बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सरकार

मन्त्रिपरिषद् विस्तारपछिको व्यस्त सिंहदरबार

मन्त्रीहरूलाई विभागीय प्रमुखको ‘ब्रिफिङ’ सुन्न र कार्यकर्ताको बधाई थाप्न भ्याई नभ्याई
सोमबार, २० चैत २०७९, २० : ४०
सोमबार, २० चैत २०७९

काठमाडौँ । सोमबार बिहान सिंहदरबार पुग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका प्रकाश ज्वाला बिहानैदेखि कार्यकक्षमा भेटिए । उनी मन्त्रालय अन्तर्गतको विभिन्न महाशाखा प्रमुखहरूको ‘ब्रिफिङ’ सुन्नमा व्यस्त देखिए । 

बिहान साढे १० बजे आफ्नो कार्यालय छिरेका ज्वालाले ब्रिफिङ सुनिसक्दा अपराह्न दुई नै बजिसकेको थियो । ब्रिफिङको बीचबीचमा उनी कोठाबाट बाहिरिँदै पार्टीसम्बद्ध नेता तथा कार्यकर्ताको बधाई पनि थापिरहेका थिए । खादा, माला र मिठाई लिएर पुगेका नेता तथा कार्यकर्ताले ज्वालालाई भन्थे, ‘मन्त्रीज्यू, हजुरको कार्यकाल सफल रहोस् । हजुरको कार्यकालमा आशालाग्दो काम होस् ।’ जवाफमा ज्वालाले ‘हस्, हुन्छ र धन्यवाद’ मात्रै फर्काइरहे । 

01-338704265_2101643163378799_1137140707290923984_n

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत पनि बिहानैदेखि बधाई थाप्न व्यस्त देखिन्थे । माओवादीका जाजरकोट देखिएका नेता तथा कार्यकर्ताहरू बस्नेतलाई भेट्न लामबद्ध देखिन्थे । उनले मन्त्रालयको अन्तर्गत महाशाखा प्रमुख र विभागीय प्रमुखहरूको ब्रिफिङ लिइसकेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा भ्रमणको तयारी गरिरहेका बेला ऊर्जा मन्त्रालय यतिबेला विद्युत् व्यापार सम्झौता र भारतीय लगानीमा निर्माण हुने जलविद्युत सम्झौताका लागि ड्राफ्टको बनाउने तयारीमा व्यस्त छ । बस्नेत अपराह्न विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा निरीक्षणमा पुगेका थिए । 

02-338728514_1725025227964930_8270655555917630269_n

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी लामो समयपछि मन्त्री बने । अहिलेको मन्त्रिपरिषद्मा सबैभन्दा धेरै मन्त्री बन्ने भाग्यशाली पात्र पनि भण्डारी नै हुन् । उनलाई भेट्न आइतबारदेखि नै पार्टीका नेता, कार्यकर्ता देखि साथीहरू मन्त्रालयमा आउजाउ गरिरहेका छन् । सोमबार पनि उनी कार्यकर्ता भेटघाटसँगै मन्त्रालयबाट हुने कार्यसम्पादनका विषयमा सचिव एकनारायण अर्यालसँग ब्रिफिङ लिनमा व्यस्त थिए । 

10-337915796_935958807546514_102878084692531930_n

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महत आइतबारदेखि नै बधाई साट्न व्यस्त थिए। पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको बधाईको ओइरो लागेको थियो । 

भौतिकबाट गृहमा पुगेका गृहमन्त्री श्रेष्ठलाई ‘बाजी मार्नुभयो कमरेड बधाई छ’ भन्दै कार्यकर्ता सोमबार बिहान मन्त्रालय पुगेका थिए । श्रेष्ठ सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेका थिए । उनले गृह मन्त्रालय अन्तर्गतका महाशाखाको ब्रिफिङ सुन्दैछन् । सोमबार अध्यागमन पुगेर निरीक्षणसमेत गरेका छन् । 

07-338361195_200407922690759_4013151428241186171_n

सिंहदरबारका सवारी पार्किङसमेत भरिएका छन् । भित्र सडक पेटीमा समेत सवारी पार्किङ गरेका दृश्य देखिन्छन् । एक मन्त्रीका स्वकीय सचिवले भने, ‘अब एक साता मन्त्रीज्यूहरूलाई एक छिन फुर्सद हुँदैन । कार्यकर्ताको ओइरो लाग्छ, नियमित काम गर्न समेत समस्या हुन्छ ।’ 

09-339786589_5977567015652122_7281433196553840889_n

लामो समयपछि अधिकांश मन्त्रालय मन्त्रीविहीन थिए । अब मन्त्रालयको कार्य सञ्चालन नियमित अगाडी बढ्ने देखिन्छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि मन्त्री पाएपछि खुसी छ । मन्त्री नहुँदा सचिवले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने र कतिपय नीतिगत कुराहरू मन्त्री नभएकै कारण अड्किएको मन्त्रालयका एक सहसचिवले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक सहसचिवले भने, ‘मन्त्री नहुँदा धेरै काम रोकिएका थिए । प्रशासनिक काम भए पनि नीतिगत तहमा सुधार गर्नुपर्ने धेरै कामहरू रोकिएका थिए । अब बिस्तारै गति लिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप