आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी केन्द्र निर्माण अलपत्र

बुधबार, २९ चैत २०७९, १३ : ०७
बुधबार, २९ चैत २०७९

काठमाडौँ । गत मङ्सिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा चुनावअघि चार दलले पार्टी एकता गर्ने गरी समाजवादी केन्द्र निर्माण गर्ने उद्घोष गरे । नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी(जसपा) नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीले आ–आफ्नो पार्टीबाट वार्ता टोली समेत गठन गरे । तर समाजवादी केन्द्र निर्माण गर्ने उद्घोष गरेको पाँच महिना पुग्दा समेत कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । समाजवादी केन्द्र निर्माणको बहस र छलफल वार्ता समिति गठनमै सीमित हुन पुगेको छ । 

माओवादी केन्द्र र नेपाल समाजवादीवीच माघ महिनाभित्रै एकता गर्ने उद्घोष गरिएको थियो । तर, दुई पार्टीबीचको एकता समेत तीन महिना पुग्दा पनि कुनै प्रक्रियाअघि बढेको छैन । समाजवादी केन्द्र निर्माण कहाँ पुगेको हो भन्ने विषयमा अत्तोपत्तो समेत हुन छोडेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । ‘माओवादी सहित जसपा, एकीकृत समाजवादी, नेसपा मिलेर समाजवादी केन्द्र बनाउने भनिएको थियो । त्यो कहाँ पुग्यो थाहा छैन ?,’ पौडेलले भने, ‘प्रचण्ड र बाबुरामको एकता प्रक्रिया पनि अघि बढेन, अलपत्र भयो ।’ 

समाजवादी केन्द्र बनाएर तेस्रो शक्ति खडा गर्ने नेताहरूले दाबी गरेका थिए । एमालेबाहेक शक्तिहरूलाई एक ठाउँमा केन्द्रित गर्ने गरी नेताहरू भेटघाट र संवादलाई सघन रूपमा अघि पनि बढाएका थिए । तर एमालेलाई समेत चुनौती दिने गरी बनाउने भनिएको शक्ति अझै निर्माण हुन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि समाजवादी केन्द्र निर्माणको बहस र छलफल समेत अलपत्र अवस्थामा पुगेको छ । सत्ताको लुछाचुँडीले समाजवादी केन्द्रले गति लिन नसक्दा परिणाम दिन नसकेको नेताहरूले बताएका छन् ।

वामपन्थी शक्तिहरूबिच एकता गर्न नेकपा एकीकृत समाजवादीले गत कात्तिक १८ गते बेदुराम भुसाल नेतृत्वमा तीन सदस्यीय कमिटी बनाएको थियो । त्यस्तै, माओवादी केन्द्रले पुस २३ गते कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसको सदस्यमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल रहेका छन् । यस्तै जसपाले राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ, गोविन्द चौधरी रहने गरी समिति बनाएको थियो । यस्तै नेपाल समाजवादी पार्टीबाट गंगानारायण श्रेष्ठको संयोजकत्वमा दुर्गा स्वभ र रमेश यादव रहने गरी समिति बनाएको थियो । 

माओवादी र एकीकृत समाजवादीको वार्ता टोलीबीच एक चरण औपचारिक छलफल भएपछि दोर्‍याएर भेटघाटसमेत हुन सकेन । माओवादी र जसपावीच अनौपचारिक संवाद भएपनि औपचारिक संवाद नै हुन पाएन । माओवादी र नेसपाबीच पार्टी एकता गर्न धेरै चरणमा छलफल समेत भएको थियो । पार्टीको नाम, चुनाव चिन्ह, पार्टीको कार्यदिशा र नेतृत्वको विषयमा टुङ्गो लगाउन प्रचण्ड र बाबुरामलाई छोडिएको थियो । तर, प्रचण्ड बाबुरामवीच ‘फाइनल’ संवाद नभएपछि पार्टी एकता टुङ्गो लागेको छैन । नेसपा नेताहरूले पार्टी एकता गर्न प्रचण्डसहित शीर्ष नेताहरूलाई दबाब बढाइ रहेका छन् । तर, प्रचण्ड बाबुरामबीच पार्टी एकता निष्कर्षमा पुग्न सकेको छैन ।  

माओवादी धारलाई एक ठाउँमा ल्याउने प्रयास 

जनयुद्धकालीन मुद्दालाई देखाएर माओवादी धारलाई एक ठाउँमा ल्याउने प्रयास पनि सँगसँगै गरिएको छ । जनयुद्धकालीन मुद्दा नियमित अदालतमा जान थालेपछि माओवादी धारका नेताहरू एक ठाउँमा उभिएर प्रतिवादगरी जारी राखेका छन् । पहिलो चरणका कार्यक्रम सकेर दोस्रो चरणका कार्यक्रम गर्ने तयारीमा छन् । 

माओवादी धारलाई एक ढिक्का बनाउन एकपछि अर्को गर्दै कार्यक्रमहरू भइरहेको नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले बताए । ‘माओवादी धारलाई एक बनाउन एकपछि अर्को कार्यक्रम भई रहेका छन् । पहिलो चरणको कार्यक्रम सकिएर दोस्रो चरणमा प्रवेश गरेको छ’ बुढाथोकीले भने, ‘विचार मिल्ने माओवादी धार एकता गर्ने र एकता नहुने पार्टीसँग समाजवादी मोर्चा बनाउने तयारी छ ।’ माओवादी धार एक बनाउन समाजवादी मोर्चा बनाउन छलफल भएको बुढाथोकीले बताए । 

माओवादी धार एक भएपछि मात्र जसपा र एकीकृत समाजवादीसँग संवाद थाल्ने तयारी गरिएको छ । माओवादी धारबीच समाजवादी निर्माण गर्ने विषयमा नेसपा अध्यक्ष बाबुराम भट्टराई र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच केही दिन अघि एकल रूपमा भेटेर छलफल गरेको बुढाथोकीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप