मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कहिले पाउँछ सरकारले पूर्णता ?

कांग्रेसले ९ मन्त्री माग्दा प्रचण्डले देखाए प्रभु र अमरेश
मङ्गलबार, २८ चैत २०७९, १७ : ०७
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र मन्त्री छनोटमा गुटगत भागबण्डा नमिल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको  सरकारले पूर्णता पाउन सकेको छैन । चैत १७ मा मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।

देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । तर गुरुङ र लिम्बुलाई मात्र मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखे । शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए । अहिले प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ  । जसपाको भागमा परेको वन तथा वातावरण र जनमतका अब्दुल खानले राजीनामा दिएपछि खानेपानी मन्त्रालय पनि नेतृत्वविहीन अवस्थामा छ । 

जसपाले तत्काल थप एकजना मन्त्रीको नाम नपठाउने बुझिएको छ । जसपाले एक जना मन्त्रीको नाम नपठाउनुमा बारा–२ को उपनिर्वाचन जोडिएको देखिन्छ । जहाँ जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन् । यसलाई मध्यनजर गरी चैत १७ मा जसपा संघीय परिषद् अध्यक्ष अशोक राई शिक्षा मन्त्री बनाइयो भने वन मन्त्रीको नाम वैशाख १० पछि नै दिने जसपाका नेताहरू बताउँछन् । 

यता शेखर–गगन समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपाउने अडान लिएपछि कांग्रेस सभापति देउवा पनि दबाबमा छन् । आफ्नो पक्षबाट नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ । यो बीचमा सभापति देउवाले नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग संवाद गरेका छन् । पहिले दुई मन्त्रीको प्रस्ताव गरेका देउवाले शेखर–गगन पक्षलाई एक राज्यमन्त्री समेत थप्ने तयारी गरेका छन् ।

दुई मन्त्री र एक राज्यमन्त्री दिने देउवाको प्रस्तावमा नेता शेखर कोइराला सकारात्मक छन् । महामन्त्री थापा भने देउवाको उक्त प्रस्ताव स्वीकार गर्ने पक्षमा छैनन् । उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिकबबहादुर लिम्बुलाई मन्त्री बनाउने नेता कोइरालाको तयारी छ ।

शेखर–गगन समूहभित्र कसलाई मन्त्री बनाउने भन्ने विषयमा नेता कोइराला र महामन्त्री गगन थापाबिच विवाद छ । महामन्त्री थापा सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार र नेता प्रदीप पौडेलमध्ये एकलाई मन्त्री बनाउन चाहन्छन् । महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएको अवस्था छ । संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरेका थापा पार्टीभित्र मन्त्री छनोटमा ‘पावरसेयरिङ’ खोजिरहेका छन् ।

यसका लागि महामन्त्री थापाले सभापति देउवाका साथै नेता कोइरालासँग पनि संघर्ष गर्नुपरेको छ । सभापति देउवाले तीन मन्त्री नदिने प्रस्ट संकेत दिएपछि दुई मन्त्री र एक राज्यमन्त्री छनोट गर्न शेखर–गगन समूहलाई सकस परेको छ । उपसभापति गुरुङ र जिल्ला सभापति लिम्बुलाई दुई मन्त्रीको कोटामा पठाउँदा राज्यमन्त्री कसलाई बनाउने भन्नेमा समस्या देखिने भएको छ । उक्त पक्षबाट सरकारमा सहभागी हुने तेस्रो व्यक्तिका रूपमा सहमहामन्त्रीद्वय पाण्डे र परियारको नाम चर्चामा छ । दुवै जना पार्टीको पदाधिकारी भएका कारण राज्यमन्त्रीको भूमिकामा बस्न नरुचाएको बताइन्छ ।

यी दुवैले राज्यमन्त्री बन्ने प्रस्तावलाई ठाडै अस्वीकार गरेको स्रोत बताउँछ । त्यसपछि कोइरालाले लुम्बिनी प्रदेशका सुरेन्द्र आचार्यलाई राज्यमन्त्री बनाउन खोजेको कांग्रेस स्रोत बताउँछ । कपिलवस्तु–२ बाट निर्वाचित आचार्य राष्ट्रपति रामचन्द्र पौडेलका नातेदार समेत हुन् । 

२०७३ मा पनि उनी प्रचण्ड नेतृत्वको सरकारमा सिँचाई राज्यमन्त्री बनेका थिए । महामन्त्री गगन थापाले भने आफ्नो समूहबाट मन्त्रीको नामबारे अनभिज्ञता प्रकट गरे । उनले भने रातोपाटीसँग, ‘मन्त्रीबारे कुनै छलफल भएको छैन । यसबारे मेरो कसैसँग छलफल पनि भएको छ । कसैले मलाई जानकारी दिएर मन्त्रीको नाम टुङ्ग्याए मलाई थाहा छैन ।’

यता कांग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले शेखर–गगन पक्षका कारण मन्त्रीको नाम सिफारिस गर्न ढिलाइ भएको बताए ।

उनले रातोपाटीसँग भने, ‘सभापतिज्यूले मन्त्रीको नाम दिन तयारी गरिराख्नु भएको छ । तर उहाँहरु (शेखर–गगन)बाट नाम आएको छैन ।’ यस्तै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्डले कांग्रेसका नेताहरूलाई ताकेता गरिरहेको बताए । उनले  रातोपाटीसँग भने, ‘मन्त्रिपरिषद्ले पूर्णता पाइसक्नुपर्ने थियो । कांग्रेसबाट मन्त्रीको नाम आएको छैन । कांग्रेसका नेताहरूलाई मन्त्रीको नाम पठाइदिन प्रधानमन्त्री ज्यूले भनिराख्नु भएको छ ।’ 

‘नेपाली कांग्रेसका सबै पक्षसँग छलफल गरिसक्नु भएको छ । उहाँहरूको आन्तरिक विषय नमिल्दा मन्त्रीको नाम आउन विलम्ब भएको जस्तो छ,’ उनले भने । 

कांग्रेस नेताहरूका अनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई थप पाँच मन्त्रालय नदिएसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन कठिन छ । कांग्रेस नेताहरूले जनमत पार्टी सरकारबाट बाहिरिएपछि खानेपानी मन्त्रालयमाथि पनि नजर राखेको छ । 

प्रधानमन्त्री प्रचण्ड भने उक्त मन्त्रालयमा प्रभु साह वा अमरेशकुमार सिंहको व्यवस्थापन गर्न चाहन्छन् । कांग्रेस नेता शेखर कोइराला र उपसभापति पूर्णबहादुर खड्कासँगको छलफलमा खानेपानी मन्त्रालयमा प्रभु वा अमशेरलाई ल्याउन ल्याउने संकेत गरेका थिए । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पनि जनमतको ठाउँमा प्रभु र अमरेशलाई मन्त्री बनाउने तयारी भइरहेको बताए ।  

‘अहिले ६ मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । त्यसमध्ये ४ मन्त्रालय कांग्रेस, एक जसपा र एक प्रभु साह वा अमरेशकुमार सिंहलाई मन्त्री बनाउने कुरा छ’ पौडेलले भने  । कांग्रेसको आन्तरिक किचलो नटुङ्गिए मन्त्रिपरिषद्को पूर्णता उपचुनावपछि पनि हुन सक्ने पौडेलको भनाइ छ । 

उनले भने, ‘उपनिर्वाचनका कारण प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारबारे पर्याप्त छलफल गर्न पाउनु भएको छ । अब उपनिर्वाचनपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउन सक्छ ।’ 

यद्यपि परराष्ट्र र स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालयमा धेरै समय नेतृत्व बनाउने पक्षमा भने प्रधानमन्त्री नरहेको उनको भनाइ छ । पौडेलले भन, ‘प्रधानमन्त्रीको भारत भ्रमण अन्योल अवस्था छ भने कोरोना सङ्क्रमण दिनानुदिन बढिरहेको छ । तर गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीले मात्र चाहेर हुँदैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप