आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
ग्राउन्ड जिरो तनहुँ–१

तनहुँ कांग्रेसका चुनावी कमान्डर शंकर भण्डारी भन्छन्, ‘स्वर्णिम र सर्वेन्द्र कांग्रेसलाई धोका दिने अवसरवादी’ (भिडियो)

मङ्गलबार, २८ चैत २०७९

तनहुँ । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले स्वर्णिम वाग्ले र सर्वेन्द्र खनाल अवसरवादी व्यक्ति भएको आरोप लगाएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको प्रतिनिधि सभा उपनिर्वाचनमा कांग्रेसका चुनावी परिचालन कमान्डरसमेत रहेका भण्डारीले एमालेबाट उम्मेदवार बनेका खनाल र रास्वपाबाट उम्मेदवार बनेका वाग्लेमाथि सो आरोप लगाएका हुन् । तनहुँको बैरेनीमा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै भण्डारीले उनीहरू कांग्रेसले नै माथि पुर्याएका व्यक्ति भएको बताउँदै अवसरवादी चरित्रका कारण अहिले कांग्रेससँग प्रतिस्पर्धामा आएको टिप्पणी गरे । 

‘वाग्लेलाई चिनाएको कसले हो ? सत्य कुरा हामीले बुझ्नै पर्छ । उहाँलाई त्यो अवस्थामा नेपाली कांग्रेस पुर्‍यायो । दुई दुई पटक योजना आयोगका सदस्य र योजना आयोगको उपाध्यक्ष कांग्रेसले नै बनाएको हो,’ भण्डारीले भने, ‘उहाँ अबद्धता भएको पार्टीको कुरा त तपाईंहरूले सुन्नु भएकै छ । हामीले आरोप लगाएको त होइन । एउटा व्यवसायीसँग दुई-दुई करोड रुपैयाँ बार्गेनिङ गरेर पैसा मागेको कस्तो खालको राजनीति हो ?’

IMG_5700-001

भण्डारीले चुनाव जित्नेबित्तिकै गृहमन्त्री चाहिने भन्दै गरेको बार्गेनिङले पार्टीको छवि थाहा हुने बताए । ‘मलाई गृहमन्त्री चाहिन्छ, फेरि पनि गृहमन्त्री चाहिन्छ । यो किसिमको अवस्थाले राजनीतिलाई राम्रो गर्दैन,’ उनले भने । 

उपनिर्वाचनमा एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई पनि कांग्रेसले नै आईजीपी बनाए पनि अहिले आएर अनर्गल प्रचार गर्दै हिँडेको भण्डारीको आरोप छ । ‘म वनमन्त्री हुँदा सर्वेन्द्र खनाललाई सबै किसिमको सहयोग गरेर त्यो ठाउँमा पुर्‍याउने कांग्रेस नै हो,’ उनले भने, ‘एक पटक प्रचण्डज्यूले मलाई सबैभन्दा राम्रो पुलिस को छ ? भनेर सोध्नुभयो । मैले उहाँको नाम लिएँ । हाम्रो सहयोगमा आईजीपी बन्नुभयो । अहिले कांग्रेसका विरुद्धमा अनर्गल कुरा गर्दै हिँड्नुभएको छ । यस्ता किसिमका चरित्रले राजनीति के हुन्छ ?’

IMG_5683-001

भण्डारीले युवाहरूलाई राजनीतिमा सचेत भएर सुझबुझ पूर्ण निर्णय लिन आग्रह गरे । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउने चुनावी कमान्डरको जिम्मेवारी पाएका उनले भने– ‘युवाहरूलाई म भन्न चाहन्छु । राजनीति भनेको उत्तेजनामा आएर नकारात्मक बन्ने होइन । यसले सही बाटो लिँदैन । देश विकास भनेको उत्तेजना, भावनामा र असन्तुष्टि मात्र बगेर हुँदैन । संयमित धैर्यता, जिम्मेवारी र कर्तव्य बोध भएर मात्र देश बन्छ ।’

भण्डारीले पछिल्लो समय नेपाली राजनीतिमा धैर्यता र उत्तेजना नभएका व्यक्तिलाई युवाहरूले बोकेकाले सचेत हुन आग्रह गरे । ‘लामो समय लोकतन्त्रमा दुःखकष्ट बोक्नुभएको गोविन्द भट्टराईलाई हामीले उम्मेदवार बनाएका छौँ । उहाँ मभन्दा बढी दुःख अवसर नपाएको साथी हो,’ भण्डारीले भने, ‘जसरी उत्तेजनामा पछिल्लो राजनीति देखिएको छ । तथ्यहरू आइरहेकै छन् । त्यो राम्रो होइन । तपाईंहरूले सही पात्र छनोट गर्नुस् ।’ 

निर्णय लिँदा सही र गलत छुट्याउन आग्रह गर्दै पछिल्लो समय आएका मान्छेहरूले जबरजस्ती भ्रामक प्रचारबाजी गरेको उनले आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया