शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पदभार ग्रहण गर्दै खड्काले भने– ऐनहरू प्राथमिकता तोकेर अगाडि बढ्छ

बुधबार, ०६ वैशाख २०८०, २२ : ००
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । उपप्रधान, रक्षा एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्काले सङ्घीय ऐनहरूको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने बताएका छन् । 

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा कानुनमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खड्काले ऐनहरू प्राथमिकता तोकेर अगाडि बढाउने बताएका हुन् । 

उनले कतिपय सङ्घीय ऐनहरू संसदमा पुगेर रोकिएका र कतिपय निर्माणकै क्रममा रहेका उल्लेख गर्दै ती सबै ऐनहरूको प्राथमिकता तोकेर काम अगाडि बढाइने बताए ।  कानुनलाई पारित गर्ने सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित ढङ्गले गर्ने बताए । मन्त्री खड्काले ऐनहरू निर्माण गरेर जनताका अधिकारहरूको कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यान रहेको उल्लेख गरे । 

‘संविधानले जुन व्यवस्था गरेको छ, त्यो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि ऐनहरूको निर्माण अनिवार्य छ । ऐनहरू निर्माण गरेर त्यहीमार्फत जनताका अधिकारहरूको कार्यान्वयन हुने भएकाले त्यसतर्फ हाम्रो गम्भीर ध्यान जानेछ’, उनले भने, ‘व्यवस्थित तरिकाले प्राथमिकताहरू तोक्दै निरन्तर रूपमा यी कामहरूलाई अगाडि बढाउने र हामीले पाएको जिम्मेवारीलाई सम्पन्न गराउने कुरामा हामीले आजदेखि नै छलफल प्रारम्भ गरिसकेका छौँ ।’

उनले प्रधानन्यायाधीश नियुक्तिको सम्बन्धमा थप अनौपचारिक छलफलको आवश्यकता परेकाले आज बसेको संवैधानिक परिषद्को बैठकले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकेको जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप