शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अमृत साइन्स क्याम्पसको स्ववियु सभापतिमा ५ जनाबीच भिडन्त

अमृतलाई नमुना क्याम्पस बनाउने उम्मेदवारहरूको दाबी
सोमबार, २० चैत २०७९, १४ : ०१
सोमबार, २० चैत २०७९

काठमाडौँ । राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा २४ चैतमा स्ववियु निर्वाचन हुँदै छ । अमृतमा चैत ५ गते र १८ चैत गरेर दुई पटक निर्वाचन स्थगित भएको थियो । यो पटक भने सबै विद्यार्थी संगठनहरू सहमतिको आधारमा अगाडि बढिरहेका छन् ।  निर्वाचन समितिले समेत निर्वाचन प्रक्रिया अगाडि बढाइसकेको छ । 

स्ववियु सभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियुबाट कमल जोशी प्यानलसहित उम्मेदवार बनेका छन् । त्यस्तै नेविसंघबाट ॐ श्री रिजाल (दाह्री), अखिल क्रान्तिकारीबाट प्रेम जैसी (मामा प्रेम), नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट मनिष गोरा र स्वतन्त्रबाट लक्ष्मण सिंह धामी (एलएस) उम्मेदवार छन् । 

क्रान्तिकारीबाट उम्मेदवार बनेका जैशीलाई राप्रपाको विद्यार्थी संगठन र नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनको समर्थन रहेको छ । उम्मेदवारहरूले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् । उनीहरूले विद्यार्थीमाझ आफ्ना एजेन्डा सार्वजनिक गर्ने, उनीहरूका समस्या सुन्ने जस्ता काम गर्दै आएका छन् । 

अखिल क्रान्तिकारीको तालाबन्दीका कारण यसअघि निर्वाचन हुन सकेको थिएन । क्याम्पस प्रशासन र क्रान्तिकारीबीच सहमति भएपछि तालाबन्दी खुलेको थियो । तालाबन्दी खुलेपछि निर्वाचन वातावरण बनेको हो । 

अनेरास्ववियुबाट सभापति पदका उम्मेदवार कमल जोशीले विभिन्न एजेन्डाहरू अघि सारेका छन् । अनेरास्ववियु र अस्कल नाम एक अर्काको पर्याय भएको बताउँदै उनले अग्रजले बगाएको खुन, पसिनाको कदर गर्दै अमृत प्रधानले देखेको सपना पुरा गर्ने प्रतिबद्धता जनाए । 

नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवार रिजालले अमृत क्याम्पसमा विद्यमान सबै प्रकारका अनियमितता र विकृतिहरू विरुद्ध आफ्नो आवाज बुलन्द गर्दै हरेक शैक्षिक आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए । नेविसंघले १२ वटा प्रतिबद्धताहरू अघि सारेको छ । विद्यार्थीहरूलाई छात्रवृत्ति को व्यवस्था गर्नको लागि अक्षयकोषको व्यवस्था गर्नेदेखि लिएर प्राध्यापकहरूले आफ्ना रिसर्च विद्यार्थीहरूलाई रिसर्च अनुदान दिन सक्ने गरी कोषको व्यवस्था गर्ने सम्मका रहेका छन् । 

त्यस्तै अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवार बनेका प्रेम जैसी (मामा प्रेम) ले विद्यार्थीका मुद्दा आफूले हिजोदेखि नै बोक्दै आएकाले आफू जित्ने दाबी गरे । 

विद्यार्थी माझ रहेर विद्यार्थीका समस्या बुझेको र तिनै समस्या समाधानका लागि आफू चुनावी मैदानमा रहेको उनको भनाइ छ । विद्यार्थीहरूका शैक्षिक मुद्दालाई आफ्नो आवाज बनाएर समस्या समाधान गर्ने मूल एजेन्डा रहेको उनको भनाइ छ । 

त्यस्तै नेपाल क्रान्तिकारी विद्यार्थी संघ (नेक्राविसंघ) बाट उम्मेदवार बनेका मनिष गोराले उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाको लागि आफ्नो विजयी हुनुपर्ने बताएको छ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद सामु आत्मसमर्पण गर्ने शासक दलहरूविरूद्ध नेक्राविसंघलाई मतदान गर्नुपर्ने उनको भनाइ छ । 

स्वतन्त्र रूपमा उठेका लक्ष्मण धामी विभिन्न सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएका छन् । क्याम्पसभित्रको विकृति र बेथितिका विरुद्ध लड्दै आएका धामीले संगठनहरूले काम नगरेपछि आफू बाध्य भएर उठ्न खोजेको बताए । उनले विद्यार्थी संगठनहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएर क्याम्पसमा सधै आन्दोलन गर्ने र त्यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको पढाईमा पर्ने गरेको बताए । 

‘संगठनहरूले प्रतिष्ठाको विषय बनाएर माग राख्दै तालाबन्दी गर्ने, विरोध प्रदर्शन गर्ने, क्याम्पसलाई काम गर्न नदिने जस्ता हरकत गर्दै आएका छन् । यसका विरुद्ध पनि मेरो उम्मेदवारी हो,’ उनले भने । अधिकांश विद्यार्थीहरूले विद्यार्थी संगठनहरूको विकल्प खोजेको उनको भनाइ छ । अमृत क्याम्पसमा देखिएका विद्यमान समस्या समाधान गर्दै क्याम्पसलाई उत्कृष्ट बनाएर अघि बढ्ने उनको प्रतिबद्धता छ । 

सबै उम्मेदवारहरूले आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । आफ्ना एजेन्डा क्याम्पसभित्रको विकृति र विसङ्गतिका विरुद्ध रहेको उनीहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप