिविधिलाई वार्ता गर्ने, संवाद गर्ने गर्दैन । त्यसको स्वाभाविक दायित्व प्रदेश सरकारले लिनुपर्छ,’ गौतमले भने, ‘सरकारले केही पहल पनि गरिरहेको होला । वार्ताका लागि पनि बोलाएको होला र सरकारले यसलाई चाँडै निकास दिन्छ होला भन्ने मलाई आशा छ ।’

गत चैत ५ गतेको प्रदर्शनमा सहभागी पदम लिम्बूको मृत्युपछि आन्दोलनकारी अझ आक्रोसित भएका छन् । मंगलबार पनि सांसदहरु सहभागी कार्यक्रमलाई घेराउ गर्न विराटनगरको होटल बिग अगाडि पुगेका प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा १९ जना घाइते भए । पहिचानवादीहरुको बैठकले पनि आगामी चैत २५ गतेदेखि विराटनगरमा निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसबिचको समयमा भने सांसद, मन्त्रीहरुलाई घेराउ गर्ने लगायतका कार्यक्रम तय गरेको संघर्ष समितिका नेता अर्जुन जम्नेली राईले बताए ।

‘२०७९ चैत १७ देखि २५ गतेसम्म एसईई परीक्षालाई ध्यानमा राखी तालाबन्दी र ठूलो विरोध जुलुस र सभाहरू स्थगित गर्ने । तर सो समयमा नियमित आन्दोलनका कार्यक्रमहरु जारी राख्ने निर्णय भएको छ,’ उनले भने, ‘सांसद अवरोध र बहिष्कारलाई जारी राख्ने निर्णय पनि गरेका छौं ।’

समय र परिस्थिति विश्लेषण गरेर चैत २५ गतेपछि विराटनगर केन्द्रित निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको पनि उनले जानकारी दिए ।

गत चैत १० मा मृत्यु भएका पदम लिम्बू लाजेहाङको शव भने अस्पतालबाट अझै उठ्न सकेको छैन । लिम्बूको मृत्यु भएलगत्तै संघीय सरकारले गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन तथा वार्ता समिति गठन गरेको थियो । छानबिन समितिका संयोजक सुवेदीका अनुसार समितिले काम थालिसकेको छ । तर, लाजेहाङको मृत्युको छानबिनका लागि पोष्टमार्टम रिपोर्ट आवश्यक पर्छ ।

पहिचानवादीले उनको पोष्टमार्टम गर्नै नदिने अडान राखेका छन् । जसले गर्दा छानबिन समितिले काम गरेर फाइनल रिपोर्ट दिन ढिलाई हुने भएको छ ।

कोशी प्रदेश नामङ्कन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते बेलबारी–२ का पदम लिम्बू लाजेहाङको चैत १० गते मृत्यु भएको थियो । टाउकोमा चोट लागेका उनी ८ गते राति अचानक बेहोस भएपछि उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर, उनको १० गते बिहीबार राति मृत्यु भयो । विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लिम्बूको टाउकोमा लाठी प्रहार भएको थियो । त्यही कारण लिम्बूको मृत्यु भएको आन्दोलनकारीको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप