मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म मन्त्रीको यात्रा

शुक्रबार, १७ चैत २०७९, १७ : २०
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । २०४३ मा मरिचमान सिंह प्रधानमन्त्री भएको बेलादेखि मन्त्री हुँदै आएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता १९ औं पटक मन्त्री भएका छन् । लोसपाको तर्फबाट उनले श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रीमा सपथ लिएका छन् ।  २०३८ मा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी पटक पटक चुनाव जित्दै मन्त्री हुँदै आए । २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका भण्डारी बहुदल आएपछि नेपाली कांग्रेसमा आबद्ध भएका थिए । 

२०६२/२०६३ को आन्दोलनपछि बनेको अन्तरिम संसदमा कांग्रेसबाट सांसद रहेकै बेला उनी कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए । भण्डारीले मधेश आन्दोलनपछि भएको पहिलो संविधानसभा चुनावमा महोत्तरीबाट चुनाव जितेका थिए ।  तत्कालीन मधेशी जनअधिकार फोरमबाट अलग भएर विजयकुमार गच्छदारले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्दा  भण्डारीले पनि साथ दिएका थिए । पछि डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी रक्षा मन्त्री बने । 

रक्षामन्त्री रहेकै बेला विवादास्पद अभिव्यक्ति दिएका कारण उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । २०६४ साल फागुन १६ गते नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको ८ बुँदे सम्झौताअनुसार नेपाली सेनामा मधेसी समूदायको समूहगत प्रवेशको विषय उठाउँदा उनी विवादमा मुछिएका थिए । त्यसबेला मधेशी समुदायमाथिको विभेद अन्त्य नभए देशसमेत विखण्डन हुन सक्ने अभिव्यक्ति दिएपछि उनलाई बर्खास्त गरिएको थियो ।

उनले त्यतिबेला भनेका थिए–‘राजतन्त्र समाप्त गर्न सकिन्छ भनेर कुन संविधान, कानुनमा लेखिएको थियो ? तर जनताले रुचाएनन् र फालिदिए । तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन । मधेसका जनताको भावना राष्ट्रले बुझ्न नसके नेपालबाट २२ जिल्ला टुक्रिन पुग्छन् । २२ जिल्लाका मधेसीलाई हेपेर, पेलेर पन्छाउनुभन्दा सम्मान दिएर भावनात्मक रूपमा एकता कायम गरि राष्ट्रिय एकता र अखण्डता बलियो पार्नुपर्छ ।’ 

सो राजीनामा प्रकरणमा गच्छदारले साथ नदिएको भन्दै असन्तुष्ट रहेका भण्डारीले त्यसपछि छुट्टै समूह बनाएर तराई मधेसमा जनजागरण अभियान थालेका थिए । त्यसलगत्तै उनले राष्ट्रिय मधेस समाजवादी पार्टी नै गठन गरे । केही समय आफ्नै नेतृत्वको पार्टी चलाए ।  २०७० को चुनावमा दुईवटा क्षेत्रबाट चुनाव लडेका उनले दुवै ठाउँबाट चुनाव हारे । चुनावको केही समयपछि विभिन्न ६ वटा दलहरु मिलेर राजपा नेपाल निर्माण भयो । राजपामा भण्डारी नेतृत्वको दल पनि समावेश भयो ।

उनी राजपाका अध्यक्ष मण्डलका सदस्य भए । २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा उनले महोत्तरी १ बाट चुनाव जितेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी १८ दिनका लागि उर्जा मन्त्री भएका थिए ।  २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा उनी पुनः सोही क्षेत्रबाट निर्वाचित भए । र अहिले लोसपाबाट श्रममन्त्रीमा नियुक्त भएका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप