शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
फास्ट ट्र्याकको प्रगति : ७ खण्डको निर्माण जारी, ४ खण्डको ठेक्का नै भएन
राष्ट्रिय गौरवको आयोजना

फास्ट ट्र्याकको प्रगति : ७ खण्डको निर्माण जारी, ४ खण्डको ठेक्का नै भएन

प्रधानमन्त्री भन्छन्-द्रुतमार्गको काम द्रुतगतिमा भइरहेको पायौँ !
मङ्गलबार, ०५ वैशाख २०८०

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को निरीक्षण गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासहितको टोलीले द्रुतमार्गको निरीक्षण गरेको हो ।

सेनाको हेलिकप्टरबाट महादेवटार ओर्लेको उच्च सरकारी टोली मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार र बकैया गाउँपालिकाकाको लेनडाँडा तथा राजदमार गरी तीन स्थानबाट निरीक्षण गरेर काठमाडौँ फर्किएको हो ।

अनुगमन टोलीमा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी, विभिन्न मन्त्रालयका सचिव र प्रधानसेनापति प्रभुराम शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’, प्रदेशका मुख्य सचिव मुकुन्द निरौला लगायतका सरकारी अधिकारीहरू समेत सहभागी थिए ।

फास्ट ट्र्याकको निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौँ–निजगढ द्रुतमार्गको निर्माण कार्य द्रुतगतिले अगाडि बढिरहेको आफूले पाएको बताए ।

fast track (2)

‘हामी निरीक्षणमा आएका छौँ । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस ग–यौँ । टनेलभित्र गएर पनि  हे¥यौँ । ठुलो टनेलहरू बन्दै छन् । हिजो मात्र काठमाडौँमा ब्रिफिङ भएको थियो । कोभिडका कारण दुईढाइ वर्ष काम खेर गएको छ’, प्रधानमन्त्रीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘त्यसलाई मेन्टेन गर्न केही समस्या भएकै हो । अब द्रुतमार्ग अब द्रुतगतिमै निर्माण हुने प्रक्रियामा रहेको हामीले महसुस गरेका छौँ ।’

द्रुतमार्गसँग सम्बन्धित कतिपय निर्णयहरू मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले द्रुतमार्गका निम्ति जरुरी पर्ने ऐलानी जग्गा सँग सम्बन्धित र अन्य कुरामा निर्णय गरेर सरकारले सहजीकरण गर्ने प्रतिबद्धता समेत बताए ।

fast track (3)

‘फास्ट ट्र्याक निर्माणको जिम्मा कसलाई दिने भन्ने देशमा ठुलो बहस थियो । त्यतिबेला पनि म प्रधानमन्त्रीको जिम्मेवारीमा थिएँ । मैले राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानको कदर गर्दै नेपाली सेनालाई दिने निर्णय गरेको थिएँ । यसको शिलान्यास पनि निजगढमा मैले नै गरेको थिएँ,’ प्रधानमन्त्रीले भने ।

फास्ट ट्र्याकको निर्माण प्रक्रियाले तीव्रता लिँदै गर्दा यसको अवलोकन गर्व महसुस भएको बताएका प्रधानमन्त्री प्रचण्डले भने, ‘फास्ट ट्र्याकले तीव्र गतिमा निर्माण हुँदै गर्दा हामी सबै उपप्रधान तथा रक्षा मन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री लगायतको सिङ्गो टिमलाई गर्वको महसुस भएको छ । काम द्रुत गतिमा भइरहेको  देख्यौँ । नेपाली सेना र निर्माण कम्पनीलाई धन्यवाद भन्न चाहन्छौँ,’ उनले भने । 

fast track (5)

कसरी भइरहेको छ फास्ट ट्र्याकको काम ?

काठमाडौँबाट तराई मधेस जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत ४ वटा खण्डको निर्माण कार्यका लागि ठेक्का आह्वान हुन सकेको छैन । कुल सडकलाई ११ वटा खण्डमा विभाजन गरी नेपाली सेनाले निर्माण कार्य अघि बढाए पनि हाल ७ वटा खण्डको काम भइरहेको छ । अन्य ४ खण्डको अझै ठेक्का आह्वान हुन सकेको छैन ।

fast track (6)

फास्ट ट्र्याकको कुल ११ वटा खण्डमध्ये हाल मकवानपुर र बारा तर्फका ७ वटाको काम भइरहेको छ भने ललितपुर तर्फको ४ वटा खण्डको ठेक्का लगाउन बाँकी छ । हाल मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारबाट दक्षिण तर्फ बाराको निजगढसम्म १–७ नम्बर खण्डको ठेक्का लागेर काम भइरहेको छ भने ललितपुर र काठमाडौँ (उत्तर तर्फ)को ८–११ नम्बर खण्डको ठेक्का आह्वान हुन सकेको छैन ।

बाराको निजगढबाट सुरु भई मकवानपुर हुँदै ललितपुरबाट काठमाडौँ जोड्ने उक्त सडकको कुल लम्बाई ७२.५ किलोमिटर छ । काठमाडौँबाट तराई मधेस जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा २०७४ सालमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै सरकारले नेपाली सेनालाई दिएको थियो । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा बाराको निजगढबाट फास्ट ट्र्याकको शिलान्यास गरेका थिए । तराईलाई संघीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएका कारण यस आयोजनालाई गौरवको आयोजनाको पहिलो प्राथमिकतामा राखिएको छ ।

fast track (7)

फास्ट ट्र्याक बाराबाट मकवानपुर हुँदै ललितपुर जिल्ला भएर राजधानीसंग जोडिन्छ । फास्ट ट्र्याकको अधिकांश भूभाग मकवानपुरमा पर्दछ । फास्ट ट्र्याकको कुल भूभागमध्ये बारामा ७.६, मकवानपुरका ५३, ललितपुरमा ७.९ र काठमाडौँमा ४ किलोमिटर पर्दछ ।

‘आजको सुरुवात, भोलिको आधारः काठमाडौँ–तराई मधेस द्रुतमार्ग’ भन्ने नाराका साथ सो राष्ट्रिय गौरवका आयोजनालाई सेनाले निर्माणको जिम्मा लिएर काम गरिरहेको छ ।

७२.५ किलोमिटर लम्बाइको काठमाडौँ–तराई मधेस द्रुतमार्ग नेपाली सेनाले २०७४ साउन २७ मा निर्माणको जिम्मा पाएको थियो ।

fast track (1)

करिब ६ वर्ष अघि सुरु गरिएको उक्त आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा सुरु भएको उक्त आयोजना २०८१ सालको पुससम्ममा पुरा गर्ने लक्ष्य लिइएको छ । ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि उक्त सडक कहिले पुरा हुने भन्ने यकिन छैन ।

हालसम्म फास्ट ट्र्याक निर्माणको प्रगति न्यून छ । अहिलेसम्म फास्ट ट्र्याकको भौतिक प्रगति २२.४४ प्रतिशत मात्रै रहेको छ । हाल मकवानपुर बारा तर्फको ४६ किलोमिटरको ठेक्का लागेर काम चलिरहेको छ । ४६ किलोमिटर मध्ये ३७ किलोमिटरमा काम चलिरहेको र १३ किलोमिटर बाटोको डिजाइनको काम भइरहेको एमएस कुमार रोशन शिचुवान जेबीका प्रोजेक्ट म्यानेजर देवेन्द्र ढुङ्गानाले जानकारी दिए ।

fast track (4)

सो खण्ड अन्तर्गत ३ वटा सुरुङ मार्गहरू पर्दछन् । जसमध्ये सबै सुरुङहरूको काम धमाधम भइरहेको छ । निजगढमा पूर्व पश्चिम राजमार्गबाट सुरु हुने उक्त सडक अन्तर्गत मकवानपुरको महादेवटार, धेद्रे र लेनडाँडामा गरी ३ वटा सुरुङ निर्माण हुने छन् । ती सुरुङ करिब ६.४१ किलोमिटर लम्बाइको रहने छ ।

उक्त सडक खण्डमा दुई तर्फ सवारी सञ्चालन गर्न गरी २८ वटा साना ठुला पुलहरु निर्माण गरिदैछ । अधिकांश पुलहरूको बेसमेन्टको काम सम्पन्न भई स्पान ढलानको काम सुरु भइसकेको छ । आगामी २ वर्षसम्मको समय अवधिमा उक्त ठेक्काहरूको सम्पन्न गरी सक्नु पर्ने हुन्छ । अधिकांश पुलको लम्बाइ १०.५९ किलोमिटर रहने छ । उक्त सडक अन्तर्गत पर्ने सम्पूर्ण पुल र सुरुङको लम्बाई १७.५ किलोमिटर रहेको छ भने सडक खण्डको भाग ५५ं.५ किलोमिटर रहेको छ ।

fast track (9)

यता महादेवटारबाट उत्तरतर्फको ललितपुरको खोकना क्षेत्रको भने ४ वटा खण्डको भने ठेक्का लाग्न सकेको छैन । सो खण्डहरुको ठेक्का आह्वानको लागि तयारी भइरहेको जनाइएको छ । २७ किलोमिटर लम्बाइको उक्त खण्डको ८, ९, १० र ११ नम्बर खण्डको निर्माणका लागि चालु आर्थिक वर्षको अन्त्यसम्म ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ ।

fast track (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया