शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोदोको रक्सी र गाँजालाई वैध बनाउन पहल गर्छुः मन्त्री श्रेष्ठ

बिहीबार, २३ चैत २०७९, १८ : ३६
बिहीबार, २३ चैत २०७९

धादिङ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले कोदोको रक्सी र गाँजालाई वैध बनाउन पहल गर्ने बताएका छन् ।  गणतन्त्रमा पनि कतिपय पञ्चायतकालीन ऐन, कानुन अनुसार काम गर्नुपर्दा सरकार, प्रशासन र जनताबिच अन्तरविरोध रहेको कुरा बताउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार ऐन, कानुन बनाउन पहल गर्ने प्रतिबद्धता गरे । 

धादिङ, नुवाकोट र रसुवा जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगको समन्वयात्मक बैठकमा उनले  मदिरा ऐन–२०३१ ले घरेलु मदिरालाई गैरकानुनी ठहर गर्दै उत्पादन र बिक्रीवितरणमा रोक लगाएको बताए ।  त्यस्तै गाँजालाई लागू औषध नियन्त्रण ऐन–२०३३ ले लागू औषधको रूपमा ब्याख्या गरेको बताए । तर, ती ऐनहरू समयानुकूल संशोधन गरेर कोदोको रक्सी र गाँजालाई वैध बनाउन आफूले पहल गर्ने उनको भनाइ थियो । 

धादिङबेसी सम्पन्न  उक्त बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे धादिङ, नुवाकोट र रसुवाका प्रमुख जिल्ला अधिकारीहरू रमेश ढकाल, किरण थापा र प्रकाशचन्द्र अधिकारीले जानकारी गराएका थिए । 

सो क्रममा उनले नदीजन्य पदार्थको चोरीपैठारी नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरि कानूनको प्रभावकारी कार्यान्वयन गर्ने पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप