सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ट अनुसन्धान केन्द्र बन्न सकोस् : प्रधानमन्त्री

आइतबार, १९ चैत २०७९, १५ : १५
आइतबार, १९ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ट अध्ययन अनुसन्धानको केन्द्र बन्न सक्नुपर्ने बताएका छन् । आइतबार विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एव विश्वविद्यालयका कुलपति समेत रहेका प्रचण्डले मुलुकका सामू जनताको बलिदानबाट निर्मित संविधानको सफल कार्यान्वयन गर्दै देशको समुन्नति, समृद्धि एवम् विकासका साथै नेपाली जनताको जीवनस्तर माथि उठाउन आइपर्ने हरेक प्रकारका कठिनाई र व्यवधानहरूको सामना गर्दै अगाडि बढ्ने चुनौतीहरु कायमै रहेको बताए ।

‘यस यात्रामा विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकता एवं अन्तर्राष्ट्रिय श्रमबजार समेतलाई ध्यानमा राखेर हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यसक्रममा प्रधानमन्त्रीले पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानूनको क्षेत्रमा राष्ट्रको आवश्यकता र अन्तर्राष्ट्रिय मागसमेत सम्बोधन हुने हिसाबले दक्ष जनशक्तिको उत्पादनमा ध्यान केन्द्रित गर्दै गइरहेको थाहा पाउँदा आफुलाई खुशी लागेको पनि बताए । 

सम्बोधनका क्रममा प्रधानमन्त्रीले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले आफ्नो अध्यापन, अध्ययन र अनुसन्धानको दायरालाई अझ ब्यापक बनाएर मानवजाति र सम्पूर्ण प्राणी जगतको सुरक्षा र सम्वर्द्धन गर्दै गरिने दिगो विकासका मोडलहरुको खोजी गर्नु आवश्यक रहेको बताए ।  उनले प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहने भएकाले हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बन्न सक्ने गरी तयार गर्नुका साथै  खोज, अनुसन्धान र आविष्कार एवं नवप्रवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिए । 

‘२१औँ शताब्दीमा हाम्रा आवश्यकता परिपूर्तिका लागि उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै वैकल्पिक साधन र स्रोतहरूको खोजी गर्न विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्दै लैजानु आवश्यक छ’, प्रधानमन्त्रीले भने, ‘लोकतान्त्रिक मूल्य–मान्यता र संस्कारका साथै लोककल्याणकारी राज्यको मर्म र भावनाअनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सम्बन्ध विस्तारमा भूमिका निर्वाह गर्नसक्ने जनशक्तिको उत्पादनमा समेत विश्वविद्यालयहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने मलाई लागेको छ ।’

साथै प्रधानमन्त्रीले अथाह सम्भावनाले भरिएको कोशी प्रदेशमा स्थापित पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ट अध्ययन, अनुसन्धानको केन्द्र बन्न सकोस् भन्ने आफ्नोे चाहना रहेको बताए । समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा पर्न सक्ने बाधा–अड्चन र कानूनी तथा नीतिगत समस्याहरूको समाधानका लागि नेपाल सरकारका तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रधानमन्त्रीको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप