शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एलिजाबेथ : विलासी जीवनको शौखिन, अचम्मको अन्तिम इच्छा, आँठौ श्रीमान् मजदुर थिए, छोडिन् १० करोड

शनिबार, ०९ वैशाख २०८०, १३ : ०३
शनिबार, ०९ वैशाख २०८०

एलिजाबेथ टेलर सन् १९५० को दशकमा हलिउडकी सबैभन्दा चर्चित अभिनेत्री थिइन् । दुई वटा ओस्कार अवार्ड जितेकी एलिजाबेथ अभिनयका लागि मात्र नभई आफ्नो व्यक्तिगत जीवन र विलासिताका कारण पनि चर्चामा थिइन् । उनी हलिउडकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री थिइन् । उनी जहिले पनि सेटमा ढिलो पुग्ने गर्थिन र यसरी नै निर्देशकलाई जिस्क्याउने उनको शौक थियो ।

एलिजाबेथसँग संसारको सबैभन्दा ठुलो निजी गहना सङ्ग्रह थियो, जसको मूल्य लगभग १९०० करोड रुपैयाँ थियो । उनको आफ्नै परफ्युम ब्रान्ड पनि थियो, जसबाट उनले लगभग १३ हजार करोड कमाइन् । एलिजाबेथले ८ पटक विवाह गरिन्, र ७ पटक सम्बन्ध विच्छेद गरिन् ।

उनको जीवनको अन्तिम समयमा उनलाई धेरै रोगले घेरेको थियो । मृत्यु नजिकै थियो, तर जीवन आफ्नै सर्तमा बाँचिन् । सेटमा लेट लतिफ थिइन्, त्यसैले बदनाम थिइन् । यसै कारण आफ्नो अन्तिम इच्छामा मृत्युको संस्कार पनि १५ मिनेट ढिला गरियोस् भनेर व्यक्त गरिन् । उनी आफ्नो अन्तिम संस्कारमा पनि ढिलै पुग्न चाहन्थिन् । 

आज असाध्यै सुन्दर र विश्वकै सर्वाधिक धनी अभिनेत्री एलिजाबेथ टेलरको कहानीबारे पढौँ । 

आमाले भनेपछि फिल्ममा आएकी थिइन् एलिजाबेथ

एलिजाबेथ टेलरको जन्म २७ फेब्रुअरी १९३२ मा लन्डनमा भएको थियो । उनका आमाबाबुको लन्डनमा आर्ट ग्यालरी थियो । जब युरोपमा दोस्रो विश्वयुद्ध सुरु भयो, परिवार अमेरिका गयो । अमेरिकी राजदूत जोसेफ पी केनेडीको आदेशमा उनीहरू क्यालिफोर्निया पुगे, जहाँ उनीहरूले दोस्रो आर्ट ग्यालरी सुरु गरे ।

एलिजाबेथ बाल्यकालदेखि नै धेरै सुन्दर थिइन्, उनको बैजनी नीलो आँखाले मानिसहरूको ध्यान प्रायः खिच्ने गर्दथ्यो । छोरीको सुन्दरताका कारण आमालाई उनले अडिसन दिनुपर्छ भन्ने लाग्थ्यो । आमाको कुरा उनले मानिन् र अडिसन दिइन् । अडिसन दिए लगत्तै उनले एक साथ सन् १९४१ युनिभर्सल पिक्चर्स र मेट्रो गोल्डविन मेयरको लागि अनुबन्ध प्राप्त गरिन् ।

एलिजाबेथलाई स्कोलियोसिसको समस्या थियो जसका कारण उनकाे मेरुदण्डको हड्डी एकातिर झुकेको थियाे । 

बुवाभन्दा बढी कमाउन थालेपछि नराम्रो व्यवहार 

९ वर्षको उमेरदेखि नै एलिजाबेथले आफ्नो बुबाभन्दा बढी कमाउन थालिन् । यस्तोमा बुवाले  उनलाई नराम्रो व्यवहार गर्दथे । यो कुरा एलिजाबेथले सन् १९९९ मा बारबरा वाल्टरलाई दिएको अन्तर्वार्तामा खुलासा गरेकी थिइन् ।

elizabeth1सुन्दर एलिजाबेथको लुकमा पनि सन्तुष्ट थिएन एमजीएम स्टुडियो

एलिजाबेथले फिल्म 'देयर इज वन बर्न इन एभरी सेकेन्ड' (१९४२) लगायतका फिल्महरूमा सानो भूमिका पाएकी थिइन्, तर केही समयपछि उनले फिल्महरू पाउन छोडिन् । एमजीएम स्टुडियोले उनलाई स्टुडियो स्टारका रूपमा प्रवर्द्धन गर्न चाहन्थ्याे र उनीसँग ७ वर्षको सम्झौता गर्‌याे ।

यसका लागि, स्टुडियोले एलिजाबेथले दाँतको पङ्क्ति मिलाउन ब्रेसेस लगाउनु पर्ने, आफ्नो कपाल कलर गर्नुपर्ने र आँखी भौँको आकार परिवर्तन गर्नुपर्ने सर्त राख्यो । एलिजाबेथ र उनका आमाबाबुले यसलाई अस्वीकार गरे । अनुहारमा कुनै परिवर्तन बिना, सन् १९४४ मा, एलिजाबेथ फिल्म नेशनल भेलभेट मा देखिइन्, जसमा उनलाई धेरैले मन पराए । 

बटरफिल्ड ८ (१९६१) र हु इज अफ्रेड अफ भर्जिनिया वुल्फ (१९६७) का लागि एलिजाबेथले उत्कृष्ट नायिकाको ओस्कर अवार्ड पाएकी छिन् । 

एमजीएम स्टुडियोको स्टार बनेर खोसियो बालापन

यो फिल्मले १२ वर्षीया एलिजाबेथलाई स्टार बनायो तर उनको बालापन खोसियो । एक अन्तर्वार्तामा उनले भनेकी थिइन् –  एमजीएमको स्टार बनेपछि मबाट मेरो बालापन खोसियो । स्टुडियोले मेरो जीवनको हरेक पललाई नियन्त्रण गर्‍यो ।

'स्कुल र स्टुडियो पछि, मेरो पूरै समय नाच्न वा गाउनमा बित्यो, ' उनले भनेकी थिइन् ।  सन् १९४८ मा, स्टुडियोले एलिजाबेथ र फुटबल च्याम्पियन ग्लेन डेभिसको लागि डेटिङको व्यवस्था पनि गराएको थियो ।

ElizabethTaylor

हलिउडका टाइकुनले श्रीमती बनेको बदलामा करोडौँकाे प्रस्ताव राखेका थिए

फिल्म टाइकुन हावर्ड ह्युजेस हलिउडका सबैभन्दा धनी निर्मातामध्ये एक थिए । उनले एलिजाबेथलाई यति मन पराए कि उनी कुनै पनि परिस्थितिमा उनीसँग विवाह गर्न चाहन्थे । एक पटक त हावर्डले उनका आमाबाबुलाई लाखौँ डलरको प्रस्ताव राखेर  एलिजाबेथसँग विवाह गराइदिन आग्रह गरेका थिए । तर एलिजाबेथ आफैले प्रस्ताव अस्वीकार गरिन् ।

धन, गहनाको सङ्ग्रह र परफ्युम ब्रान्ड 

एलिजाबेथ धनी भएका कारण चर्चित थिइन्, गहना र लुगामा खर्च गर्थिन्

एलिजाबेथ अनस्क्रिन र अफस्क्रिन फेसन आइकन थिइन् । उच्च प्रोफाइल भव्य जीवन बिताउने, एलिजाबेथ टेलर सधैँ चर्चामा रहिन् ।  उनले आफ्नो कमाइ सबै विलासी जीवनशैली, महँगो गहना, डिजाइनर कपडा, पेन्टिङ, याट, जेटमा खर्च गर्थिन् ।

एलिजाबेथले आफ्नो गहना संग्रहमा एउटा किताब ‘माई लभ अफेयस विद जुलरी’ (२००२) पनि सार्वजनिक गरेकी थिइन् । 

गहनाको सङ्ग्रहमा विश्वका हरेक बहुमूल्य हिरा 

एलिजाबेथको गहना सङ्ग्रहमा  ३३.१९ क्यारेटको क्रुप डायमन्ड, ६९.४२ क्यारेट टेलर बर्टन हिरा, ५० क्यारेट ला पेरेग्रिना पर्ल हिरा समावेश थियो । यी सबै हीरा उनलाई श्रीमान् रिचर्ड बर्टनले उपहार दिएका थिए । यसबाहेक एलिजाबेथसँग व्यक्तिगत गहनाको पनि ठुलो सङ्ग्रह थियो ।

elizabethआफ्नै परफ्युम ब्रान्ड सार्वजनिक गरिन्

एलिजाबेथ टेलर अत्तरलाई धेरै मन पराउँथिन् । उनीसँग विश्वका ठुला ब्रान्डहरूको सङ्ग्रह थियो । यही शौकले उनलाई आफ्नै परफ्युम ब्रान्ड सुरु गर्न प्रेरित गर्‍यो । उनले एलिजाबेथ आर्डेनसँग मिलेर प्यासन (१९८७) र व्हाइट डायमन्ड (१९९१) नामका दुई परफ्यूम लन्च गरिन् । 

दुवै परफ्युम सबैभन्दा बढी बिक्री हुनेमध्ये एक  थियो । बायोग्राफर सैम काश्नरका अनुसार, एलिजाबेथले उनको सम्पूर्ण अभिनय करियरभन्दा परफ्यूमबाट धेरै कमाएकी थिइन् । बेलायती अखबार द गार्डियनका अनुसार एलिजाबेथले अत्तरको व्यवसायबाट १ बिलियन डलर कमाएकी थिइन् ।

एलिजाबेथले सन् २००५ मा हाउसल अफ टेलर नामको गहना कम्पनीको सुरुवात गरेकी थिइन् । 

आठ विवाह, सम्बन्ध विच्छेद र परिवार

Elizabeth_Taylor_and_Conrad_Nikki_Hiltons_wedding_2पहिलो विवाह : हिल्टन होटेलका चेन मालिकसँग १८ वर्षको उमेरमा विवाह, ८ महिनामा सम्बन्ध विच्छेद

एलिजाबेथ  चाँडो विवाह गर्न चाहन्थिन् । १८ वर्षको उमेरमा उनले हिल्टन होटेल चेनका मालिक कोनराड हिल्टन जुनियरसँग विवाह गरिन् । मे ६, १९५० मा भएको यो विवाहमा एमजीएम स्टुडियोले पानी झैँ पैसा बगाएको थियो ।

विवाहको एक हप्ता पछि नै एलिजाबेथ आफ्नो निर्णयमाथि पछुताउन थालिन् । विवाह गरेको केही दिनभित्रै, कोनराड रक्सी खाएर एलिजाबेथसँग दुर्व्यवहार गर्न लागेका थिए । मानसिक उत्पीडनका कारण एलिजाबेथले विवाह गरेको ८ महिनापछि २९ जनवरी १९५१ मा सम्बन्ध विच्छेद गरिन् ।

Elizabeth_Taylorदोस्रो विवाह : एक वर्षपछि २० वर्ष जेठो अभिनेतासँग विवाह गरिन्

सम्बन्ध विच्छेदको एक वर्ष पछि, फेब्रुअरी २१, १९५२ मा, एलिजाबेथले अभिनेता मिचेल वाइल्डिङसँग पुनः विवाह गरिन् । मिचेल उनीभन्दा २० वर्ष जेठो थिए । यस विवाहबाट, दम्पतीका दुई सन्तान भए, मिशेल हावर्ड र क्रिस्टोफर एडवर्ड । श्रीमान् मिशेलको करियर ध्वस्त भएपछि  उनीहरूको वैवाहिक जीवनमा दरारको कारण यही बन्यो ।

Elizabeth_Taylor_and_Conrad_Nikki_Hiltons_weddingएक पटक एलिजाबेथ सुटिङको सिलसिलामा घरबाहिर जाँदा उनका श्रीमानले स्ट्रिपर्सलाई घरमा बोलाए । पत्रिकामा यो खबर प्रकाशित हुनासाथ एलिजाबेथले उनीसँग सम्बन्ध विच्छेद गरिन् ।

Mike_Todd_and_Elizabeth_Taylor_at_the_Cannes_Film_Festival_in_1957तेस्रो विवाह : गर्भवती अवस्थामा विवाह, एक वर्षपछि विमान दुर्घटनामा श्रीमानको मृत्यु

जब एलिजाबेथले तेस्रो पटक फिल्म निर्माता माइक टोडसँग विवाह गरिन्, उनी त्यतिबेला गर्भवती थिइन् । उनले सन् १९५७ मा छोरी लिसा फ्रान्सिसलाई जन्म दिइन् । माइक पब्लिसिटी स्टन्टका लागि परिचित थिए । सन् १९५७ मा, उनले आफ्नो जन्मदिनको पार्टीमा १८ हजार पाहुनालाई आमन्त्रित गरेका थिए । एलिजाबेथ माइकसँग पारिवारिक जीवनमा रमाइरहेकी थिइन् तर सन् १९५८ मा माइकको एक  विमान दुर्घटनामा निधन भयो । 

चौथो विवाह : स्क्यान्डलमा भयो ठुलो बदनामी

एलिजाबेथ आफ्नो पतिको मृत्युले टुटेकी थिइन् । उनको खराब समयमा गायक एडी फिशरले उनलाई साथ दिए । त्यसपछि यी दुई नजिक भए । एडी पहिले नै विवाहित थिए, त्यसैले उनीहरूको अफेयरको खबर स्क्यान्डलको रूपमा अगाडि आयो । एलिजाबेथलाई हाउस ब्रेकरको रूपमा ट्याग लगाइयो । तर यति हुँदा हुँदै पनि दुवैले १२ मे १९५९ मा गोप्य रूपमा विवाह गरे ।

पाँचौँ विवाह : सम्बन्ध विच्छेद भएको १० दिनपछि पाँचौँ विवाह

एलिजाबेथ पहिले नै विवाहित भए पनि सह कलाकार रिचर्ड बर्टनसँग सन् १९६२ ताका प्रेममा परिन् । उनीहरूलाई एउटा डुङ्गामा सँगै बसिरहेको अवस्थामा पापाराजीले देखे तब  उनीहरूको निकै बदनामी भयो । यही क्षण पापाराजी कल्चरका लागि टर्निङ पोइन्ट साबित भयो ।

सेलिब्रिटीको निजी जीवन सार्वजनिक हुन थाल्यो । उनीहरू हलिउडका सबैभन्दा चर्चित जोडी थिए । उनीहरूको सम्बन्धमाथि अभद्रता फैलाएको आरोप लाग्यो । यस्तै केही राजनेताले उनीहरूलाई देश निकाला गर्न मागसमेत गरे । यति नै बेला एलिजाबेथले एडीबाट सम्बन्ध विच्छेद पाइन् । सम्बन्ध विच्छेद गरेको १० दिनपछि नै सन् १९६४ मा एलिजाबेथले रिचर्डसँग पाँचौँ विवाह गरे । 

छैटौँ विवाह : सम्बन्ध विच्छेदको पछुतो हुँदा अर्को वर्ष पुनः गरिन् विवाह

विवाह पछि, एलिजाबेथले लिसा टोड र मारिया म्याक्वीनलाई धर्मपुत्र राखे । एलिजाबेथले १० वर्षपछि रिचर्डसँग सम्बन्ध विच्छेद गरिन् । यस सम्बन्ध विच्छेदमा उनलाई धेरै पछुतो भयो त्यसैले  एक वर्षपछि, सन् १९७५ मा, उनले रिचर्डसँग फेरि विवाह गरिन् । तर, दोस्रो विवाह एक वर्षमै टुट्यो ।

elizabeth_taylor_and_john_warner_3सातौँ विवाह : अमेरिकी सेक्रेटरी सँग विवाह,  डिप्रेसन, तौल बढेका कारण विवाह टुट्यो

सन् १९७६ मा एलिजाबेथले अमेरिकी विदेश मन्त्री जोन वार्नरसँग विवाह गरिन् । विवाहको केही महिनापछि, एलिजाबेथले फिल्ममा काम गर्न छोडिन् र आफ्नो पतिको पार्टीको प्रचार गर्न थालिन् । केही समयपछि उनलाई पनि यो विवाहमा पछुतो लाग्न थाल्यो ।

एलिजाबेथलाई राजनीतिज्ञको श्रीमती भन्ने पहिचान मन परिरहेको थिएन । त्यसैले उनी रक्सीको लतमा फसिन् । तौल बढेपछि र डिप्रेसनमा गएका कारण उनले सन् १९८१ मा यो विवाह पनि तोडिन् ।  

Elizabeth_Taylor_and_Larry_Fortenskyआठौँ विवाह : माइकल ज्याक्सनको घरमा मजदुरसँग गरिन् अन्तिम विवाह

एलिजाबेथ टेलरले धेरै अभिनेताहरूसँग सम्बन्ध र इन्गेजमेन्टपछि, सन् १९९१ मा, ६९ वर्षको उमेरमा, ८ औँ पटक, एक सामान्य मजदुर ल्यारीसँग विवाह गरिन् । यी दुईको विवाह माइकल ज्याक्सनको घरमा भएको थियो । यो समारोहको एउटा तस्बिर एक डलरमा बेचिएको थियो । यसलाई एड्स फाउन्डेसनका लागि रकम सङ्कलन गर्न प्रयोग गरियो । ५ वर्षपछि एलिजाबेथले ल्यारीसँग पनि सम्बन्ध विच्छेद गरिन् ।

elizabethरक्सीको लत, डिप्रेसन, रोग र मृत्यु

एलिजाबेथले भलै विलासी जीवन बिताइन् तर रोग र अस्पतालले उनको पिछा छोडेन । सन् १९४४ मा फिल्म नेशनल भेलभेटको सुटिङको समयमा उनको कम्मरको हड्डी भाँच्चिएको थियो । थुप्रै वर्षसम्म यो समस्याबारे कसैलाई थाहा भएन । तर पछि समस्या बल्झिँदै गयो । 

त्यसैले गर्दा उनको कम्मरमा असाध्यै पीडा हुने गर्दथ्यो । सन् १९५६ मा उनको स्पाइनल डिस्क निकालियो र दान गरिएको हड्डी राखियो । दुखाइका कारण उनले असाध्यै धेरै पेनकिलर र आवश्यकताभन्दा बढी रक्सी पिउन थालिन् ।

सन् १९६१ मा एलिजाबेथलाई गम्भीर खालको निमोनिया भयो जसका कारण उनको ज्यान झन्डै गुमेको थियो । 

सन् १९९० मा निमोनियाले सताउनु अघिसम्म एलिजाबेथ एक चेन स्मोकर थिइन् । त्यसपछि नै उनको स्वास्थ्य अवस्था ब्रिगन थाल्यो । त्यस यता उनलाई सार्वजनिक रूपमा कमै देख्न थालियो । उनका दुई हिप रिप्लेसमेन्ट शल्यक्रिया भए । सन् १९९७ मा उनको ब्रेन ट्युमरको शल्यक्रिया पनि भएको थियो । सन् २००२ मा उनको स्किन क्यान्सरको उपचार पनि भएको थियो । 

सन् २००४ मा उनलाई कन्जेस्टिभ हार्ट फेल्योरको समस्या भएको रिपोर्ट आयो । 

मृत्यु र अचम्मको अन्तिम इच्छा

सन् २०११ मा एलिजाबेथ ६ हप्तासम्म अस्पतालमा भर्ना भइन् । उपचारको क्रममा २३ मार्च सन् २०११ मा ७९ वर्षको उमेरमा उनको निधन भयो । मृत्यु भएको भोलिपल्ट उनको अन्तिम संस्कार गरियो । एलिजाबेथको इच्छा अनुसार उनको अन्तिम संस्कार १५ मिनेट ढिला गरियो । 

अन्तिम श्रीमानका लागि छोडिन् सम्पत्ति

मृत्यु अघि उनले अन्तिम फोन आफ्ना अन्तिम श्रीमान् तथा मजदुर ल्यारी फोर्टेन्स्कीलाई गरेकी थिइन् । फोन गरे लगत्तै उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो जहाँबाट उनी फर्केर आइनन् । त्यतिबेला यी दुईले सम्बन्ध विच्छेद गरेकाे करिब १५ वर्ष भइसकेकाे थियाे तर ल्यारीका लागि एलिजाबेथले ८ लाख डलर छोडेर गएकी थिइन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप