शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

देशको चुनौतीपूर्ण अवस्थालाई सरकारले यहाँसम्म ल्याउनु सफल हो : मन्त्री सुदन किराती

शुक्रबार, ०१ वैशाख २०८०

भोजपुरबाट तीन पटक निर्वाचित सुदन किराती हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा छन् । पहिलो पटक मन्त्री भएका युवा नेता किराती पर्यटन क्षेत्रमा केही काम गर्ने हुटहुटीका साथ जिम्मेवारी सम्हालेको र परिवर्तनका संकेतहरु देखा परिसकेको दाबी गर्छन् । सरकार निर्माण भएको एक सय दिनमा जनतालाई प्रत्यक्ष लाभ हुनेगरी धेरै काम भएको बताउँछन् उनी । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका काम कारवाही र प्रचण्ड नेतृत्वको सरकारको एक सय दिनको समीक्षा लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीकर्मी रोहित दाहाल र वीरेन्द्र ओलीले उनीसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

भोजपुरबाट तीन पटक निर्वाचित हुनुभयो । जुन उत्साहका साथ पर्यटन मन्त्रालयमा छिर्नुभयो, सय दिन पूरा हुँदा कस्तो अनुभूति गरिरहनु भएको छ ?

उत्साहका साथ भन्दा पनि जिम्मेवारीका साथ यो मन्त्रालयमा छिरेको थिएँ । मैले पद बहाली गर्ने दिन भनेको थिएँ– म आगोको कुर्सीमाथि बसेको छु । मैले कुदाउने घोडा बाघको हुने छ तर म त्यो कुदाएर छाड्छु ।

त्यो उत्साह मरेको छैन । झन् उत्साहपूर्वक काम गरिराखेको छु । अप्ठ्यारा धेरै छन् । तर, असम्भव देख्दिनँ ।

पर्यटनमन्त्रीले गफ बढी गर्नुभयो, नतिजामुखी काम भएन भनेर आलोचना गर्नेहरुलाई के भन्नुहुन्छ ?

यो काम नगर्नेहरुको आरोप हो । हामीलाई फर्केर जवाफ दिने फुर्सद छैन । हामीले के के गर्‍यौं, त्यो गनेरै देखाउन सक्छौं । हामी देखाएरै भन्न सक्छौं ।

सबै मन्त्रीले सुरुवाती दिनमा निर्देशन दिने हो । पशुपतिमा गएर आफैँ शौचालय सफा गर्न थाल्नुभयो । त्यो आफैँले गर्नुपर्ने थियो कि थिएन भन्ने टिप्पणी छ ? तपाईले दिएका निर्देशनको अवस्था के कस्तो छ ?

निर्देशन दिएर बिर्सने मेरो बानी छैन । निर्देशन दिएपछि फलो गरिराख्ने बानी छ । यो देशमा अधिकांश कामै नगर्नेहरु छन् । काम गर्नेलाई विभिन्न खाले आरोप लगाउँछन् । त्यसमा त्यति ध्यान केन्द्रित गरेको छैन । मन्त्रीको काम शौचालय सफा गर्ने नितान्त होइन । तर, यहाँ काम भएन । मैले पटकपटक भनेको छु । गाडीको इन्जिन, तेल, चालक सबै छ । स्टार्ट पनि हुन्छ तर, गाडीले धुँवा फाल्छ, आवाज निकाल्छ, गाडी कुद्दैन । मैले झरेर गाडीलाई ठेल्नुपर्छ । पर्यटन मन्त्री भएको हुनाले पर्यटनको पहिलो आधार सरसफाई नै हो । हामीसँग सफा पूर्वाधार र सम्पदाहरु हुनुपर्छ । पर्यटन मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरु सफा राख्नुपर्छ ।

पर्यटनको सबैभन्दा पहिलो आधार स्वच्छ र सफा नै हो । त्यसमा संस्कृति पनि पर्छ । त्यसैमा हामीले नयाँ संस्कृतिको निर्माण पनि गर्नुपर्ने छ । सम्पदाहरु सफा गर्ने र कार्यालयहरुमा निर्देशिका जारी गरिएको छ । हरेक कार्यालयमा सरसफाई अधिकृत छन् । सरसफाईप्रति अधिकृत जवाफदेही हुनुपर्ने छ । कुनै पनि देशको अनुहार त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल हो । एयरपोर्ट सफा हुनुपर्छ । वायु सेवा निगमहरु हिजोको अवस्थामा बस्न हुँदैन । हाम्रा सम्पदाहरु हिजोको अवस्थामा राख्नु हुँदैन । सबैतिर सफा चाहिन्छ भनेर आफैँ लागेको छु ।

sudan 2

तपाई मन्त्री भएपछि हालसम्म के के काम गर्नुभयो, सरसर्ती भन्न सक्नुहुन्छ ?

हामीले थुप्रै काम गरेका छौं । हामीले नीतिगत रुपमा काम अघि बढाएका छौं । हाम्रो नेपाली आकाशलाई अन्तर्राष्ट्रिय नागरिक उडड्यन (आइकाओ) र युरोपेली युनियनले ‘कालो’ घोषणा गरे । यस्तै हामीले प्राधिकरणलाई विभाजन गर्ने र नियमनकारीलाई सेवा प्रदायक बनाउने विधेयक अघि सारेका छौं । सभ्यताको पनि महासभ्यता पशुपतिनाथमा हिन्दु विश्वविद्यालयको अध्ययन समिति गठन गरेर प्रतिवेदन आउने चरणमा छ । पर्यटन विश्वविद्यालय बनाए यति धेरै ठुलो सम्भावना छ । पर्यटन विश्वविद्यालयको विधेयक नै निर्माण गरेर समस्यौदा समिति बनाइसकेका छौं ।

हामीले ५ वटा जुगल हिमालमा चढ्न अनुमति दिइसकेका छौं । हामीले रैथाने विश्वविद्यालयको अध्ययन गर्न समिति बनाएका छौं । वायु सेवा निगमलाई कसरी सुधार गर्न सकिन्छ भन्ने सन्दर्भमा पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा अध्ययन समिति गठन गरेका छौं । यी थुप्रै नीतिगत व्यवस्था भएका छन् ।

हामीले सुशासनको कुरा गर्ने हो भने भ्रष्टाचार गर्ने कर्मचारीलाई कारवाही गरिराखेका छौं । भ्रष्टाचार गर्ने कतिपय प्रवृत्तिहरुलाई मन्त्रालयबाटै निर्णय गरेर काम गरेका छौं । पशुपतिनाथको विषयमा अख्तियारलाई बुझाएका छौं । अहिले गएर एयरपोर्ट हेर्नुहोस्, आज राति सुत्दा एउटा, बिहान उठ्दा अर्कै संरचना बनाउने अवस्था छैन । हामीसँग सम्पत्ति र प्रविधिको अभाव छ । हामी भएको संरचनालाई सुन्दर र व्यवस्थित बनाउन लागिपरेका छौं ।

म मन्त्री भएर आउँदा र अघिको एयरपोर्टको अवस्था तुलना गर्न सकिन्छ । अहिलेको एयरपोर्टमा धेरै सुधारका काम भएका छन् । शौचालयमा राष्ट्रिय धुन बज्छ, चराचुरुङगीको आवाज आउँछ । महिला शौचालयमा स्यानिटरी प्याड राखिएको छ । अहिले एयरपोर्ट २४ सैं घण्टा तीन सिफ्टमा सरसफाई हुन्छ । सामान चोरी हुने क्रम हिजोको भन्दा धेरै कन्ट्रोल गरेका छौं ।

यात्रुमैत्री पर्यटन बनाउने भनेर हेल्थ डेस्क राख्दै छौं । टिसर्टमै ‘म सेवा गर्छु’ भनेर हिँड्ने स्वयंसेवक राख्दै छौं । चाइनिज भाषामा लेखिएका बोर्डहरु राख्दै छौं । लिफ्ट यात्रुमैत्री भएन भन्ने गुनासो आएपछि बन्द गरेर नयाँ बनाएर १० जना एकैपटक चढ्ने संरचना बनाउँदै छौं ।

तपाईले भनेका यस्ता नीतिगत व्यवस्था यसअघिका मन्त्रीहरुले यसरी नै व्यक्त गर्नुहुन्थ्यो । अब अरु पर्यटन मन्त्रीको भन्दा सुदन किरातीको कार्यकालमा के फरक अनुभुति गर्न पाइने छ ?

सामान्य रुपमा मान्छेले अनुभूति गरिसकेका छन् । पर्यटन र संस्कृतिसँग सम्बन्धित धेरै सरोकारवाला व्यक्ति आएर भन्नुहुन्छ– पर्यटनमा केही न केही सुधार आएका छन् ।

हामीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ठुलो कुरा गरेर होइन, सानो कामको थालनी गरेर संस्कृतिको क्षेत्रमा नयाँ नीतिगत व्यवस्था गर्दै छौं । पर्यटनबाटै परिवर्तन भन्नेजस्ता नाराको व्यवस्था गरेर अघि बढ्दै छौं ।

तपाईलाई पर्यटन व्यवसायीहरुको अवस्था कति नाजुक छ भन्ने थाहा छ कि छैन ?

व्यवसायीहरु ऋणको पासोमा छन् । मैले भनेको छु । जहाँजको ककपिटमा बसेर गन्तव्यमा लैजाने पाइलटमात्रै होइन, अप्ठ्यारोमा समेत सँगसँगै बसेर सबैको भूमिकासहित नदीमा र्‍याफ्टिङ गर्ने र्‍याफ्टिङकर्ता हुँ । तपाईहरुको दुःखमा अगाडि, तपाईको सुखमा पछाडि सँगै हुनेछु ।

sudan kirati 3

यो इमोस्नल कुरा भयो । पर्यटन व्यवसायीलाई राहत चाहिएको छ । बैंकको ब्याजदर घटाइ दिनुपर्ने छ, त्यो कहिले गर्नुहुन्छ ?

बैंकको ब्याज घटाउन सरकारले कुरा गरिराखेको छ । प्रधानमन्त्रीज्यूले पनि भनिरहनु भएको छ । बैंकको ऋण मिनाह अलि ठुलो कुरा भयो । ऋणको ब्याजदर कसरी घटाउने भन्ने विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले छलफल गरिराख्नु भएको छ ।

पर्यटन मन्त्रीसँग जोडिने नेपाल वायु सेवा निगम हो । नेपाली आकाश असुरक्षित छ भन्ने युरोपियन युनियन र आइकाओले कालो सूचीबाट हटाएको छैन । यसमा तपाईको के भूमिका हुन्छ ?

वायु सेवा निगमको अवस्था हेरेर मेरोमात्रै होइन, सारा देशभक्त नेपालीको आँखाबाट आशु आउँछ । वायु सेवा निगम इतिहासको संकटकालीन अवस्थामा छ । साँच्चै भन्ने हो भने वायु सेवा निगम भेन्टिलेटरमा छ । यसलाई उपचार गरेर डिस्चार्ज गर्नुपर्ने छ । यसको सुधार गर्ने क्रममा अन्तिममा पुनर्संरचनासम्म जानुपर्ने हुन सक्छ । यही संरचनागत अवस्थाबाट सुधार भए राम्रो भयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत ‘राष्ट्रिय ध्वजावाहक हाम्रो घर, सूर्य चन्द्र संसारभर’भन्ने नारा दिएर राखेको छु । अहिलेको संरचनाबाट सुधार नभएमा पुनर्संरचना हुन्छ । देश र जनताको हितमा हुन्छ भने जस्तोसुकै जोखिम उठाउन तयार छु ।

वायु सेवा निगमका सवालमा सरकारको ५१ प्रतिशत सेयर राखेर कम्पनीकरण गर्ने हो कि भन्ने छ । अहिले भएको संरचनामा सुधार गरेर जाने हो कि भन्ने छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय छुट्टाछुट्टै विभाग बनाएर जाने हो कि भन्ने छ , यी विभिन्न अप्सन राखेर छलफल भइरहेका छन् ।

तपाई आफैँले वायु सेवा निगम भेन्टिलेटरमा छ भन्नुभयो । भेन्टिलेटरमा चढिसकेको बिरामी फर्किने सम्भावना धेरै कम हुन्छ । के अब वायु सेवा निगमको उपचार गर्न सम्भव छ ?

हामी सम्पूर्ण रुपमा प्रयास गर्छौं । मैले भन्ने यत्ति हो । अहिलेको दुनियाँमा नेपाल वायु सेवा निगमको ‘इ–टिकेटिङ’सम्म थिएन । मैले एक महिनाभित्र ‘इ–टिकेटिङ’ व्यवस्था लागु गरेको होइन र ? गरेपछि सम्भव नहुने के छ ? मलाई विश्वास छ, साँच्चै गौरव गर्ने ध्वजावाहक जहाज बनाउने छौं । त्यो मेरो संकल्प हो ।

यसरी सुधार गर्ने आत्मविश्वास कहाँबाट आयो ?

मेरो इमानदारिताबाट आयो । जब छातीभित्र इमानदारिता हुँदैन, त्यस्तो व्यक्तिले केही गर्न सक्दैन । इमानदारिता नभएको मान्छेसँग केही हुँदैन । यस्तै अर्को, जब मान्छेमा नैतिक बल हुँदैन, त्यसले केही गर्न सक्दैन । त्यसैले मसँग इमानदारिता छ । मलाई केही चाहिएको छैन । मलाई खाली परिणाम चाहिएको छ । म परिणाममात्रै माग्छु, पैसा माग्दिनँ । त्यो मेरो बल हो ।

पद बहाल गर्नेबेला नातावाद, कृपावाद सुन्न पनि सक्दिनँ भनेर बोल्नु भएको थियो । नातावाद, कृपावाद विरोधी भए पनि जातीवादको पक्षमा हुनुहुँदो रहेछ नि ?

मलाई कसरी प्रमाणित गर्नुहुन्छ ? मैले पहिलादेखि भन्दै आएको छु । जात, क्षेत्र र लिङ्गका आधारमा विभेद गर्दिनँ । मैले अब गर्ने भनेको सहकार्य काममा मात्रै हो । मेरो परिवारबाट कसैले सोर्स फोर्स गरेर आउँछ भने त्यो काम हुँदैन ।

तपाईले जहाँसम्म जातीवादको कुरा उठाउनुभयो । त्यसलाई खारेज गर्छु । तपाईले उठाएको प्रज्ञा प्रतिष्ठानको कुरा हुन सक्छ । आजभन्दा चार कार्यकाल अघिको इतिहास पल्टाएर हेर्नुहोला । कुनचाहिँ राई जाती छ त्यहाँ ? अहिले नियुक्ति लिएका राई जातीमा कोे को अयोग्य छन् ? त्यो देखाए गल्ती स्वीकार गर्छु । कुन व्यक्ति अयोग्य छ ? कोसँग तुलना गर्दा सानो देखियो ? हिजो खाईपाई आएको मान्छेको आत्मा जलेको छ । मैले साँच्चै भन्ने हो भने प्रज्ञाको पुनर्संरचना गरेको छु । संघीय गणतन्त्रको सिद्धान्तमा रहेर रुपान्तरण गरेको छु ।

सरकार बनेको एक सय दिनलाई हेर्दा मन्त्रिपरिषद्ले समेत पूर्णता पाएको छैन । अर्थतन्त्रको सूचकाङ्क हेर्दा नकारात्मक अवस्थामा छन् । सरकारको गति हेर्ने हो भने जनता निराश हुने अवस्था छ । तपाईजस्तो पीडाबोध गर्न सक्ने मन्त्रीको तर्फबाट के भन्न चाहनुहुन्छ ?

जनता निराश हुनुपर्छ भन्ने लाग्दैन । हामीले मतदानबाट प्राप्त जनादेशलाई फर्केर हेर्नुपर्ने हुन्छ । सबै मत र प्रवृत्तिहरुलाई मिलाएर लानुपर्ने बाध्यताको जनादेश छ । यस्तो खालको जनादेशलाई नेतृत्व गर्नु एसियाकै नेतृत्व गर्नु सरह हो । सबै दललाई मिलाउनुपर्ने अवस्था छ । सबै विचार र आस्थाहरुलाई सम्मान गरेर लग्नुपर्ने छ । सबै राजनीतिक दलको विचार र आस्थालाई मिलाएर यहाँसम्म लग्नु नै सबैभन्दा ठुलो सफलता हो ।

sudan kirati 1

सरकार बनाउनु र टिकाउनु पनि उपलब्धि हो भन्न खोज्नु भएको हो ?

यो सजिलो थिएन । के यो संसद विघटन गरेर चुनावमा जाने त ?

तपाईमा केही गरौं भन्ने जुन खालको हुटहुटी छ । जुन गतिमा सरकार हिँड्दै छ, के तपाईको हुटहुटी र सरकारको गति मिलेको जस्तो लाग्छ ?

राजनीतिक दृष्टिकोणले यति चुनौतीपूर्ण थियो, त्यो चुनौतीपूर्ण अवस्थालाई सरकारले यहाँसम्म ल्याउन सफल भएको छ । त्यो नेतृत्वको सफलता मान्नुपर्छ । के यस बीचमा काम भएको छैन ? पक्कै पनि धेरै काम भएका छन् । यति धेरै शक्ति र प्रवृत्तिलाई मिलाउन समय खर्च गर्दागर्दै पनि विश्वासको मत दुई पटक लिनुपर्ने भयो ।

सरकारले एकीकृत कार्ययोजना ल्याएको छ । राहदानी बनाउन र राष्ट्रिय परिचपत्र बनाउन लाइन हटेको छ । अनलाइनबाट श्रम स्वीकृत हुने व्यवस्था गरिएको छ । अर्थतन्त्रका सूचकहरुमा सुधार आएका छन् । अनावश्यक र फजुल खर्चको बजेट कटौती गरिएको छ । मिटरब्याजी पीडितको समस्या नीतिगत रुपमा हल भएका छन् । त्यो कार्यान्वयनमा गएपछि व्यवहारमा देखिने छ । सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधित ऐन संसदमा पुगेको छ । वर्षौंसम्म बन्द अवस्थामा रहेका चिनियाँ नाका खुला गरिएको छ । हरेक राजदूतावासमा हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ । सरकारले गरेका कामहरु गनेरै हेर्दा पनि थुप्रै छन् ।

बिरामीलाई इमर्जेन्सीमा राखिएको छ । उसका लागि औषधि उपचार गर्नुपर्नेमा बिरामीलाई ‘पख, हामी अस्पताल भवन बनाउँदै छौं, त्यसपछि उपचार गरौंला’ भनिरहनु भएको छ । के त्यो बेलासम्म बिरामी रहन्छ ?

सबै चाहना आजै पूरा हुने होइन । आज सुत्दा मरुभूमि डाँडा भोलिपल्ट उठ्दा हरियो वन होस् भनेर हुँदैन । हामी पनि त्यस्तो क्रान्तिकारी निर्णय गर्न चाहन्छौं । हामीले जसरी राजनीतिक नेतृत्व गरिराखेका छौं, जस्तो हाम्रो राजनीतिक पृष्ठभूमि छ, संविधानले निर्देशित गरेका कानुन छन् । त्यसमा टेकेर काम गर्ने हो । हामीले थुप्रै काम गर्न चाहँदा चाहँदै यो ऐन, कानुन, नियमावलीले काम गर्न दिएको छैन । हामीले संविधान फेर्‍यौं । कानुनहरु सबै पुराना छन् ।

मैले एउटा फाइल तीन दिन हस्ताक्षर गर्न रोकेर राखेँ । त्यो फाइलमा कसैले अन्नपूर्ण हिमाल चढेको रहेछ । हिमाल चढेपछि आरोहणकर्ताले १२ सेकेण्ड पियानो बजाएछ । त्यसपछि उसलाई मुद्दा लागेछ । मुद्दा आरोहणकर्तालाई मात्रै लागेन । भारी बोक्ने भरिया, आरोहणकर्ताको गाइड र संस्थालाई समेत लाग्यो । सबैलाई ५० औं हजारको जरिवाना लागेको फाइल आयो । मैले त्यो फाइल दराजमा लगेर थन्क्याइ देऊ, म कसैलाई कारवाही गर्दिन भन्दिएँ । मैले त्यो फाइल तीन दिनसम्म थन्क्याएँ । त्यसपछि सबै सम्बन्धित व्यक्ति आए । यो फाइलमा जसरी पनि हस्ताक्षर गर्नुपर्‍यो भन्न थाल्नुभयो । तपाईले हस्ताक्षर नगरे हामीले प्रमाणपत्र पाउँदैनौं, प्रमाणपत्र दिन समेत पाउँदैनौं । संस्थाले वैधानिकता समेत प्राप्त नगर्ने भयो भन्न थाल्नुभयो । त्यपछि हस्ताक्षर गरेँ ।

२०३५ सालको ऐन, मभन्दा जेठो ऐन लिएर आजको नेपाली पर्यटन उत्थान हुन सक्दैन । यस्तो खालको पुरानो ऐन हामीले बोकेर हिँडेका छौं । अब संविधान बमोजिम ऐन समेत परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।

पुराना ऐन, कानुन बाधक भएकाले काम गर्न सकिएन भन्ने निष्कर्ष हो ?

काम गर्न सकिएन भन्ने होइन । हामीलाई काम गर्न अप्ठ्यारो छ । अप्ठ्यारोका बीचमा काम गर्ने प्रयास जारी छ ।

अहिले नेपाल राष्ट्र बैंक र अरु बैंकका बीच समन्वय छैन । काठमाडौं महानगरका मेयरले सिङ्गो संघीय सरकारलाई चुनौती दिएर सिंहदरबारको फोहोर उठाउँदिनँ भनेको अवस्था छ । अहिले समन्वयको हालत यस्तो छ । सरकार कति अराजक ढंगले गएको छ भन्ने प्रमाण होइन यो ?

विपीले भन्नुभएको थियो, प्रजातन्त्र आएपछि एक पटक समाजमा अराजकताले ठाउँ पाउने छ । अहिले अराजकताले ठाउँ पाएको छ । अब विधिको शासनमा यस्तो हुनु हुँदैन ।

अराजकतालाई रोक्ने ठाउँमा तपाई आफैँ पनि हुनुहुन्छ नि ?

अहिलेसम्म जे जे भयो, अब यस्तो अराजकता हुनुहुँदैन । हामी राष्ट्रिय एकता र सहमति गरेर जानुपर्ने छ । हामीसँग दुई तिहाइ बहुमत हुन्थ्यो भने वा सामान्य बहुमत मात्रै भएको भए गाडिको गति अलि छिटो हुने थियो । तपाईले भन्नुभए जस्तै समन्वय भएको छैन । स्थानीय तहको सरकार आफ्नै ढंगले अघि बढेको छ । संघीय सरकार आफ्नै ढंगले चल्दै छ । प्रदेश सरकार आफ्नै तरिकाले चल्दै छ । सरकारहरु विधिको शासनमा चलेका छैनन् । जसले जसलाई जे भन्दा पनि हुने भयो । सरकारमा बसेर विद्रोही जस्तो हुने भयो । संविधान, ऐन, कानुन बमोजिम चुनाव लडेर निर्वाचित भएर आउने अनि विद्रोहीको जस्तो कुरा गर्ने भयो । यो मिलेन । हामीले समाजलाई कस्तो बाटो दिन खोजेका छौं ? हामी जनप्रतिनिधिहरु अराजक ढंगले प्रस्तुत हुँदा जनमतको अपमान भएको त छैन ? अब हामी उच्छृङ्खल खालको समाजको नेतृत्व गर्ने कि हामी शालिनताको नेतृत्व गर्ने हो ? हामीभित्र यो प्रश्न जबर्जस्त रुपमा उठिराखेको छ ।

339929609_1670629733386367_1878618595692021211_n

तपाईले त्रिभुवन विमानस्थलमा केही सुधारका संकेत देखिएको भन्नुभयो । के–के सुधारका संकेत देखा परेका छन् ?

पर्यटन क्षेत्रमा सुधारको सुवात भइसक्यो । पर्यटन क्षेत्रको गुणात्मक सुधार भन्दिनँ । पर्यटन क्षेत्रमा सुधारको सुरुवात भएको पक्कै हो । पछिल्लो एक महिनामा एक लाख पर्यटक आइसकेका छन् । कोरोनापछि अँध्यारोमा थियौं, अब बाहिर निस्किँदै छौँ । सुधारको संकेत आइरहेको छ । हामी सुधार गरेरै छाड्छौं । पर्यटन क्षेत्रमा हामीले नयाँ डिपार्चर गर्नुपर्ने छ । त्यो नेपाली मनको डिपार्चर गर्नुपर्ने छ । विदेशी कुनै फोटोकपी होइन । नेपाली विशेषता सहितको पर्यटन क्षेत्र भनेका छौं । त्यसमा हामीले उडान भर्नु पर्नेछ ।

यस्तै वायु सेवा निगमको क्षेत्रमा पुनर्संरचना गर्नुपर्ने छ । निगमको पुनर्संरचना गर्न नसक्ने के छ ? नागरिक उड्डयनको क्षेत्रमा सुरक्षालाई शून्यतामा झार्नु छ । पशुपतिमा देखिएको अध्यात्मभित्र आध्यात्मको मृत्यु भइरहेको छ । त्यसलाई पुनर्जीवित गर्नुपर्ने छ । लुम्बिनीजस्तो क्षेत्रमा पुनर्जीवित गर्नुछ । सगरमाथा लगायत सम्पूर्ण सम्पदाको पुनर्जीवित गर्नुपर्ने छ । हाम्रो यति धेरै मानव सम्पदा छन् । नेपालको पर्यटन क्षेत्रलाई ‘रि–ब्राण्डिङ’ गरेर लाख लिनु पर्नेछ ।

यी सबै काम गर्न के प्रचण्ड नेतृत्वको सरकारले सहयोग गर्छ ?

मलाई सौभाग्य जस्तो लाग्छ । यस्तो अप्ठ्यारो परिस्थितिमा समेत सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यू हुनुहुन्छ । उहाँको सोच र शैलीका कारण मलाई काम गर्न एकदमै सजिलो भएको छ । उहाँको मलाई साथ र समर्थन दिनु भएको छ । उहाँको सोच र शैलीको सपोर्टमा म यो मन्त्रालयबाट साँच्चिकै परिणाम देखाउन सक्छु भन्ने आँट र विश्वास छ ।

तपाईको प्रदेशको नाम कोशी नामकरण भयो । त्यस विषयलाई लिएर विरोध भइरहेको छ । तपाईको केही प्रतिक्रिया छ ?

कोशी प्रदेशको सवालमा सार्वभौम अधिकार त्यो प्रदेशसभामा छ । त्यसमा हामी होइनौँ । आन्दोलनको जुन म्यान्डेट थियो, त्यसको विपरीत निर्वाचित जनप्रतिनिधि गए । उहाँहरुले नागरिकसँग भोट माग्दा पहिचानका आधारमा प्रदेशको नामकरण गर्छौँ भन्नुभयो । अहिले आएर उहाँहरुले धोका दिनुभयो । यो कोशी प्रदेशमाथि होइन, त्यहाँको इतिहासमाथि धोका दिनुभयो । त्यस धोकाको त्यहाँका जनप्रतिनिधिहरुले इतिहासभर जवाफ दिनुपर्ने छ ।

ढुंगा, माटोलाई अधिकार चाहिएको होइन । ढुंगा, माटोलाई स्वाभिमान चाहिएको होइन । स्वाभिमान त्यहाँका जनतालाई चाहिएको हो । त्यहाँको इतिहास, सभ्यता र संस्कृतिलाई चाहिएको हो । प्रदेश नम्बर एकका जनताले जसलाई भोट हाले, उहाँहरुले धोका दिनुभयो । उहाँहरुले नागरिक होइन, इतिहासलाई धोका दिनुभयो भन्ने छ ।

संक्रमणकालीन न्याय टुंगो लगाउन सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक संसदमा पेस भएको छ । एमाले, राप्रपा लगायतका दलले विरोध गरिरहेका छन् । तपाईहरुले ऐन संशोधन गरेर दोषीलाई उन्मुक्ति दिन लागेको हो ?

हामीले उन्मुक्ति दिने कुरा होइन । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कुरा छ । त्यही कुरा एमाले सरकारमा हुँदा नमिलेको हो । झगडाको बिउ कायमै राख्ने देखियो । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन नदिने प्रवृत्ति हावी छ ।

त्यही भएर ती सबै स्टेक होल्डरहरु एक ठाउँमा आउनुपर्छ भनेर सरकार बनाउन समीकरण भएको हो । फास्ट ट्रयाकमा गएर छिटोभन्दा छिटो शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्छ । देशलाई समृद्धि र विकास निर्माणको गतिमा बढाउनुपर्छ भन्ने हुटहुटी हो । तर, कतै न कतै इतिहासमा पुरिसकेको तत्वलाई फर्काउने ग्य्राण्ड डिजाइन अन्तर्गत ती शक्तिहरुको आवाज ऐनका विरुद्ध छन् । हामी छिटोभन्दा छिटो शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्नेमा लागिपरेका छौं ।

उहाँहरुको आरोप गम्भीर मानव अधिकार उल्लंघनका घटनामा संलग्न भएकालाई उन्मुक्ति दिने वा जोगाउने देखिएकाले पीडितले न्याय पाउँदैनन् भन्ने छ नि ?

त्यही भएर संक्रमणकालीन न्याय भनिएको हो । पीडितलाई क्षतिपूर्ति र राहत दिने भनिएको छ । संसारभरको द्वन्द्व र युद्धहरु कसरी निरुपण भए ? यी सबै मुद्दा निरुपण गर्ने हो । त्यही भएर सत्य निरुपण भनिएको हो ।

सत्य निरुपण होइन, सत्य ढाकछोप भयो भन्ने छ नि ?

द्वन्द्वलाई कसरी समाधान गर्ने भन्ने विषयमा ज्ञान नभएर होइन । देशमा द्वन्द्व बढाइराख्ने तत्वहरुको प्रवृत्ति अघिल्तिर देखा परेका छन् ।

यस विषयमा विपक्षी दलले मानेन भने पेलेर जानुहुन्छ ?

सकेसम्म सहमति गरेर जान्छौं । यदि सबै दलका बीच सहमति भएन भने बग्ने पानीले आफै बाटो बनाउँछ ।

तपाईका एकदमै घनिष्ट मित्र शेरधन राईसंग चुनाव लड्नुभयो । पछिल्लो समय उहाँको प्रतिक्रिया सुन्नु भएको छ ?

मलाई सुन्ने फुर्दद छैन कृपया ।

तपाई गफ बढी गर्नुहुन्छ, काम गर्नु हुन्न भन्ने छ क्या ?

उहाँ (शेरधन राई)ले काम पनि गर्नु भएन, गफ पनि गर्नु भएन । भिन्नता नै त्यही छ । काम गरे सोध्छन्, जसरी तपाईले सोध्नुभयो र मैले जवाफ दिएँ । यसलाई उहाँहरु गफ भन्नुहुन्छ । प्रदेश १ को नामकरण यस्तो भएर जानु शेरधन राई नै मुख्य जिम्मेवार हुन् । आफ्नो हातमा दुई तिहाइ बहुमत हुँदा पनि ढाँटेर, इतिहासलाई छलेर जनतालाई धोका दिनुभयो ।

तपाईले अलि चटक गर्नुहुन्छ भन्ने छ त ?

त्यो कला हुनेले गर्छ नि ! क्षमता हुनेले गर्छ । प्रधानमन्त्रीज्यूले ‘शोकेस’मा राख्ने डमी बनाएको होइन मलाई । काम गरोस्, आमजनतालाई काम चाहिएको छ भनेर काम गरिराखेको छु ।

सुदन किराती यस्तो नेता हो, शेरधन राई डोजर लिएर बाटो खन्न जाने, डोजरमाथि सुदन किराती बसेर यता र उता घुमाएर आफ्नोतिर घुमाउने क्षमता राख्नुहुन्छ भन्ने छ, हो ?

यो उनीहरुको कथा हो । मलाई यो थाहा छैन । उनीहरुले बनाएको कथा हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया