सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
जीवन शैली

‘भाइरल सडक’ले दिएको दोहोरो खुसी

शनिबार, १८ चैत २०७९, ०६ : ५६
शनिबार, १८ चैत २०७९

दाङ । घना जंगल, जंगल बिचको सडक छेउमा भुइँमा बिछ्याएको बोरामाथि दुईचार पोका चाउचाउ, भुजा, दालमोट, एक कार्टुन जति पानी, दुईचार बटा बटुकामा हरियो खुर्सानी, हरियो धनियाँ र उसिुनेको आलु देखिन्छ । गुलाबी दुपट्टाले टाउको छोपेकी घोराही उपमहानगरपालिका–१२, कलमघारीकी सीता बस्नेत छेउको रातो प्लास्टिकको बाटामा चटपटे बनाउने सुरसारमा छिन् ।  

माध्याह्नको समय घाम चर्किएको छ । सडकमा मान्छेको चहलपहल त्यत्ति देखिँदैन । तर धेरथोर मान्छे घुम्न आउछन् कि भन्ने आश बस्नेतलाई छ । ४६ वर्ष पुगेकी बस्नेत घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारका लागि देशका विभिन्न सहर र गाउँमा मजदुरीका लागि नपुगेकी होइनन् । तर घर छेउ कच्ची सडक ‘भाईरल रोड’ बनेपछि उनलाई मजदुरीका लागि घर छोड्नुपर्ने बाध्यता टरेको छ ।

उनी त्यही सडकमा पानीपुरी, चटपटे, चाउचाउ र पानी बेचेर घरको गर्जाे टार्दै आइरहेकी छन् । उनले भनिन्, ‘सडक बनेपछि यहीँ भुइँमा चटपटेको दोकान थापेँ, मजदुरीका लागि घर छोड्नुपर्ने बाध्यता टरेको छ ।’

घोराही–हापुर–संक्राम–तुलसीपुर रक्षाचौर आँखा अस्पतालको सडक घोराही–तुलसीपुर जोड्ने वैकल्पिक मार्ग हो । जसको निर्माणको काम आधा सकिएको छ । उक्त सडकलाई अहिले ‘भाइरल रोड’ भन्ने गरिन्छ । जसले घोराही– तुलसीपुरलाई वैकल्पिक मार्गका रुपमा जोड्नेमात्रै होइन, ग्रामीण बस्तीको जीवनस्तर सुधार्नसमेत सहयोग पु¥याएको छ ।

बस्नेतले भनिन्, ‘यो सडक नबनेको भए म अहिले घरमा बस्न कहाँ पाउँथे र ? सडकले गाउँको मात्रै होइन, विपन्न गरिब, किसानको अवस्थासमेत फेरेको छ ।’

भाइरल सडकमा मानिसहरुको चहलपहल बढेसँगै सडक छेउ बसेर गरेको व्यापारले एक छोरा र श्रीमान सहितको ३ जनाको परिवारलाई साँझबिहान दुई छाकको जोहो गज्जबले टरेको उनले सुनाइन् ।

उनीमात्रै होइन, त्यही जंगलबिचको भाइरल रोडमा कोहलपुर निवासी ६८ वर्षीय अमर बहादुर खड्काले पनि व्यापार सुरु गरेका छन् । आफन्त भेटघाटका लागि दाङ आएका खड्का त्यही सडक छेउमा चटपटे व्यापार गरी बसिरहेका छन् ।

viral sadak2

उनले भने, ‘भाइरल रोडमा घुम्न आउनेहरुको भिड लागेपछि व्यापार सुरु गरेको हँ' ।’ व्यापारबाट राम्रै आम्दानी भएको उनले सुनाए ।

घना जंगलमा कालोपत्रे सडक पुगेपछि फोटो खिच्न, टिकटक बनाउन आउनेहरुको भिड लागेपछि धेरैले सडक छेउमा यस्ता पसल थाप्न थालेका छन् । सडक छेउमा थापिएका पसलले आन्तरिक पर्यटकलाई खाजापानीको सुविधासमेत थपिदिएको छ । जसले गर्दा एकातिर आन्तरिक पर्यटकको भिड पनि बढ्दै गएको छ भने अर्कोतिर व्यापार पनि बढ्दै जान थालेको छ ।

भाइरल रोडले दुईचार जना सडक व्यापारीहरुको मात्रै होइन, सडक अभावको मार खेपेका घोराही उपमहानगरपालिका वडा नं. ११ र १२ ग्रामीण बस्तीको मुहार नै फेरेको स्थानीयहरुको भनाइ छ । घोराही बजारदेखि नजिकै रहेका ती वडा सडक पूर्वाधार विकास अभावका कारण पिछडिएका थिए । घोराही–हापुर–तुलसीपुर रक्षाचौर सडक निर्माणसँगै ग्रामीण बस्तीका किसान, मजदुरहरुको अवस्था फेरिदिएको घोराही उपमहानगरपालिका– १३ निवासी केशव गिरीले बताए ।

उनले भने, ‘थोरै नुनतेल किन्न घण्टौं पैदल हिँडेर घोराही आउनुपर्ने बाध्यता थियो । अहिले त्यो छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप