बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

लुम्बिनी प्रदेशमा डढेलोको प्रकोप : कुन जिल्लामा कस्तो छ अवस्था ?

बुधबार, ०६ वैशाख २०८०, १० : ३२
बुधबार, ०६ वैशाख २०८०

बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ९ जिल्लामा डढेलो लागेको छ । एक साता यता दैनिक रूपमा प्रदेशका विभिन्न जिल्लामा डढेलो वृृद्धि भएको देखिन्छ । वन डढेलोको पहिचान तथा अनुगमन प्रणालीका अनुसार लुम्बिनी प्रदेशको ९४ स्थानमा डढेलो लागेको छ । लुम्बिनी प्रदेशको रोल्पा, रुकुम र पश्चिम नवलपरासी बाहेक अन्य सबै जिल्लामा डढेलो लागेको जनाइएको छ ।

दाङ जिल्लामा २ स्थानमा डढेलो लागेको छ भने कपिलवस्तुमा १८, अर्घाखाँचीमा १४, बर्दिया १२ बाँकेमा ६, गुल्मीमा ४, प्युठानमा ६, पाल्पामा ४ र रुपन्देही जिल्लाको १ स्थानमा डढेलो देखिएको छ । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सुरेशचन्द्र अर्यालले  गत वर्ष चैत महिनाको तुलनामा अहिले १७ प्रतिशत डढेलो वृद्धि भएको अनुमान गरिएको जानकारी दिए । लुम्बिनी प्रदेशको सबैजसो चुरे क्षेत्रमा अहिले डढेलो देखिएको छ ।

नेपालमा वन विनाश र क्षयीकरण हुनुमा डढेलो प्रमुख कारण मानिन्छ । हरेक वर्ष हुँदै आएको डढेलोको प्रकोपबाट ठुलो मात्रामा प्राकृतिक तथा मानवीय क्षति हुने गरेको छ । डढेलो लाग्नुको प्रमुख कारण नै मानवीय त्रुटि भएको विज्ञहरू बताउँछन् । 

लुम्बिनी प्रदेशका १२ जिल्ला रहेको १४ वटा वन सब डिभिजनहरूमा अधिकृत नेतृत्वमा नियन्त्रण समूह निर्माण गरिएको छ । उक्त समूहले जिल्लामा चैतदेखि जेठसम्म हुने डढेलो नियन्त्रणका लागि काम गरेको हुन्छ ।

डडेलो नियन्त्रण गर्न प्रहरीदेखि सामुदायिक वन सदस्यसँग समेत समन्वय गरी दैनिक काम गरिरहेको लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका वन अधिकृत केशव खड्काले बताए ।

वन मन्त्रालयले यो वर्ष डढेलो नियन्त्रणका लागि ५२ लाख रुपैयाँ बजेट  छुट्याएको जानकारी दिँदै उनले उक्त रकम पेट्रोल, पानी तथा नियन्त्रणकर्मीका लागि खाजा–खानाबापत खर्च गर्ने बताए ।

रणनीति कार्यान्वयन नगर्दा प्रत्येक वर्ष समस्या

एक हप्तादेखि पाल्पाको नुवाकोट लगायतका क्षेत्रमा डढेलो लागेको छ । डढेलोले वन, जैविक विविधता, वन्यजन्तुको बासस्थान र समग्र जैविक प्रणालीमै असर पार्ने पाल्पाका वन संरक्षणकर्ता तथा पूर्व जनप्रतिनिधि राजेश श्रेष्ठ बताउँछन् ।

वन डढेलो नियन्त्रण रणनीति २०६७ पूर्ण रूपमा कान्र्यान्वयन नहुँदा यस्तो समस्या आएको विज्ञहरू बताउँछन् । प्रदेश वन अधिकृत केशव खड्काले यसबारे प्रदेशले छुट्टै नीति नबनाएकाले त्यसैलाई आधार मानेर अगाडि बढेको बताए ।

कोरोनाका कारण लकडाउन हुँदा लुम्बिनी प्रदेशका धेरै जिल्लामा डढेलो शून्य रहेको उल्लेख गर्दै उनले मानवीय कारणले नै डडेलो लाग्ने गरेको बताए । त्यसैले सचेतना जगाउनेदेखि अग्निरेखा कोर्नेसम्मका विभिन्न काम गर्दै आएको उनको भनाइ छ ।

पछिल्ला दिनमा देखिएको वायु प्रदूषणले जनस्वास्थ्यमा समेत असर देखिन थालेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा नन्दु पाठकले बताए । उनले वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा अत्यधिक सङ्क्रमण हुनसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप