बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
प्रदेश

मुख्यमन्त्री जम्कट्टेलको ‘हनीमुन पिरियड’: केही नीतिगत निर्णय र प्रक्रियागत काम

मङ्गलबार, ०५ वैशाख २०८०, २२ : २७
मङ्गलबार, ०५ वैशाख २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारको १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उनले ‘हनीमुन पिरियड’को रुपमा मानिने १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।

गत पुस २५ गते सत्तारोहण गरेका मुख्यमन्त्री जम्कट्टेलले हालसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । राजनीतिक अस्थिरताका कारण बागमती प्रदेश सरकारका ५ वटा मन्त्रालय मन्त्रीविहीन अवस्थामा छन् भने ६ मन्त्रालयमा मात्र मन्त्री छन् ।

मुख्यमन्त्री नियुक्त भएको १०० दिनमा उनले २ पटक संसदबाट विश्वासको मत लिइसकेका छन् भने सत्ता साझेदारी समेत फेरबदल भएको छ । तत्कालीन समयमा एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा माओवादी केन्द्रका तर्फबाट सरकारको नेतृत्व गरेका जम्कट्टेललाई हाल कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

सरकारको जिम्मेवारी सम्हालेको १६ दिनमा सरकारलाई पूर्णता दिएका उनले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलिएपछि जटिलता भोग्दै आएका छन् । गत फागुन १० मा सत्ता समीकरण बदलिएसँगै राप्रपाले १३ गते सरकार छाड्यो भने एमालेले गत चैत १० गते सरकार छाड्यो ।

मुख्यमन्त्री जम्कट्टेलले चैत २६ गते कांग्रेसका २ मन्त्रीलाई सरकारमा सहभागी गराएका छन् । हाल सरकारमा माओवादीका ४ र कांग्रेसका २ गरी ६ मन्त्री छन् भने प्रदेशका ११ मन्त्रालयमध्ये ५ मन्त्रालय मन्त्रीविहीन छन् । रिक्त रहेका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हाल्दै आएका छन् ।

यो अवधिमा मुख्यमन्त्री जम्कट्टेल केही नीतिगत निर्णय गर्न सफल भएका छन् । उनले आफ्नो कार्यकालको १०० दिने उपलब्धिको रुपमा केही नीतिगत निर्णय र प्रक्रियागत कामलाई समावेश गरेका छन् । उनले सार्वजनिक गरेको १०० दिने उपलब्धिको ८० बुँदे प्रतिवेदनमा केही नीतिगत निर्णय बाहेक अन्य सबै प्रक्रियागत काम समावेश गरिएको छ ।

उनले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ कायम गर्नु, प्रदेश सरकारको सार्वजनिक खर्चमा २० देखि ३० प्रतिशत कटौतीको निर्णयलाई प्रमुख उपलब्धिका रुपमा लिएका छन् । प्रदेश सरकारको सेवा जिल्लाहरुबाट एकीकृत रुपमा प्रवाह गर्न कार्यदल निर्माण, हेटौंडा–भीमफेदी–काठमाडौँ छोटो दुरीको मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिन प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयलाई उनले उपलब्धिको रुपमा लिएका छन् ।

प्रदेश निजामती सेवा ऐन २०७९ र स्थानीय तहको सेवा गठन तथा सञ्चालन सम्बन्धी ऐन २०७९ जारी गर्नु, विपद् व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन प्रदेश गोदाम घर व्यवस्थापन कार्यविधि २०७९ जारी गर्नु, प्रदेशबाट जारी भएका कानुनहरुलाई संग्रहित गरी बागमती प्रदेश ऐन तथा नियम संग्रह २०७९ प्रकाशन, सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका संशोधन गरी ग्रेडिङ सिस्टम लागू गर्नु, प्रादेशिक संरचना निर्माणका लागि हेटौंडा–१७ मा जग्गा भोगाधिकारका प्रक्रियाका लागि इआइए गर्ने लगायतलाई उनले उपलब्धिको रुपमा समावेश गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले प्रक्रियागत रुपमा सञ्चालन हुने कामलाई पनि आफ्नो कार्यकाल उपलब्धिको रुपमा लिएका छन् । उनले नेवारी र तामाङ भाषालाई कामकाजको भाषा बनाउन कार्यदल गठन गरी अध्ययन गर्ने, सिँचाइका लागि ३६.८२ किलोमिटर क्यान लाईनिङ निर्माण, प्रदेशभित्रका नदी नियन्त्रणका लागि १६.०३ किलोमिटर तटबन्ध, ५१ वटा सडक पुल र ३ वटा भवन बहुवर्षीय योजनाका लागि छनौट, २५ किलोमिटर कालोपत्रे, २० किलोमिटर ढलान, १७ किलोमिटर ग्राभेल सडक निर्माणलाई उपलब्धिका रुपमा चित्रण गरेका छन् ।

यसैगरी ९ वटा कल्भर्ट, एक झोलुङ्गे पुल, २० वटा भवन, ५० वटा जनता आवास इकाई भवन निर्माण, प्रदेशका १३ जिल्लाका १० लाख १८ हजार ३२१ भेँडा बाख्रालाई पीपीआर खोप प्रदान गर्नु पनि उपलब्धि रहेको उनले उल्लेख गरेका छन् ।

६० विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम विस्तारका लागि नर्स छनौट, प्रदेशका ७ अस्पताललाई क वर्गको एम्बुलेन्स वितरण, कशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन, भक्तपुर र मकवानपुरका बाल सुधार गृहमा आश्रित २४९ जना बालकका लागि ३ दिने तालिम, ५१ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुका लागि १० दिने तालिम, प्रदेश युवा परिषदबाट १३ जिल्लाका २६ जनालाई महिला आत्मरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम, चेपाङ र माझी समुदायले मनाउने पर्वमा सार्वजनिक बिदा, प्रदेश सरकार विरुद्ध परेका १२ मुद्दाको फैसलाजस्ता कामलाई मुख्यमन्त्री जम्कट्टेलले उपलब्धिका रुपमा समावेश गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले सरकारको क्षमता अनुसार काम गर्ने इच्छा हुँदा हुँदै पनि राजनीतिक परिवेशका कारण गर्न नसकिएको गुनासो समेत गरे । उनले केन्द्रदेखि प्रदेशसम्म रहेको सरकारको अंकगणितमा सबैलाई मिलाउनु पर्ने भएकाले केही कामहरु गर्न समस्या भएको उनले बताए ।

वर्तमान अवस्थाको बदलिँदो राजनीतिक परिवेशमा सरकारले १०० दिनमा सन्तोषजनक काम गरेको उनको भनाइ थियो ।

यी हुन् मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारका १०० दिनका उपलब्धि:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप