सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
वेथिति

फोरलेन सडक : अढाई वर्षमा बनाइसक्नुपर्ने सम्झौता, चार वर्षसम्मको भौतिक प्रगति १० प्रतिशतमात्र

मङ्गलबार, २८ चैत २०७९, १६ : ५३
मङ्गलबार, २८ चैत २०७९

दाङ । तुलसीपुर उपमहानगरपालिका–१७, दुधरासका लेखराज केसीको घर घोराही–तुलसीपुर सडक छेउमै छ । उनको घर अगाडिको सडक पूरै भत्किएको छ । भत्किएको सडकको धुलो उनको घरका भित्ता र टिनको छानामा छपक्कै छ । सडकको धुलो नउडोस् भनेर केसी दिनहुँ पाईप समातेर सडकमा पानी हाल्ने गर्दछन् ।

केसीले यो बाध्यता खेप्न लागेको चार वर्ष पूरा भयो । सडकको धुलो उनको रछ्यानदेखि ओछ्यानसम्म पुगेको छ । उनले भने, ‘फोरलेन सडक निर्माण अलपत्र अवस्थामा छ, भातको गाँससँगै सडकको धुलो निल्नुपर्ने बाध्यता छ हामीलाई ।’

वर्षाैंदेखि निर्माणाधीन अवस्थामा अलपत्र बनेको फोरलेन सडकले उनलाई मात्रै होइन, दाङवासी सबैलाई दुःख दिँदै आइरहेको छ । कतिले धुलोहिलोको पीडा सहनु परेको छ, त कतिले अलपत्र फोरलेनकै कारण अकालमा ज्यानसमेत गुमाउनु परेको छ ।

यसका बाबजुद सडक निर्माणको कामलाई न ठेकेदारले तीव्रता दिएको छ, न सरकारले नै कारबाही प्रक्रिया अघि बढाएको छ । उनले भने, ‘सडकको धुलोले हामीलाई बिरामी पारेको छ । कतिले ज्यान गुमाएका छन् । बाटोमा हिँड्नै मुस्किल छ ।’

२०७५ पुस १३ गतेदेखि निर्माण सुरु भएको दाङको लमही–घोराही–तुलसीपुर फोरलेन सडकको काम खासै अगाडि बढेको छैन । हालसम्म फोरलेन सडकको निर्माणको भौतिक प्रगति दश प्रतिशतमात्रै छ । निर्माण सुरु भएको ३० महिना (अढाई वर्ष) मा सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनिरिङले यो सडकको जिम्मा लिएको थियो । तर, ४ वर्ष बितिसक्दा पनि अवस्था जस्ताको तस्तै छ ।

२०७५ पुसदेखि यो सडकको खाल्टाखुल्टीमा ८७ वटा साना तथा ठूला सवारी दुर्घटनामा २५ जनाले ज्यान गुमाइसकेका छन् भने ४५ जना हाल उपचारार्थ अवस्थामा छन् । तर फोरलेन सडकको निर्माणमा न सरकार गम्भीर देखिएको छ, न ठेकेदार नै जिम्मेवार देखिन्छ ।

ठेक्का रद्द प्रक्रियामा पनि ढिलासुस्ती

फोरलेन सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनिरिङ एण्ड इन्फ्रा प्रोजेक्टले १ करोड २१ लाख ८२ हजार डलरमा लिएको हो । समयमै निर्माण सम्पन्न नहुँदा ४ पटक म्याद थप भइसकेको छ ।

एसियाली विकास बैंकको सहयोगमा सुरु भएको उक्त सडक निर्माणमा व्यापक ढिलासुस्ती भएपछि नेपाल सरकारले ठेक्का रद्द गर्ने तयारी सहितको प्रक्रिया सुरु गरेको छ । तर उक्त प्रक्रियामा पनि व्यापक ढिलासुस्ती भइरहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले भने, ‘सडक नबन्दा सर्वसाधारण सबैले सास्ती खेप्नु परेको छ । अब ठेक्का रद्दपछि कति वर्षमा अर्को ठेक्का लगाउने हो भन्ने पनि थाहा छैन ।’

ठेक्का रद्दपछि नयाँ काम

अलपत्र फोरलेन सडक निर्माणको सम्पन्न गर्ने विषयलाई निर्वाचनमा सबै दल र स्थानीय उम्मेदवारको प्रमुख मुद्दा बनाएका थिए । तर त्यो नाराले सार्थकता पाएको छैन ।

फोरलेन सडक निर्माणको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भइसकेकाले नयाँ ठेक्कामार्फत निर्माण कार्यलाई पूर्णता दिन खोजिरहेको दाङ निर्वाचन क्षेत्र नं. २ वाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘पुरानो ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भइसकेको छ, यो प्रक्रियाले पूर्णता पाएसँगै सरकारले दाङको अलपत्र फोरलेन सडकको निर्माणको नयाँ योजना बनाउने छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप