आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको नेतृत्व गर्ने अवसर पाउनु अवसर र चुनौती दुवै हो : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, ०१ वैशाख २०८०, २१ : ०९
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्ने अवसर पाउनु चुनौती र अवसर दुवै भएको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनौतीपूर्ण अवस्थामा समेत राम्रो भइरहेको बताए । अहिलेको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भए पनि सुधारको अवस्थामा जान थालेको प्रचण्डले बताए ।

‘अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । यो अर्थतन्त्र तत्काल अप्ठ्यारोमा परेको होइन । गत केही वर्षदेखि नीतिगत, ऐन,नियम, कानुनहरू विधि प्रक्रियाका कारणले भनेको जस्तो राम्रो हुन सकेको थिएन । त्यसपछि भूकम्पले पुर्‍याएको क्षति, कोरना महामारी र रुस युद्धले अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । यी विविध कारणले नेपालको अर्थतन्त्रले निक्कै ठुलो अप्ठ्यारो स्थितिको सामना गर्नुपरेको छ’ प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘हामीले सरकार निर्माण भए लगत्तै के गर्न सकिन्छ भनेर पहल लियौँ ।  सार्वजनिक सहकारी र निजीको समन्वयलाई कसरी अगाडि बढाउने भन्ने विषयलाई अगाडि बढाइयो । निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा कसरी परिचालन गर्ने भन्ने जोड दिएर गयौँ । त्यसबाट राम्रो प्रभाव परेको छ ।’

सरकार निर्माण भएको तीन महिनामा केही सकारात्मक सङ्केतहरू देखा परेको प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको बताए ।

‘विदेशमा भएका नेपालीले पठाएको रेमिटेन्सबाट विदेशी मुद्रा सञ्चितिमा रामो सुधार भएको छ ।  विदेशी मुद्रा सञ्चिती ११ महिनालाई पुग्ने छ । यो आफैंमा अर्थतन्त्र सुधारको सङ्केत हो’ उनले भने,  ‘राजस्व सङ्कलन कमजोर भइसकेको थियो । राज्यका निकायलाई राम्रोसँग परिचालन भएपछि राजस्व सुधार भएको छ । यसले राम्रो गर्छौँ भन्ने सङ्केत मिलेको छ ।’

कार्यक्रममा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले अब नियमित रुपमा प्रवासी नेपाली र प्रधानमन्त्रीबीच अन्तरक्रिया गराउन पहल गरिने बताए । सो क्रममा प्रवासी नेपालीको समस्याको सुनुवाइ हुने उनको भनाइ थियो ।  उनले विदेशमा रहेका नेपालीहरुलाई सरकारको राम्रा कामको प्रचार गर्न आग्रह गर्दै शान्ति प्रक्रियाविरुद्ध भइरहेका गतिविधिको भण्डाफोर गरिनुपर्ने बताए । 

कार्यक्रममा प्रवास समन्वय समितिका नेताहरुका साथै प्रवासमा रहेका पार्टीसम्बन्ध नेताहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप