मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

धमाधम ढल्न थाले एमाले नेतृत्वको प्रदेश सरकार

सोमबार, ११ वैशाख २०८०, १५ : ५९
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनपछि दोस्रो ठुलो दल बनेको नेकपा एमालेले बनाएका चार प्रदेश सरकारमध्ये तीन वटा प्रदेश सरकार ढलेका छन् । सत्ता समीकरणमा आएको फेरबदलसँगै एमाले नेतृत्वमा बनेको केन्द्रदेखि प्रदेश सरकारहरू समेत धमाधम ढल्न पुगेका हुन् ।

एमालेको नेतृत्वमा गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कोसी  प्रदेश सरकार बनेका थिए । गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लीला गिरी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए भने कोशीमा हिक्मत कार्की थिए । तर सोमबारसम्म आइपुग्दा अधिकारी, गिरी र रावल नेतृत्वका तीन वटा प्रदेश सरकार ढलिसकेका छन् । चारमध्ये अव एमाले नेतृत्वमा कोसी प्रदेश सरकार मात्र बाँकी छ ।

आफू नेतृत्वको सरकार बनाएबाहेक एमालेले मधेस, बागमती र कर्णालीमा माओवादी तथा जसपालाई सरकार बनाउन सहयोग गर्दै आफू पनि सहभागी भएको थियो । यी प्रदेशमा सत्ता सहकार्यबाट समेत एमाले बाहिरिइसकेको छ ।

सुदूरपश्चिमबाट ढल्न सुरु भएको एमाले नेतृत्वका प्रदेश सरकार गण्डकी हुँदै लुम्बिनी पुगेको छ । सुदूरपश्चिममा एमाले नेतृत्वको रावल सरकार ढलेपछि कांग्रेस माओवादीले मिलेर कांग्रेसको नेता कमलबहादुर शाह नेतृत्वको सरकार बनिसकेको छ । यता गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने नयाँ सरकार गठन भैसकेका छैनन् । 

गण्डकी र लुम्बिनीमा पनि कांग्रेसले नै सरकार बनाउन चाहेको छ । लुम्बिनीमा कांग्रेस नेता डिल्ली चौधरीले सरकारको दाबी गर्दै प्रदेश प्रमुखलाई सांसदहरूको हस्ताक्षर बुझाइसकेका छन् । गण्डकीमा भने कांग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वका लागि आकांक्षा देखाएका छन् । तर प्रदेशका नेताहरू केन्द्रको निर्णय कुरेर बसेकाले कसको नेतृत्वमा सरकार बन्ने भन्ने निश्चित भैसकेको छैन ।

 ६० सदस्यीय प्रदेश सभा रहेको गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । जसमा कांग्रेसका कांग्रेस र माओवादीका २७ र ७ सांसद छन् । यो प्रदेशमा कांग्रेस र माओवादी मिल्दा सरकार बनाउन बहुमत पुग्छ । यस्तै लुम्बिनीमा प्रदेशमा ८७ सदस्यीय प्रदेश सभा रहेकोमा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ ।

 यो प्रदेशमा एमालेबाहेकका अन्य धेरै दलको साथ लिएर मात्रै कांग्रेस माओवादीले सरकार बनाउनुपर्ने हुन्छ । लुम्बिनी प्रदेशमा एमालेका २९ सांसद छन् भने कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जनमत ३, जसपा ३, लोसपा ३, जनमोर्चा र एकीकृत समाजवादी एकाएक र स्वतन्त्र २ सांसद रहेका छन् । 

यद्यपि सोमबार प्रदेश सभामा विश्वासको मत नपाएपछि लुम्बिनीमा पुन नेकपा एमालेले संविधानको धारा  १६८ को उपधारा २ अनुसार फेरि लीला गिरीकै नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ । एमालेले लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलसी चौधरीले अव धारा ३ अनुसार ठुलो दलको हैसियतमा फेरी मुख्यमन्त्री लीला गिरीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको रातोपाटीलाई बताए । 

उनले प्रदेश प्रमुखले धारा २ अनुसार प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै त्यसमा ठुलो दलको हैसियतमा एमालेले पुन एक महिना सरकार चलाउने बताए । 
यसैगरी कोशीको हकमा वर्तमान मुख्यमन्त्री हिक्कमत कार्कीले राप्रपाको सहयोगमा सरकार चलाइरहेका छन् । यो प्रदेशमा कांग्रेस र माओवादीसहितको गठबन्धनसँग स्पष्ट बहुमत नरहेकाले उनीहरुलाई कार्की नेतृत्वको सरकार ढाल्न सकस भइरहेको छ । उसो त माओवादी समेत वर्तमान सरकार ढाल्न खुलेर लागेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप