बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्यकार गोविन्दराज भट्टराई एक लाख नगदसहित सम्मानित

बिहीबार, ३० चैत २०७९, १० : ४२
बिहीबार, ३० चैत २०७९

विराटनगर । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषले नेपाली भाषा, साहित्यका अग्रज प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईसहित तीन जनालाई सम्मान गरेको छ । कोषले भट्टराईलाई १ लाख रुपैयाँ नगदसहित ‘सि.एम. कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९’ प्रदान गरेको हो ।  

कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राईले भट्टराईलाई सम्मानित गरेका हुन् । कार्यक्रममा दार्जिलिङ भारतमा जन्मिएर नेपालमा साङ्गीतिक क्षेत्रमा लाग्दै आएका अनिल फागो लिम्बूलाई ५१ हजार नगदसहित ‘सि.एम. कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९’बाट सम्मानित गरियो । त्यसै गरी मोरङको पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राईलाई ११ हजारसहित ‘सुशीला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९’द्वारा सम्मानित गरिएको छ । 

झापा दमक १ स्थायी बसोबास भएका सम्मानित गोविन्दराज भट्टराईका ६५ भन्दा बढी कृतिहरू प्रकाशित छन् । सङ्गीत विधानमा सम्मानित अनिल फागो लामो समयदेखि झापा र मोरङको विभिन्न विद्यालयहरुमा सङ्गीत विद्या सिकाउँदै आएका छन् । भारत हैदरावाद विश्वविद्यालयबाट सङ्गीतमा पोष्ट ग्रयाजुएट गरेका फागोले विभिन्न गीतहरूमा सङ्गीत भरेका छन् । सम्मानित पत्रकार अर्जुन जम्नेली राई दुई दशक अघिदेखि पत्रकारिता क्षेत्रमा कार्यरत छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुलपति राईले सीएम कन्दङ्वा पूर्वको राजनीति विचारक, साहित्य र शैक्षिक अभियन्ता भएको बताए । 

को हुन सीएम कन्दङ्वा ? 

चन्द्रमान कन्दङ्वा (सीएम) प्रजातान्त्रिक आन्दोलनको सेनानी तथा पूर्वी नेपालको शिक्षाको अभियन्ता थिए । वि.स. १९८१ चैत्र २९ गते जन्मिएका कन्दङ्वाले २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलनमा राणा र पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय सहभागी भएका थिए । 

वामपन्थी राजनीति गरेका कन्दङ्वा २०४३ सालमा पथरीमा एभरेस्ट अङ्ग्रेजी आवासीय माविको स्थापना गरेर शिक्षा क्षेत्रमा लागेका थिए । कन्दङ्वाको राल्फा बस्ती, विद्रोह कथा सङ्ग्रह, अनि धर्ती बोल्दछ, फाइताका छापहरू, पूर्व उज्यालो हुनुभन्दा पहिलाको गीतहरू उपन्यास प्रकाशित छन् । कन्दङ्वाको २०६२ मा देहान्त भएपछि उनकै नाममा स्कुलले कोष स्थापना गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप