भोजपुरका गाउँबेँसी रित्तिँदै :अरुण गाउँपालिकाको ओदाने बस्तीमा एउटा घरमात्र बाँकी
विराटनगर । भोजपुरको ओदाने गाउँको बीचबाट पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) कालोपत्रे भएको छ । दिनहुँ सवारी साधनहरु ओहोरदोहोर गर्छन् । तर, ओदाने गाउँ सुनसान छ । पहाडको बसाइँसराइ रोक्न तथा गाउँबस्तीको उत्पादित सामान बजारसम्म पुर्याउन (समृद्धि भित्र्याउन) निर्माण गरिएको सडकले पनि ओदाने गाउँलाई छोएको छैन ।
त्यहाँका अधिकांश मानिस घर छोडेर हिँडेका छन् । केही दशक अगाडिसम्म लटरम्मै बालीले लोभलाग्दो देखिने खेत तथा बारी अहिले जङ्गलमा परिणत भएका छन् भने बस्तीका घरहरु भूतबङ्गला जस्तो बनेका छन् ।
उक्त बस्तीमा केही वर्ष अगाडिसम्म २८ घरपरिवार थियो । अधिकांश ढकाल परिवारको बसोबास रहेको यो बस्तीमा अहिले जम्मा मुक्ति ढकालको एउटा घरमात्रै बाँकी छ । बसाईसराईले बस्ती पूरै रित्तिन अब एक वर्ष बाँकी छ । किनकि मुक्ति ढकाल पनि ११ कक्षामा अध्ययनरत छोरीले १२ कक्षाको परीक्षा दिएसँगै मोरङ झर्ने तयारीमा छन् ।
यो बस्तीमा बारीबाहेक १८ मुरी धानको बिउ लाग्ने खेत अहिले बाँझै छ । मनग्ये धान खेती हुने, अलैंची, मकै, कोदो हुने यो बस्ती उठाउने प्रमुख कारण बाँदर पनि हो ।
ढकाल त्यहीँ जन्मेका हुन् । उनका हजुरबुबा त्यस ठाउँमा आएका थिए । तर, अहिले गाउँका अन्य घरपरिवार कोही अमेरिका, कोही काठमाडौं, कोही विराटनगर त कोही तराईका विभिन्न जिल्लामा छन् । ‘कान्छी छोरी प्लस टु गर्दैछिन् । उनैलाई कुरेर बसेको हुँ, म पनि मोरङ झर्ने हो अब,’ उनी भन्छन्, ‘साह्रोगाह्रोमा सारै समस्या भयो । छिमेकी बोलाउँदा पनि एक घण्टामा मात्रै आइपुग्छन् । खेत पनि बाँझो छ ।’
_s7VMgDrjgX.jpg)
यो बस्तीमा बारीबाहेक १८ मुरी धानको बिउ लाग्ने खेत अहिले बाँझै छ । मनग्ये धान खेती हुने, अलैंची, मकै, कोदो हुने यो बस्ती उठाउने प्रमुख कारण बाँदर पनि हो । ‘बाँदरले गर्दा नै सबै हिँडेका । बारीमा मकै राम्रो फल्थ्यो, बाँदरले खाइहाल्छ । अदुवा र बेसार लगाउँदा बिक्री नै हुँदैन । अलैंचीको पनि टुसा खाएर बाँदरले हैरान ग¥यो । घरहरु डङ्डङ्ती खाली छन् । कतिपय त लडिसके,’ उनी भन्छन् ।
सहारा दिएर कोही बस्तीमा आएर बसे गाउँ छोड्न उनलाई पनि मन छैन । उनले भने, ‘कोही बस्ने मानिस १०-८ घर आए त म पनि छोड्दिन थिएँ नि । तर, केही सारो गाह्रो पर्यो भने छिमेकी बोलाउन याकु तरेर जानु पर्छ । आधा घण्टा पर फालिटारमा केही मानिसको बसोबास छ ।’
_0UJbcFkafT.jpg)
त्यही गाउँमा बस्न सकेको खण्डमा तराईमा भन्दा बढी कमाइ गाउँमै रहेको उनको तर्क छ । ‘कमाई त छ नि । तर, समाज छैन,’ उनी भन्छन् । उनले अहिले पनि ४२ वटा बाख्रा पालिरहेका छन् । वर्षको ३-४ लाख रुपैयाँ कमाइ बाख्राबाटै हुने उनी बताउँछन् । गाउँमा पानीको पनि समस्या छैन ।
अरुण गाउँपालिकामा मात्रै नभएर जिल्लाका अधिकांश गाउँ बेँसीहरु रित्तो हुन थालेको उक्त गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री बताउँछन् । ‘काम गर्न भारत जाने, विदेश जाने, अन्य रोजगारीको काम गर्ने भइरहेको छ । खोलाको बेँसीतिर तीन कमाई चार कमाई हुने खेत बाँझिएर बसेको छ,’ उनी भन्छन्, ‘भारतबाट हरेक कुरा सस्तोमा पहाडतिर आएको छ । भारतको गोलभेँडा, आलु पनि यतातिर आइपुग्छ । यहाँ उत्पादन गर्दा ६० रुपैयाँ, ८० रुपैयाँ प्रतिकिलो पर्ने गोलभेँडा, आलु भारतबाट ३० रुपैयाँ ४० रुपैयाँमै आइपुग्छ ।’
_mEJml13wdA.jpg)
भारतको जस्तो राज्यले कृषकलाई दिने सहयोग यहाँ नभएको उनको भनाइ छ । ‘हाम्रोमा दुःख गरेर उत्पादन गरेको वस्तुको भाउ बढी हुन्छ । त्यसैले बिक्दैन,’ उनले भने, ‘त्यसले गर्दा किसानहरु मारमा छन् र खेती गर्न छोडेर हिँडेका हुन् ।’
उनले ठाउँ अनुसार र चाहना अनुसारको खेतीको विकास नगरेसम्म गाउँमा मानिसले खेतीपाती नगर्ने बताए । ‘अब १२ खालको पेसा गरेर केही हुँदैन । १२ खालको खेती गर्दा लाभभन्दा हानी छ । अलिअलि फल्छ, त्यो पनि बाँदरले खाइदिन्छ,’ उनले भने, ‘किसानको जग्गाको भूबनोट, हावापानी अनुसारको नयाँ स्किम लिएर दिँदामात्रै बसाईसराई रोक्ने सम्भावना छ ।’
खत्रीका अनुसार बस्ती नै निमिट्यान्न भएजस्तो समस्या सबैतिर भने छैन । तर, कृषि पेसा छाड्दै गएको भने यथार्थ रहेको उनी बताउँछन् । उनले भने, ‘बेँसीहरु पूरै बाँझो देखिन थालेको छ ।’
कृषिमा फाइदा नभएर पनि धेरै मानिस गरिब भएको उनको दाबी छ । ‘हामीले समयमै मलबिउ दिन सकेका छैनौं । औषधि उपचारको राम्रो व्यवस्था छैन । खेती गर्ने मान्छे छैन । अनि कसरी मान्छे खेती गरेर बस्छ ?,’ उनी प्रश्न गर्छन् ।
_8LhuuUFBLx.jpg)
कुल १५ हजार ४३२ दशमलव ४२ हेक्टर क्षेत्रफलमा फैलिएको अरुण गाउँपालिकामा कृषि क्षेत्र ९ हजार ९१७ हेक्टर अर्थात् ६४.२६ प्रतिशत छ भने वन क्षेत्र ४ हजार ८९५ अर्थात् ३१.७२ प्रतिशत छ । आवासीय क्षेत्र भने १५७ हेक्टर छ । व्यावसायिक क्षेत्र शून्य दशमलव ६९ हेक्टर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण