बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री जम्कट्टेलले ‘हनिमुन पिरियड’ का उपलब्धि सार्वजनिक गर्दै

सोमबार, ०४ वैशाख २०८०, १४ : ३८
सोमबार, ०४ वैशाख २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो कार्यकालको सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । गत पुस २५ गते सरकारको बागडोर सम्हालेका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो  सदस्य जम्कट्टेलले सय दिनमा गरेका कामहरूको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

उनले आगामी वैशाख ६ गते आफ्नो कार्यकालको हनिमुन पिरियडमा भएका कामहरूको उपलब्धि सार्वजनिक गर्ने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको अवस्थामा मुख्यमन्त्री जम्कट्टेल भने आफ्नो कार्यकालको सय दिने उपलब्धि सार्वजनिक गर्नतर्फ सक्रिय भएका छन् ।

गत पुस २५ गते संसद्को दोस्रो कार्यकालमा प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा उनले नियुक्ति लिएका थिए । तत्कालीन समयमा नेकपा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेतासमेत रहेका जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका थिए । उनले पुस २६ गते मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए भने सोही दिन एमाले र राप्रपाका एक/एक जना सांसदलाई मन्त्रिपरिषदमा नियुक्त गरेका थिए ।

बदलिँदो राजनीतिक परिस्थितिका कारण सरकार जोगाउन मुख्यमन्त्री नियुक्त भएको ७ औं दिन (माघ ३ गते) मा नै संसदबाट विश्वासको मत लिएका उनलाई सरकार विस्तार एवं पूर्णता दिन १५ दिन लाग्यो । उनले माघ ३ गते बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदा मुख्यमन्त्री जम्कट्टेलको पक्षमा कुल ११० सांसदमध्ये १०५ जना सांसदहरुले हस्ताक्षर गरेका थिए ।

भागबण्डा र शक्ति सन्तुलनका विषयमा तत्कालीन सत्ता गठबन्धनका दलहरुबीच कुरा नमिल्दा विश्वासको मत लिएको ७ औं दिनमा उनले मन्त्रिपरिषद् विस्तार गरेका थिए । माघ ११ गते प्रदेश सरकारको मन्त्रिपरिषदमा माओवादीका ३, एमालेका ४, राप्रपाका ३ मन्त्री नियुक्त गरेका थिए । सरकारलाई पूर्णता दिएपनि सत्ता गठबन्धनका दलहरुबीच भने मनोमुटाब कायमै रहेको थियो । मन्त्रालयको भागबण्डा र पावर सेयरिङमा दलहरुको असन्तुष्टि रहँदा सरकारले चुस्त गतिमा काम गर्न सकेको छैन ।

केन्द्रीय राजनीतिको छायाँ प्रदेशहरुमा पर्दा सरकारलाई पूर्णता दिएको एक महिनामा नै तत्कालीन सत्ता गठबन्धन भत्कियो । राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको नयाँ गठबन्धन निर्माण भएपछि  प्रदेशमा सरकार पनि त्यसको सिकार हुन पुग्यो । जसका कारण प्रदेश सरकारबाट फागुन १३ गते मुख्यमन्त्री जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिँदै राप्रपा अलग भयो । राप्रपा अलग भएपछि मुख्यमन्त्रीले संवैधानिक व्यवस्था अनुसार चैत १० गते 

पुनः संसदबाट विश्वासको मत लिएका थिए । एमालेका ४ जना मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका सांसदहरुले मुख्यमन्त्री जम्कट्टेलको पक्षमा विश्वासको मत दिएका थिए । विश्वासको मत पाएर सरकार जोगाएपनि उनी नेतृत्वको सरकारले अझै पनि पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनका दलहरुबीच सरकारको नेतृत्वको विषयमै  विवाद चर्किदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । विवादका बीच गत २६ गते सरकारमा कांग्रेसका २ मन्त्री नियुक्त गरेपनि प्रदेशका ११ वटा मन्त्रालयमध्ये ५ मन्त्रालय मन्त्री विहीन छन् । प्रदेशमा माओवादी केन्द्रका ४ र कांग्रेसका २ मन्त्री छन् भने अन्य मन्त्रालयहरू महिना दिनदेखि रिक्त छन् ।

यस्ता छन् १०० दिनको उपलब्धिहरू

मुख्यमन्त्री जम्कट्टेलले सत्तारोहण गरेका वैशाख ५ गते मंगलबार १०० दिन पुरा हुँदैछ । राजनीतिक अस्थिरताको सिकार बनेको प्रदेश सरकारले सो अवधिमा खासै काम गर्न सकेको छैन ।

भागबण्डा र सरकारको नेतृत्वको लडाइँमा केन्द्रित हुँदा प्रदेश सरकारले सोचे झैँ काम गर्न सकेको छैन । मन्त्रालयमा मन्त्री दैनिक कामकाज नै प्रभावित बनेको छ । मन्त्रालय मन्त्रीविहीन बन्दा अत्यावश्यक निर्णयका लागि मुख्यमन्त्रीको बाटो कुरेर बस्नुपर्ने बाध्यता रहेको छ ।

मन्त्री नहुँदा प्रदेशसभाबाट स्वीकृत बजेटमा भएका योजनाहरू कार्यान्वयन र नीतिगत निर्णयहरू गर्न मन्त्री नहुँदा समस्या देखिएको छ । मन्त्रालयहरू लामो समयसम्म मन्त्रीविहीन हुँदा विकास बजेट खर्चसमेत प्रवाहित बनेको छ । सरकारको वार्षिक कार्यक्रम अनुसार बजेटमा समावेश भएका कतिपय योजना कार्यान्वयनका लागि कार्यविधि, निर्देशिका बनाउन पनि मन्त्री नहुँदा समस्या हुँदै आएको छ ।

विविध समस्या र चुनौतीका बीच मुख्यमन्त्री जम्कट्टेलले आफ्नो कार्यकालमा भएका कामको फेरिस्ता बनाएका छन् । उनले आफ्नो कार्यकालको १०० दिनमा भएको प्रमुख कामको रूपमा मन्त्रालयको संख्या घटाउनुलाई लिएका छन् । प्रदेशमा यसअघि काम रहेको १४ वटा मन्त्रालयलाई घटाएर उनले ११ कायम गरेका छन् । प्रशासनिक खर्च घटाउनका लागि उनले मन्त्रालयलाई ११ वटा कायम गर्ने निर्णय गरेका थिए । उनको सो निर्णयले प्रदेश सरकारको एक मन्त्रालय सञ्चालनको लागि हुँदै आएको वार्षिक करोडौं खर्चमा कमी आएको छ ।

यता उनले सो अवधिमा भएको अर्को मुख्य कामको रूपमा हेटौंडा काठमाडौँ छोटो दुरीको मार्गको कामको तीव्रता पाएको विषयलाई लिएका छन् । उनको सक्रियतामा हेटौंडा–काठमाडौँ छोटो दुरी अन्तर्गत भैँसे–भीमफेदी सडक खण्डको स्तरोन्नतीको काम सञ्चालनमा आएको छ भने भीमफेदी गाउँपालिकाको केही वडाहरुमा भएको मुआब्जा विवाद केही हदसम्म समाधान भएको र हाल सो सडक बन्द गरेर स्तरोन्नती कार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ ।

त्यसैगरी प्रादेशिक संरचना निर्माणको योजनामा भएको प्रगतिलाई पनि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । मुख्यमन्त्री जम्कट्टेलको सक्रियतामा संघीय सरकारबाट प्रादेशिक संरचना निर्माणका लागि जग्गा प्राप्तिको काम अघि बढेको र हाल जग्गाको भोगाधिकार प्राप्तिका लागि वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप