आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अमृत साइन्स क्याम्पसको स्ववियु निर्वाचन फेरि स्थगित

बिहीबार, २३ चैत २०७९, २१ : ०१
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) मा भोलि हुने स्ववियु निर्वाचन अन्तिम अवस्थामा आएर स्थगित भएको छ । निर्वाचन अधिकृत पीताम्बर श्रेष्ठले एक सूचना जारी गर्दै असहज परिस्थितिका कारण भोलिको मितिमा निर्वाचन गर्न नसकिने जनाए । 

केही विद्यार्थी संगठनले मतदान र मतगणना प्रतिनिधिको नामावली उपलब्ध नगराएकाले भोलि निर्वाचन गर्न नसकिने भएको अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको हो ।  यसअघि आज बिहान ४ वटा विद्यार्थी संगठनहरुले अस्कल र पाटन संयुक्त क्याम्पसमा यसअघि तोकिएको मितिमा निर्वाचन गर्ने सहमति जनाएका थिए ।

ती बाहेक अन्य क्याम्पसमा ३० गते निर्वाचन गराउने भनेका थिए । तर, उक्त सहमतिपछि नेविसंघ र अखिल क्रान्तिकारीले मतदान र मतगणना प्रतिनिधिको नाम नपठाएपछि निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत श्रेष्ठले बताए । 

अमृतमा पटक पटक निर्वाचनको मिति सर्दै आएको छ । उच्च अदालत पाटनले समेत सर्वपक्षीय सहमतिको आधारमा तत्काल निर्वाचन गराउन आदेश जारी गरेको थियो । सोही आधारमा चैत १८ गतेका लागि निर्वाचनको मिति तय भएको थियो । तर, त्यो मितिमा तयारी नपुगेको भन्दै विद्यार्थी संगठनहरुको आग्रहमा २५ गतेका लागि निर्वाचनको मिति तय भएको थियो । भोलि हुने निर्वाचन पनि अन्तिम समयमा आएर रोकिएको हो ।

amrit campus
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप