शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

रविको प्रस्टोक्ति : पीआर त्यागेको ९० दिनपछि उम्मेदवारी दिन पाइन्छ !

‘उपनिर्वाचनको दुःखका लागि मेरो भागको जिम्मेवारी लिन तयार छु’
सोमबार, २० चैत २०७९, ११ : २४
सोमबार, २० चैत २०७९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू आगामी उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्न योग्य रहेको दाबी गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस विषयलाई अदालतको फैसला र फैसलाको पूर्णपाठले स्पष्ट पारिसकेको बताएका हुन् ।

नागरिकता पुनः प्राप्ति गरेको ९० दिन नपुगेकाले लामिछाने उम्मेदवार बन्न योग्य नरहेको बहस यतिबेला चलिरहेको छ । कानुनबमोजिम अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्नेमा लामिछानेले त्यो प्रक्रिया पूरा नगरी पुरानो नागरिकता प्रयोग गर्दै आएका थिए । अदालतले लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी पदमुक्त हुने फैसला गरेको थियो । त्यसपछि नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर गत माघ १५ गते उनले नागरिता पुन: प्राप्त गरेका थिए । तर लामिछानेले भने, ‘नागरिकता पुनः प्राप्तिको ९० दिन होइन, पीआर त्यागेको ९० दिनको समयसीमा हो । मैले सन् २०१८ मा नै पीआर त्यागेको हुँ ।’

पासपोर्टसम्बन्धी मुद्दामा अदालतमा रिट पुगेको बारे जवाफ दिँदै उनले जो कसैलाई पनि उजुरी हाल्न छुट रहेको र आफू त्यसलाई सामना गर्न तयार रहेको जिकिर गरे । उनले भने, ‘तर अपराध कत्रो हो भन्नेमा विवेक प्रयोग गर्नुपर्छ । सरकारी कार्यालयका कर्मचारीले कार्यालयको कलम लिएर छोराछोरीलाई लेख्न दिन्छन् । कलमको मूल्यलाई बेवास्ता गर्ने हो भने त्यो सरकारी सम्पत्तिको दुरुपयोग हो । यसमा दुरुपयोग भन्दै मुद्दा हाल्ने हो भने प्रत्येक कर्मचारीलाई मुद्दा हाल्न सकिन्छ ।’

आफूले न्यायिक प्रक्रियालाई कहिल्यै नजरअन्दाज नगरेको बताउँदै आफू फेरि कठघरामा उभिन तयार रहेको बताए ।

न्यायालय र न्यायिक प्रक्रियामा आफूलाई विश्वास रहेको उनको भनाई थियो । ‘यदि देशका लागि घाँडो नै भएको भए मारे भइहाल्यो,’ उनले थपे ।

‘आफ्नो त्रुटिका कारण चितवनका जनताले फेरि दुःख पाएको जिम्मा लिनुहुन्छ कि हुँदैन ?’ भन्ने पत्रकारको प्रश्नमा लामिछानेले भने, ‘कसै न कसैले लिनुपर्ला । मेरो भागको कति हो भनेर बताइदियो भने मेरो भागको म लिन तयार छु । मानवीय त्रुटि नहुने भन्ने होइन । हरेक मान्छेका हुन्छन् । म सर्वज्ञ छैन, केही अनभिज्ञताहरू छन् ।’

उनले यस प्रकरणमा कोही भिक्टम नभएको र कसैलाई असर नपरेको हुँदा यो सामान्य प्रक्रियागत त्रुटि मात्र भएको भन्दै आफ्नो बचाउ गरे । उनले अब कानुनको अस्पष्टता चिर्दै जाने भूमिका आफूले खेल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप