आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

१२ वटा आंगिक क्याम्पसमा त्रिविले स्ववियु निर्वाचन नगर्ने

शुक्रबार, ०८ वैशाख २०८०, १४ : ००
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउन नसकिने जनाएको छ ।  त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने जानकारी दिएका हुन् । उपत्यकाका ४ सहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुने सकेको छैन ।

त्यस्तै उपत्यकाबाहिरका ८ वटा आंगिक क्याम्पसमा समेत निर्वाचन हुन सकेको छैन । उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा निर्वाचन हुन सकेको छैन । ‘सधैँ निर्वाचनकै पछि लाग्न सकिँदैन । परीक्षा चलिरहेका छन् । पढाई गर्नुपर्‍यो । सधैँ निर्वाचनको पछि लागेर बस्न सकिने अवस्था हुँदैन । बाँकी कलेजमा निर्वाचन गराउन सकिँदैन’ अधिकारीले भने ।

चैत ५ गते तोकिएको निर्वाचनमा विद्यार्थी सङ्गठनहरूकै अवरोधका कतिपय क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन सकेको थिएन । तीमध्ये केही क्याम्पसमा विभिन्न मितिमा निर्वाचन भएको थियो । चार विद्यार्थी सङ्गठनहरूले नै चैत ३० गते बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउने सहमति गरेका थिए । तर, विद्यार्थी सङ्गठनहरूको आ आफ्नै अडानका कारण उक्त मितिमा समेत निर्वाचन हुन सकेन ।

त्रिविको नियमअनुसार तोकिएको मितिमा निर्वाचन नभएका क्याम्पसहरूमा एक महिनाभित्रमा निर्वाचन गराउनुपर्ने हुन्छ । तर, वैशाख ८ गतेसम्म पनि बाँकी क्याम्पसहरूमा निर्वाचन हुन सकेको छैन । त्रिविले अब स्ववियु निर्वाचनको च्याप्टर क्लोज भइसकेको जनाएको छ । तर, विद्यार्थी सङ्गठनहरू भने वैशाख १० गतेको उपनिर्वाचनपछि स्ववियु निर्वाचन गराउनुपर्ने मनसायमा छन् । त्रिविले भने आफूले अब निर्वाचनका विषयमा केही पनि नगर्ने प्रस्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप