एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
सारांश
- एमाले र कांग्रेसको गठबन्धन भत्किएपछि वामपन्थी दलहरू मिलेर प्रदेश सरकार बनाउने तयारीमा जुटेका छन् ।
- कोशी प्रदेशको मुख्यमन्त्रीका लागि एमालेबाट तिलकुमार मेन्याङ्बो र नेकपाबाट इन्द्रबहादुर आङ्बो (मौसम)को चर्चा छ ।
- वामपन्थी सहकार्य हुने कुरा पक्का भए पनि कोशीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमा शीर्ष नेताहरूबीच प्याकेजमै सहमति जुट्ने अपेक्षा गरिएको छ ।
विराटनगर । सुदूरपश्चिम, कर्णालीपछि बाग्मतीको प्रदेश सरकारमा एमाले–कांग्रेसका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि अन्ततः ती दुई दलको गठबन्धन टुटेको छ । एमाले र कांग्रेसको गठबन्धन भत्किएपछि दुई वामपन्थी दल एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच नयाँ गठबन्धनको तयारी भएको नेताहरू बताउँछन् ।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका एमाले सांसद होमबहादुर थापाले अब वामपन्थी दलहरू मिलेरै प्रदेश सरकार बन्ने निश्चित भएको बताए ।
उनले वामपन्थी दलहरू आगामी निर्वाचनसम्मलाई नै हेरेर नयाँ गठबन्धन बनाउने कसरतमा जुटेको बताए । ‘सबै वामपन्थीको एकता कायम गर्ने गरी, आगामी निर्वाचनहरूलाई पनि मध्यनजर गर्दै सम्भवतः प्रदेशहरूमा अब वामपन्थीहरूकै सरकार बन्ला,’ थापाले भने ।
सत्ता समीकरण फेरिने निश्चित भएसँगै कोशी प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषयमा केन्द्रमा भागबण्डाको टुंगो लाग्न भने बाँकी छ । दलहरूबिच कुन प्रदेश कसले लिने भन्ने विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार जनकपुरबाट फर्किएपछि एमाले अध्यक्ष ओलीसँग भेट गरेर बिहीबार टुंगिन सक्ने थापाले बताए ।
सांसद थापाका अनुसार यदि कोशी प्रदेशको नेतृत्व नेकपा एमालेको भागमा परेमा मुख्यमन्त्रीका लागि एमालेभित्रैबाट नयाँ अनुहार आउने सम्भावना प्रबल छ । प्रदेश सभामा दलहरूको उपस्थितिलाई आधार मान्दा कोशीमा एमालेकै दाबी बलियो रहेको उनको भनाइ छ । ‘जहाँ जसको अलिकति बढी संख्या छ, त्यहाँ त्यो हिसाबले नै एउटा नीति बन्ला । त्यसो हुँदाखेरि कोशीमा फेरि एमालेकै मुख्यमन्त्री हुने सम्भावना छ,’ सांसद थापाले भने ।
वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने वा नयाँ ल्याउने भन्ने विषयमा केन्द्रीय नेतृत्वले नै निर्णय गर्ने भए पनि मुख्यमन्त्रीको दौडमा एमालेबाट तिलकुमार मेन्याङ्बो र नेपाली कम्युनिस्ट पार्टीबाट इन्द्रबहादुर आङ्बो (मौसम)को चर्चा छ । सांसद थापाले एमालेको भागमा मुख्यमन्त्री पर्दा तिलकुमार मेन्याङ्बोको सम्भावना सबैभन्दा बढी रहेको संकेत गरे । ‘वर्तमान मुख्यमन्त्रीज्यूको विकल्प खोल्नु परे हाम्रो सिनियर तिलकुमार मेन्याङ्बो नै हो,’ थापाले भने ।
नेतृत्व परिवर्तन गर्दा हालका मुख्यमन्त्रीलाई अपमानित महसुस हुन सक्ने भए पनि राजनीतिक परिस्थिति र सहमतिका आधारमा अघि बढ्नुपर्ने बाध्यता एमालेमा देखिन्छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि सहज ढंगले पद हस्तान्तरण गर्ने बताउँदै आएका छन् । तर, त्यसका लागि विधि र प्रक्रियाबाट हुनुपर्ने उनको अडान छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफ्नो समूहबाट कित्ता परिवर्तन गरेको भन्दै कार्कीलाई हटाएर मेन्याङ्बोलाई ल्याउन लागेको चर्चा छ । थापाले भने त्यसबारेमा अध्यक्ष ओली नै निर्णय गर्ने बताए । ‘हामीले कांग्रेससँगको समझदारी अनुसार नै छोड्दा मुख्यमन्त्री कांग्रेसलाई नै दिनुपर्ने थियो । तर, कांग्रेस गठबन्धनबाट आउट भइसके पछाडि त सहमतिका आधारमा जो पनि बन्न सक्ने भयो ।’
नेपाली कम्युनिस्ट पार्टीका कोशी प्रदेश इन्चार्जसमेत रहेका राजेन्द्र कुमार राईले अबको मुख्यमन्त्री आफ्नो पार्टीबाट इन्द्रबहादुर आङ्बो हुने बताएका छन् । राईले पार्टी अध्यक्ष प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई सँगै राखेर आङ्बो नै नेकपाबाट मुख्यमन्त्री बन्नुपर्ने धारणा राखेका छन् । ‘कोशी प्रदेशमा नेकपा एमालेले लामो समय (करिब चार वर्ष) सम्म सरकारको नेतृत्व गरिसकेकाले अबको पालो हाम्रो पार्टीको हुनुपर्ने तर्क हामीले राखेका छौँ,’ नेता राईले भने, ‘हाम्रो समर्थनमा पनि सरकार बनेको हो, पाँचै वर्ष उनीहरूले (एमाले) मात्र पालैपालो नेतृत्व गर्ने कुरा हुँदैन । हाम्रो पार्टीबाट मुख्यमन्त्रीको एक मात्रै उम्मेद्वार इन्द्र आङ्बोजी हो ।’
नेकपा कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ पनि काठमाडौँमा नेताहरूसँगको भेटघाट सकेर बुधबार विराटनगर फर्किएका छन् । पार्टी अध्यक्ष प्रचण्डसहित नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापासम्मलाई भेट गरेका उनले वामपन्थी सहकार्य हुने कुरा पक्का भए पनि कोशीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमा निक्र्यौल हुन बाँकी रहेको बताए ।
‘वामपन्थी सहकार्य हुने कुरा दुवै पार्टीका नेताहरूले गर्नुभएको छ । कोशीमा नेकपाकै नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर हामीले भनेका छौं,’ नेम्वाङले भने, ‘नेताहरूले सोही अनुसार निर्णय गर्नुहुन्छ भन्ने आशामा छौं ।’
अबको केही दिनभित्रै काठमाडौँमा शीर्ष नेताहरूबिच कुन प्रदेशमा कसको मुख्यमन्त्री बन्ने भन्ने विषयमा प्याकेजमै सहमति जुट्ने नेम्वाङको भनाइ छ । यदि ठुलो दलको हैसियतले कोशी प्रदेश एमालेको भागमा परे तिलकुमार मेन्याङ्बो मुख्यमन्त्रीको प्रमुख दाबेदार बन्नेछन् भने वामपन्थी समीकरणअनुसार नेकपाको भागमा परेमा इन्द्रबहादुर आङ्बोले नेतृत्व सम्हाल्ने सम्भावना छ । यो सरकार परिवर्तन भएर बन्ने सरकार कोशी प्रदेश स्थापना यताको दशौं सरकार हुनेछ भने प्रदेशसभाको दोस्रो कार्यकालको ७ औं सरकार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण