शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने–नदिनेबारे कांग्रेस औपचारिक निर्णय गर्दै, एमाले अझै अनिर्णीत

शुक्रबार, १७ चैत २०७९, १० : १४
शुक्रबार, १७ चैत २०७९

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज संसद्बाट विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट शर्माले विश्वासको मत लिने तयारी गरिरहेका छन् । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले आजको बैठकको कार्यतालिका १ बजे बस्ने सर्वदलीय बैठकपछि मात्रै बन्ने बताए । 

यद्यपि नेपाली कांग्रेस र नेपा एमालेले अहिलेसम्म मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने÷ नदिने भन्ने विषयमा औपचारिक निर्णय गर्न सकिरहेका छैनन् । तर अन्तिम निर्णय गर्ने उद्देश्यसहित दुवै दलहरूले दलको बैठक बस्ने तयारी थालिरहेका छन् । नेपाली कांग्रेसले प्रदेश कार्यसम्पादन समितिको बैठक चलिरहेको कांग्रेस सांसद घनश्याम भण्डारीले रातोपाटीलाई जानकारी दिए । त्यसपछि दलको बैठक बसेर सरकारलाई विश्वासको मत दिने÷नदिनेबारे औपचारिक निर्णय गर्ने उनले बताए । 

यता सरकारमा रहेको एमाले भने यति बेलासम्म ‘पर्ख र हेर’ को अवस्थामा छ । सामाजिक विकास मन्त्री समेत रहेको एमाले सांसद टेकराज पछाईले अहिलेसम्म कुनै निर्णय नभएको र दिउँसो बस्ने दलको बैठकले नै औपचारिक निर्णय गर्ने रातोपाटीलाई जानकारी दिए । ‘मुख्यमन्त्री ज्यूले अनौपचारिक रूपमा हामीसँग विश्वासको मत माग्नु भएको छ तर दलको नेताहरूसँग औपचारिक रूपमा कुनै कुराकानी नभएको कुरा छ,’ उनले थपे,‘ अहिलेसम्म दलभित्र पनि कुनै छलफल भएको छैन । पछि दलको बैठक बसेर नै निर्णय हुन्छ ।’ 

कांग्रेसले औपचारिक निर्णयका लागि छलफल चलाइरहे पनि एमालेले भने अहिलेसम्म दलको बैठक समेत तोकेको छैन । नेतृत्वमा रहेको माओवादीले एमालेसँग कुनै छलफल नगरेको भनिए पनि कांग्रेसँग भने वृहत् छलफल गरेको छ । बिहीबार बेलुकी ६ बजेपछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री शर्माबिच वृहत् छलफल भएको माओवादीका एक नेताले रातोपाटीलाई जानकारी दिए ।

स्रोतका अनुसार कर्णालीमा सकेसम्म कांग्रेसले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने संकेत देखाएको छ । माओवादी संसदीय दलका सचेतक रणसिंह परियार भन्छन्,‘ मत चाँहि दुवै दलसँग मागिएको छ, एमालेले विश्वासको मत दिने- नदिने कुरा त उ आफै सरकारमा छ ।’ 

माओवादीले पनि संसदीय दलको बैठक ११ बजे बोलाएको छ ।सकेसम्म एमाले सरकारबाहिर जान चाहिरहेको छैन । माओवादीले समेत सरकार छाड्नुस् भन्ने आँट गरिरहेको छैन । तर राष्ट्रिय राजनीतिकमा कांग्रेससहित समीकरण बनेर सरकार बनिसकेकाले प्रदेशमा छुट्टै नहुने माओवादीका प्रदेश इन्चार्ज मल्लको भनाइ छ । यद्यपि कांग्रेस संसदीय दलका नेता शाहीले पनि सरकारको नेतृत्वमा आफ्नो दाबी रहेको बताउँदै आएका छन् ।

कर्णालीमा तिन ठुला दल जता मिले पनि सहजै सरकार बन्छ । नेपाली कांग्रेससँग १४, माओवादीसँग १३ र एमालेसँग १० (सभामुखसहित), राप्रपा, समाजवादीको १-१ र एक जना स्वतन्त्र सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप