शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

अघिल्लो चुनाव हारेका तीन जना बारा–२ मा भिड्दै, स्वतन्त्रको मत कसलाई ?

बिहीबार, १६ चैत २०७९, २० : ४१
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । बारा–२ मा हुन गइरहेको उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । अहिलेसम्मको अवस्था हेर्दा बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेपालका वरिष्ठ नेता राजेन्द्र महतो र माओवादी केन्द्र छाडेर हालै जनमत पार्टीमा गएका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यद्यपि यी तीन दल सत्ता गठबन्धनकै घटक हुन् । गठबन्धनमा रहेका अन्य दलहरुले यीमध्ये कसलाई समर्थन गर्ने भन्ने हालसम्म खुलेको छैन । कांग्रेस र माओवादीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने संकेत गरेका छन् । त्यही संकेत पाएर माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवारीको घोषणा गरिसकेका छन् ।

अहिलेसम्म उम्मेदवारीका रुपमा चर्चामा आएका यी तीनै जना विगतको चुनावमा पराजित भएका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । यस्तै, लोसपाका वरिष्ठ नेता महतो सर्लाही–२ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवसँग र जनमतका नेता कुशवाहा बारा–२ बाट जसपाका रामहाय यादवसँग  पराजित भएका हुन् । यी तीनै पुनः उपनिर्वाचनमा भाग लिन लागेका हुन् ।

सो क्षेत्रमा मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि २१ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये १२ जना स्वतन्त्र उम्मेदवार थिए । तीमध्येका स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ११ हजार ४३ मत ल्याएर तेस्रो स्थान ल्याएका थिए । उनी जसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी हाल जसपामा फर्किसकेका छन् ।

त्यसबाहेक अन्य स्वतन्त्र मत कता जान्छ भनेर कसैले ठम्याउन सकेको छैन । बारा–२ मा एक लाख पाँच हजार ११ जना मतदाता छन् । त्यसमध्ये स्वतन्त्र उम्मेदवारहरुले मात्र ३१ हजार ८७७ मत ल्याएका छन् । यो मत नै जित तथा हारका लागि निर्णायक हुने देखिन्छ ।

जसपा मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले स्वतन्त्र उम्मेदवार बनेर तेस्रो स्थान ल्याएका रामकिशोर यादव आफूहरुको पार्टीमा आइसकेकाले अवस्था थप सुदृढ बनेको बताए । अन्य स्वतन्त्र उम्मेदवारहरु पनि जसपाकै सम्पर्कमा रहेको र छलफल भइरहेको उनको भनाइ छ । उनले विगतमा स्वतन्त्र उम्मेदवारी दिएका अधिकांशको मत जसपालाई आउने बताए ।

जम्मा खसेको मतमध्ये १३ हजार ८२२ मत ल्याएर जसपा–एमाले गठबन्धनबाट रामसहाय यादव (जसपा) विजयी भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएसँगै बारा–२ मा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको हो ।

दोस्रो स्थान रहेका माओवादी–कांग्रेस–लोसपालगायत पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कुशवाहा (माओवादी)ले १३ हजार ४६८ मत ल्याएका थिए ।

तेस्रो स्थान जसपाबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर यादवले ११ हजार ४३ मत ल्याएका थिए । छैटौं स्थानमा रहेका जनमत पार्टीका राजेश साहले दुई हजार ७२५ मत ल्याएका थिए । राप्रपाका सोनालाल प्रसाद साह तेलीले ४५९ मत ल्याएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप