शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

काठमाडौँभन्दा तनहुँका जनतामा बढी आत्मीयता पाइरहेको छु : सर्वेन्द्र खनाल (भिडियोसहित)

बिहीबार, ३० चैत २०७९

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तनहुँका विभिन्न गाउँ टोलमा भोट माग्न घरदैलोमा व्यस्त छन् । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंबाट पराजित भएका खनाल जितको खोजीका लागि तनहुँ झरेका हुन् । आफ्नो गृह जिल्लामा आएका खनाल तनहुँ–१ का जनताले आफूलाई रोजेको र खोजेको दाबी गर्छन् । बुधबार व्यास नगरपालिकाका विभिन्न क्षेत्रमा पुगेर भोट मागेका खनालसँग चुनावी सेरोफेरोमा केन्द्रित रहेर रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

प्रतिनिधिसभा सदस्यका लागि दोस्रो पटक परीक्षा दिँदै हुनुहुन्छ । कस्तो महसुस भएको छ ?

ठिक छ । आफू जन्मे–हुर्केको ठाउँ, साथीभाइ, इष्टमित्र सबै चिनजानकै हुनुहुन्छ । अहिले भेटघाट भइरहेको छ । समग्रमा उत्साहित नै छु ।  

मंसिर ४ को निर्वाचनमा तपाईं काठमाडौं–६ बाट चुनाव लड्नुभएको थियो । यस पटकको उपनिर्वाचनमा तपाईं तनहुँ क्षेत्र नम्बर १ मा आइपुग्नुभएको छ । काठमाडौंका मतदाता र तनहुँका मतदातामा के फरक पाउनुभयो ?

केही त फरक छ । आत्मीयता । हिजोको पारिवारिक पृष्ठभूमि, सबै कुराले चिनजान यही क्षेत्रमा छ । परिवार यहीँ नै छ । यहाँ सकेको सामाजिक सेवा पनि गरेको छु । आत्मीयता जोडिएकाले केही फरक त पक्कै छ ।

339097287_1268733827326260_3076188822549967884_n

हिजो काठमाडौंमा चुनाव लड्दाजस्तै यो चुनावमा पनि नाम चलेकै व्यक्तिहरुसँग तपाईको प्रतिस्पर्धा छ । आफ्ना प्रतिस्पर्धीको चुनौती कत्तिको महसुस गर्नुभएको छ ?

अहिलेको परिवेश पृथक छ । कतिपय घटनाक्रममा हुरी बतास आउँछ । त्यो विगतमा पनि भएका छन् । त्यो परिवेश र यो अवस्था फरक छ । यी आफैँमा प्रमाणित गर्दै जाने विषय पनि हुन् । तथ्यहरु बोल्दै पनि जान्छन् । विगतमा जुन तरिकाले निष्ठापूर्वक काम गरेँ । जुन इमानदारीपूर्वक काम गरेँ । यहाँका मतदाताले राम्रोसँग बुझ्नुभएको छ ।

मेरो उद्देश्य पनि सधैँ राम्रो काम गर्ने, देशका लागि राम्रो गर्ने नै हो । यहाँका मतदाताहरु विवेकी हुनुहुन्छ । उपयुक्त उम्मेदवारको रुपमा मलाई लिनुभएको छ भन्ने मेरो विश्वास हो । 

घरदैलोमा हिँडिरहनु भएको छ । उम्मेदवारसँग के अपेक्षा हुँदो रहेछ ?

यो क्षेत्रमा मैले विगतमा गरेको कामले पनि राम्रो गर्छ भन्ने माइन्ड सेट छँदैछ । यसअघि चुनाव जितेर गएकासँग तिक्तता पनि रहेछ । जितेर गएपछि उम्मेदवार फर्केर आएनन् भन्ने गुनासो सुनेँ । मलाई गर्ने रेस्पोन्स राम्रो भए पनि स्थानीय समस्या धेरै छन् । ती समस्यालाई समाधान गरिदियोस् भन्ने नै उहाँहरुको चाहना, अपेक्षा हुन् । 

विगत हेर्ने हो भने यो क्षेत्र कांग्रेसको गढ भनेर चिनिन्छ । परिणाम आफ्नो पक्षमा पार्न कत्तिको गाह्रो हुन्छ होला ? मतदाताको भावना कस्तो पाउनुभयो ?

विगतको रेकर्ड राम्रो भएका कारणले पनि मलाई तनहुँ सहजै छ । प्रहरीमा हुँदा देश र नागरिकका लागि खटेँ, लडेँ, त्यो कुरा त देख्नुभएको छ । अब सांसद भएर पनि केही स्वार्थ नराखी सुशासनका पक्षमा, भ्रष्टाचार र अनियमितता विरुद्ध दरिलो उपस्थिति गरिदिए हुन्थ्यो भन्ने भावना पाएँ । यी सबै अपेक्षाले पनि देखाउँछ परिणाम कस्तो हुन्छ आउँला भनेर । 

339303581_244948844697153_1636450449746336880_n

मतदाताले तपाईँलाई के के समस्या देखाउनु भयो ?

तनहुँ क्षेत्र नम्बर १ काठमाडौंबाट नजिकैको जिल्ला हो । कृषिजन्य उपजको हिसाबले, यहाँ प्रकृतिक स्रोत साधन पनि राम्रो छ । तर, प्रयोग गरिएको छैन । यसले गर्दा स्वास्थ्य, शिक्षा, यातायात, मल, सिँचाइका समस्या छन् । बेसिक रिक्वायरमेन्ट पूरा नभएको अवस्थामा छ । यसले गर्दा पर्यटकीय क्षेत्र, व्यापारका क्षेत्रमा यसलाई प्रमोट हुन सकेको छैन । कोरिडोरको रुपमा स्थापना गर्ने क्रममा बिजनेसहरुका समस्या छन् । युवाहरुका लागि फुटबल खेल्ने ग्राउण्ड छैन । महिलाहरुले पाउने सामाजिक न्यायका कुरा छन् । राजधानीबाट नजिक भएको जिल्लाबाट निर्वाचित भएर गएपछि विभिन्न निकायबाट समन्वय गर्नुपर्छ र विकासमा जोड दिनुपर्छ भन्ने हो । यसका लागि म तयार छु, दृढ संकल्प पनि छ । 

तपाईंका प्रतिस्पर्धी उम्मेदवारहरुले पनि विभिन्न एजेण्डा उठाइरहनु भएको छ । उहाँहरु भन्दा तपाईं के कुराले फरक हुनुहुन्छ ? 

अरुभन्दा फरक भनेको मैले हिजो प्रहरीमा हुँदा गरेका काम नै हुन् । प्रहरी हुँदै गर्दा जहाँ सुरक्षा त्यहीँ दीगो विकास भन्ने कन्सेप्ट सुरु गरेको थिएँ । विकास र सुरक्षा एक अर्कोका सारथि हुन् । यसलाई संस्थागत रुपमै अगाडि बढाउनुपर्छ । कतिपय कुरामा योजनाका साथ अगाडि बढ्नुपर्छ र कार्यान्वयनलाई दृढताका साथ लैजानुपर्छ । राम्रा कुरा त देखिन्छन् । तर, यसलाई कार्यान्वयन गर्दा क्षमताको अभाव हुँदा आज समस्या भएको हो । भ्रष्टाचार गर्नुहुँदैन भन्ने त लेखिन्छ तर यहीँभित्र पनि त्यस्ता काम  भइरहेको हुन्छ ।

IMG_6248

देशको अर्थतन्त्रमा राम्रा काम गर्छु भन्दा यसको प्रभाव त पर्छ तर त्यस्ता दिमागी कुरा गरेर पनि काम त केही छैन । दिमाग लगाउनुपर्ने भनेको यहाँका स्थानीय आयआर्जन बढाउने, लगानी भित्र्याउने, बजारीकरण, उत्पादित बस्तुको निर्यात गर्ने नै हो । अरुले के गर्नुहुन्छ भन्दा पनि यहाँ भएका योजनालाई द्रुत गतिमा सम्पन्न गर्ने । नयाँनयाँ प्रजेक्टहरु समयमा पूरा गर्ने । पादर्शिता र विश्वसनीयता बढाउँदै लैजाने हो र काम गर्दै गयो भने समयमै सम्पन्न हुन्छ ।

तपाईं आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई देख्नुहुन्छ ?

पहिलदेखि नै जित्दै आएका कारण नेपाली कांग्रेसलाई देख्छु । बहावमा आएर बोल्ने कुरा भएन । विगतमा भएका कुरालाई त स्वीकार्नु प¥यो । 

कति मतान्तरले चुनाव जित्छु जस्तो लाग्छ ? 

म यस्तो, यति भोटले चुनाव जित्छु भन्ने अनुमान गर्दिनँ, आफ्ना योजनाहरु राख्दै आएको छु । गर्नुपर्ने कामहरु सम्प्रेषित गरेको छु । धेरै अंकले जित्छु भन्ने लाग्छ । यतिउति भन्ने छैन । जनताको उत्साहपूर्वक सहभागिता भएको छ । विवेकी मतदाता हुनुहुन्छ, पक्कै पूरा गरिदिनुहुन्छ भन्ने विश्वास लिएको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया